डा. देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिर्इँदै (फाेटाेफिचर)

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीपछि मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पताल प्रशासनले जनाएको छ ।
क्यान्सर रोगबाट पीडित डा. देवकोटाको सोमबार साँझ उपचारको क्रममा निधन भएको थियो । निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, राजनीतिक दलका नेताहरु सोमबार साँझ नै न्यूरो अस्पताल पुगेका थिए ।
देवकोटाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।
देवकोटा निवास हेपाली हाइटमा पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेघा, वसुधा र मञ्जरीले काजकिरिया गर्ने छन् । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पताल प्रशासनले जनाएको छ ।
डा. देवकोटा लामाे समयदेखि पित्तथैलीको क्यान्सरबाट पीडित थिए । स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। बेलायतमा लामो समय उपचार गराउँदा पनि राेग निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल ल्याइएकाे थिए ।
डा. देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। यस्तै उनको चाहना अनु्सार गत हप्ता गृहजिल्ला गोरखा पनि लगिएको थियो ।

