समाज प्रदेश १

झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?

झापाका किसानले किन बगाए सडकमा दूधको खोला ?

झापा । दूध बिक्न छाडेपछि झापा शरणामतीका सयौँ किसानले दूध सडकमा पोखेर विरोध जनाएका छन् । शनिबार नेपाल बहुद्देश्यीय सहकारी संस्थाको दूध संकलन तथा चिस्यान केन्द्रको अगाडि सडकमा सयौँ लिटर दूध पोखेर किसानले विरोध जनाएका हुन् ।

 

लाखौँ रुपैयाँ ऋण लिएर पशुपालन गरी दूध उत्पादन गर्न थालेका किसान दूध बिक्न छाडेपछि निराश बनेका छन् ।

 

नेपाल बहुद्देश्यीय सहकारी संस्था (एनएमसी) द्वारा सञ्चालित डेरी उद्योगले किसानले उत्पादन गरेको दूध खरिद गर्न छाडेको हो ।

 

दूध उत्पादन गर्न भन्दै गाई-भैँसी खरिदका लागि सहकारीले शरणामतीका किसानलाई ऋणसमेत उपलब्ध गराएको थियो । तर, अहिले सोही सहकारीद्वारा सञ्चालित डेरीले दूध खरिद गर्न छाडेपछि किसानले दूध सडकमा पोखेर विरोध जनाएका हुन् ।


किसानलाई लगानी डुब्ने चिन्ता
‘सहकारीले ऋण दिएर गाई किन्न भन्यो, गोठ बनाउन लगायो, घाँसको बिउ किन्न लगायो, हामीले एक-एक बिघा जमिनमा घाँस रोप्यौँ,’ स्थानीय किसान ओमप्रकाश अधिकारीले भने, ‘अहिले सहकारीले दूध लिन छाड्यो, हामी ठूलो समस्यामा प(यौँ ।’ अधिकारीले सातवटा गाई पालेका छन् । दैनिक २० लिटर दूध उत्पादन हुन्छ । तर, केही दिनयता दूध बिक्न छाडेपछि उनी चिन्तित छन् ।

 

बहुद्देश्यीय सहकारीले किसानलाई गतिलै सपना बाँडेर गाई पाल्न आग्रह गरेको थियो ।

 

उत्पादन भएजति सबै दूध खरिद गर्ने बाचा गरेको एनएमसी डेरी उद्योगले पछिल्ला केही दिनमा २५ प्रतिशत कटाएर दूध खरिद गर्न थालेको अर्का किसान मोहन भट्टराईले बताए ।


दूध खपत नहुँदा समस्या
एनएमसीले किसानबाट दूध खरिद गर्न थालेको दुई वर्ष भयो । तर, अहिले आएर दूध खरिदमा आनाकानी गरेपछि आफूहरूलाई घाटा लागेको किसान प्रकाश थापाले बताए ।

एनएमसीका शरणामती कार्यालय संयोजक धनपति रिजालले जेठ–असारमा दूधको उत्पादन बढी, बजारमा खपत कम भएकाले समस्या आएको बताए । नयाँ पत्रिकामा खबर छ ।

दूध किसान

विशेष