खेल

मध्यरातमा ब्राजिल बराबरीमा, साविक विजेता जर्मनीले ‘पानी’ भन्न पाएन 

मध्यरातमा ब्राजिल बराबरीमा, साविक विजेता जर्मनीले ‘पानी’ भन्न पाएन 

काठमाडौं । फिफा विश्वकप २०१८ को आइतबार राति सम्पन्न खेलमा साविक विजेता जर्मनीलाई मेक्सिकोले स्तब्त बनाएको छ । फुटबलको अर्को महाशक्ति राष्ट्र ब्राजिल स्विट्जरल्याण्ड बराबरीमा रोकिएको छ । 

 ब्राजिल सन् १९७८ पछि पहिलो पटक विश्वकपको पहिलो खेलमा जित हात पार्न असफल भएको छ । उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोकेको हो ।

 

खेलमा ब्राजिलले सुरुवाति अग्रता पनि लिएको थियो । २० औं मिनेटमा फिलिप काउटिन्होले गोल गरेका थिए ।


प्रशिक्षक टिटेको नेतृत्वमा रहेको ब्राजिलले नेइमारसँगै गाब्रियल जेसिस र विनियनलाई अगाडि खेलाएको थियो । तर, ५० औं मिनेटमा स्टीभन जुवेरले बराबरी गोल गरे ।

यो बराबरीले ब्राजिलको लगातार ९ खेलको विजयी यात्रामा पनि पूर्णविराम लगाएको छ । समूह ईमा रहेको दुबै टोलीले अब सर्विया र कोष्टारिकासँग खेल्न बाँकी छ ।


त्यस्तै गरी डिफेन्डिङ च्याम्पियन जर्मनी सन् २०१८ को विश्वकपको पहिलो खेलमा नै मेक्सिकोसँग अप्रत्यासितरुपमा पराजित भएको छ । हर्भिङ लजानोको एकमात्र गोलको मद्दतले मेक्सिकोले जर्मनीलाई पराजित गरेको हो ।

 

लजानोले खेलको ३५ औँ मिनेटमा ह्याभियर हर्नान्डेजको पासमा गोल गर्दै मेक्सिकोलाई ऐतिहासिक जित दिलाएका हुन् । 

 

अप्रत्यासित रुपमा पछि परेको जर्मनीले खेलको दोस्रो हाफमा मेक्सिकोमाथि निरन्तर दबाब राखेको थियो । विपक्षीमा खेलमा १६ पटक आक्रमण गरे पनि जर्मनीले गोल भने गर्न सकेन ।

 

उता, मेक्सिकोले पनि थुप्रै राम्रो अवसरहरु गुमाएको थियो ।

 

जर्मनीले विश्वकपमा पहिलो खेल हारेको सन् १९८२ पछि पहिलो पटक हो । पछिल्लो पटक अल्जेरियासँग पहिलो खेलमा पराजित भए पनि जर्मनीले अन्ततः फाइनलसम्मको यात्रा तय गरेको थियो ।

 

यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेका थिए । तर, तीनै खेलमा जर्मनी विजयी भएको थियो ।

 

त्यस्तै यसअघि दुई टोली सबै प्रतियोगितामा ११ पटक आमने सामने भएका थिए जसमा मेक्सिकोले एकमा मात्र जीत हासिल गरेको थियो ।

 

खेलमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका मेक्सिकोका राफायल मारक्वेज पाँचवटा फरक विश्वकप खेल्ने मात्र तेस्रो खेलाडी बनेका छन् । यसअघि मेक्सिकोका एन्टोनियो कार्बाजाल र जर्मनीका लोथर माथायसले उपलब्धि हासिल गर्न सफल भएका थिए ।
 

विशेष