समाज

राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

राष्ट्रकवि घिमिरे अस्पतालबाट घरफिर्ता

काठमाडौँ  । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको छ ।  भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराएपछि पूर्णतया स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट फिर्ता गरिएको उनका छोरा इन्दीवरले जानकारी दिए । राष्ट्रकवि घिमिरे बिहीबार अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

 

“उहाँको सानो आन्द्राबाट भएको रक्तश्राव रोकिनुको साथै निमोनिया पनि पूर्णरुपमा निको भएको छ”–उनले भने, “चिकित्सकको सल्लाहमा पुनः एक हप्तापछि उहाँको स्वास्थ्य परीक्षण गर्ने तय भएकाले अहिले नेपाल नआई दिल्लीमा नै बस्नु भएको छ ।”

 

उनका अनुसार राष्ट्रकवि घिमिरे अहिले भारतस्थित नेपाली राजदूतावासमा बसेका छन् । मेदान्त अस्पतालबाट उपचार गराएर आएका राष्ट्रकवि घिमिरेको पुनः सानो आन्द्राबाट रक्तस्राव हुन थालेपछि पुनः गत जेठ २१ गते मेदान्त अस्पताल भर्ना गरिएको थियो । यसअघि उनलाई जेठ ९ देखि १९ गतेसम्म मेदान्त अस्पतालमै उपचार गराइएको थियो । 

 

चिकित्सक डा रणवीर सुदको टोलीले उनको उपचार गरेको थियो । राष्ट्रकवि घिमिरे गत वैशाख २८ गतेदेखि सानो आन्द्राबाट निरन्तर रक्तस्राव भएपछि अस्वस्थ भएका थिए । रासस 

माधवप्रसाद घिमिरे मेदान्त अस्पताल

विशेष