व्यापार अर्थ कर्पोरेट मुख्य समाचार प्रदेश ३

नागिडाँडा विमानस्थललाई २५ करोड

नागिडाँडा विमानस्थललाई २५ करोड

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जाम कम गर्न काभ्रेको नागिडाँडामा निर्माण गर्ने लागेको आन्तरिक विमानस्थका लागि २५ करोड रुपैयाँ विनियोजन गर्ने भएको छ।

 

आर्थिक वर्ष २०७५÷०७६ भित्रै विमानस्थल निर्माणको विस्तृत सम्भाव्यता अध्ययन र डीपीआरका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गर्ने भएको हो।

 

तर, विमानस्थल निर्माणका लागि आवश्यक सम्भावता अध्ययन र डीपीआर निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गर्ने सिलिङ मन्त्रालयमा पठाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जनाकारी दिए। प्राधिकरणले विमानस्थल निर्माण प्रक्रिया थालनीका लागि विनियोजन गर्न लागेको रकम अतिनै न्यून भएको भन्दै २५ करोड रुपैयाँ छुट्टयाउन लागेको मन्त्रालयको भनाइ छ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो आन्तरिक उडान चाप कम गर्दै अन्तर्राष्ट्रिय उडान गर्ने ठूला जहाजलाई बढीभन्दा बढी उडान तालिका दिन पनि नागिडाँडामा विमानस्थल छिटो बनाउनुपर्ने मन्त्रालयको भनाइ छ।

 

काभ्रेको नागिडाँडामा आन्तरिक विमानस्थल निर्माण थालनी गर्ने तयारीका साथ सरकारले आगामी आवको बजेटमा पनि रकम व्यवस्था गरेको छ।सोही अनुरुप आगामी वर्ष भित्र विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन र डीपीआर निर्माण गर्न २५ करोड रुपैयाँ विनियोजन गर्ने तयारी भएको मन्त्रालयको भनाइ छ।

 

विनियोजन हुने बजेट भने प्राधिकरणको बोर्ड बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। अध्ययन टोलीले पनि काभ्रेको नाडिडाँडामा विमानस्थल निर्माण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई चाप ३१ प्रतिशतसम्म घटाउन सकिने प्रतिवेदन दिएको थियो।

 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कार्यभार सम्हालेदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा कभ्रेको नागिडाँडामा विमानस्थल निर्माण गर्ने बताउँदै आएका छन्। अध्ययन टोलीले पनि काभ्रेको नाडिडाँडामा विमानस्थल निर्माण गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो चाप ३१ प्रतिशतसम्म घटाउन सकिने प्रतिवेदन सरकारलाई दिएको थियो।

 

इन्जिनियर कमलकुमार केसीको संयोजकत्वमा गत वैशाख १८ गते निर्माण गरिएको प्राविधिक टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा काभ्रेको नागिडाँडामा विमानस्थल बनाउन उचित हुने प्रतिवदन दिएको थियो। अध्ययन टोलीका अनुसार नागिडाँडामा विमानस्थल निर्माण गर्न अनुमानित आठ अर्ब ५० करोड रुपैयाँ खर्च लाग्नेछ।

 

टोलीले नागिडाँडामा एक हजार दुई सय मिटर लामो धावनमार्गसहितको आन्तरिक विमानस्थल निर्माण गर्न सकिने सुझाव दिएको छ। आठ सय मिटर लामो धावनमार्गका लागि पाँच अर्ब ५० करोड र एक हजार दुई सय मिटर धावनमार्गका लागि आठ अर्ब ५० करोड लाग्ने टोलीको अनुमान छ । 

विमानस्थल नागिडाँडा

विशेष