खेल मुख्य समाचार

डेनमार्क र अस्ट्रेलिया बराबरीमा रोकिए

डेनमार्क र अस्ट्रेलिया बराबरीमा रोकिए

मस्काे । विश्वकपको समूह ‘सी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलिया र डेनमार्कले एक/एक गोलको बराबरी खेलेका छन् ।  क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरेका थिए।

 

तर अस्ट्रेलिया पेनाल्टी गोलमा खेलमा फर्कियो । डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले ३८‍ औं मिनेटमा पेनाल्टी पाएको थियो। कप्तान माइल जेडानिकले पेनाल्टी सदुपयोग गरे। समूहमा डेनमार्कले दुई खेलबाट चार अंक जोडेको छ।

 

फ्रान्ससँग पहिलो खेल २-१ ले गुमाएको अस्ट्रेलियाले डेनमार्कसँग बराबरी खेलेसँगै अघिल्लो चरणको सम्भावना कायमै राखेको छ । डेनमार्कले पहिलो खेलमा पेरुलाई १-० ले हराएको थियो ।

 

खेलमा ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाएको अस्ट्रेलियाले प्रहार गरेका १२ सटमा ३ वटा मात्रै पोस्टको दिशामा थिए । डेनमार्कले खेलमा ८ सट प्रहार गरेकोमा ४ वटा सट पोस्टको दिशामा थिए ।

 

डेनमार्क सन् २०१६ को अक्टोवर ११ मा मोन्टेनेग्रोसँग १-० ले पराजित भएपछि अहिलेसम्मका कुनै खेल हारेको छैन । डेनमार्कको अपराजित खेल यात्रा १७ पुगिसकेको छ । जसमा ९ खेल जितेको छ भने ८ खेल बराबरी भएको छ । समूह ‘सी’ कै अर्को खेलमा अहिले राति पौने ९ बजे पेरु र फ्रान्स खेल्दै छन् ।

विश्वकप फुटबवल डेनमार्क अस्ट्रेलिया

विशेष