यी नेपाली हुन् जसले बंगलादेश सफा गरे (भिडियो)
काठमाडौं । जीवनको एउटा अनौठो प्रतिबद्धता । नितान्त सामान्य सोचाइभन्दा पृथक् । भन्दा र सुन्दा पनि विश्वास गरिहाल्न गाह्रो ।
इतिहासलाई उद्धृत गर्ने हो भने मानिसको जीवनमा साधारण प्रतिबद्धताको सीमाले मानिसलाई किन बेमौसममा वा भावनामा आएर प्रतिबद्धता जनाएको रहेछु भन्ने पछुतो पर्ने गरेको छ ।
कुनै पनि विषयमा वा कालखण्डमा गरिएको प्रतिबद्धता जीवन रहुन्जेल पूरा गर्न कत्तिको मुस्किल पर्छ भन्ने उदाहरण महाभारतका पात्र भीष्म पितामहबाट लिन सकिन्छ । उनको एउटै प्रतिबद्धता थियो, ‘जसरी भएपनि हस्तिनापुर राज्य सुरक्षित रहनुपर्ने, त्यहाँ जोसुकै शासनकर्ता किन नहोस् ।
भीष्म पितामहको उक्त प्रतिबद्धताले उनलाई धेरै काल छट्पटीमा पुर्याएको जो कोहीलाई पनि भलीभाँती स्मृति होला । तर, कीर्तिपुरका दुई स्थायी वासिन्दा राजमान र सुशीला विगत आठ वर्षदेखि नेपालका विभिन्न सहर, टोल र गाउँको सरसफाइमा दृढ निश्चयीको रूपमा संलग्न छन् ।
राजमानको सफाइ अभियानलाई सुशीलाले पनि जिन्दगीभर साथ दिने कबुल गरेपछि उनीहरूको सो प्रयास विकास र विस्तार भएको हो ।
राजधानीको कीर्तिपुरको हुनेखाने परिवारमा हुर्केका यी दुई नेवार सम्प्रदायका व्यक्ति किन यस्तो काममा लाग्नुपरेको हो भन्ने जिज्ञासाका क्रममा राजमान सहजतापूर्वक भन्छन्, ‘विदेशीहरूले हाम्रो देश नेपाललाई गरिब र फोहोर भनेर चित्रण गरेको देख्दा त्यसको प्रत्युत्पादनमा निस्केको मेरो प्रतिबद्धता हो ।
सुरुमा त कसैले पत्याएनन्, समय बित्दै गएपछि मानिसहरूले मनन गर्न थाले । मेरो अभियानलाई मेरै कीर्तिपुर निवासी सुशीलाजीले साथ दिन्छु भन्नु भएपछि मेरो विश्वास र हौसला दुबै बढ्न गयो ।’
सरसफाइसम्बन्धी सुरुसुरुका दिन सम्झँदै राजमान भन्छन्, ‘पहिले त सार्वजनिक ठाउँमा बढार्दै जाँदा सर्वसाधारणले हामी दुईलाई नगरपालिका कर्मचारी हो कि क्या हो भन्थे । साथै उनीहरूले टिप्पणी पनि गर्थे, ‘नगरपालिका मान्छेले त यसरी सफाइ गर्दैनन् । अनि सोध्न आउँथे तपाईंहरू को हुनुहुन्छ ?’ हामी सविस्तारपूर्वक भन्थे, हामी स्वयंसेवी सफाइ अभियानकर्ता हौं । त्यसपछि स्थानीय वासिन्दाले सहयोग गर्न थाल्यो । हामीसँगै उहाँहरू पनि सरसफाइमा संलग्न भए ।’
कसैसँग कर गरेर एक पैसा पनि सहयोग नमाग्ने सिद्धान्त अंगालेका राजमान र सुशीला कसैले राजीखुसी खान बस्न दिए स्वीकार्छन् । नत्र भए उनीहरू आफ्नै व्यवस्थापनमा खानेबस्ने प्रबन्ध मिलाउँछन् ।
सफाइ अभियानमा घरबाट निस्कनुअघि ‘अब उप्रान्त हाम्रो सोधीखोजी नगर्नू, काठमाडौं आएको बेला घर आउने छु, नत्र भए हाम्रो व्यवस्था हामी नै गर्छौं’ भनेर घरपरिवारसँग मैत्रीपूर्ण वातावरणमा नेवारी संस्कृतिअनुरूप भोजभतेर गरेर आफ्नो प्रतिबद्धतालाई मनसा, वाचा र कर्मणा पूरा गर्न निस्केका राजमानले आफ्नो जातीय पहिचान ‘महर्जन’ लाई ‘मानव’ मा परिणत गरे अर्थात् तदुपरान्त उनी राजमान मानव बने । सुशीला महर्जन पनि ‘मानवी’ बनिन् । यसको पछाडि उनीहरूको छुट्टै परिभाषा र व्याख्या छ ।
पछिल्लोपटक उनीहरूको सरसफाइ अभियान विदेश केन्द्रित हुन थालेको छ । हालसालै मात्र उनीहरू दुई महिना लामो अवधिका लागि बंगलादेशको राजधानी ढाका सहरको सफाइ अभियानमा जुटेका थिए ।
ढाकाको विकराल फोहोर समस्या र बिनाबुर्का लगाएर एक विदेशी महिला सडकको सफाइमा उत्रँदाको तीतोमीठो अनुभव सुशीलाले बेग्लै ढंगले संगालेकी छन् । उनी भन्छिन्, ‘म एक विदेशी महिला अति व्यस्त सहर ढाकामा सडक बढार्न जाँदा सबैले मलाई हेरिरहन्थे । र, पछि उनीहरूले सल्लाह दिन थाले यहाँ त महिलाले बुर्का लगाउने चलन छ नि भनेर ।’
विगत आठ वर्षदेखि निरन्तर सफाइ कार्यमा संलिप्त उनीहरूलाई सर्वसाधारण, स्थानीय निकायका निर्वाचित जनप्रतिनिधि र घरपरिवारले गरेको आत्मीय सहयोग र मद्दतका कारण सरसफाइ क्षेत्रमा बाँकी जीवन बिताउन अझ नैतिक बल अभिवृद्धि भएको राजमान र सुशीला बताउँछन् ।
बंगलादेश राजमान मानव सुशीला मानवी