व्यापार अर्थ बैंकिङ मुख्य समाचार प्रदेश ३

४ खर्ब १२ अर्बका नेपाली नोट बैंकद्वारा नष्ट 

४ खर्ब १२ अर्बका नेपाली नोट बैंकद्वारा नष्ट 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब १२ अर्ब १३ करोड ८४ लाख रुपैयाँ बराबरको नेपाली नोट नष्ट गरेको छ । राष्ट्र बैंकले सबैभन्दा बढी ५ रुपैयाँको नोट जलाएको हो  ।

 

हालसम्म ८६ करोड ८२ लाख ५१ हजार ८ सय ६७ रुपैयाँँ बराबरको ५ को नोट नष्ट गरेको नेपाल राष्ट्र बैंंक मुद्रण व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए । यस्तै १० को नोट पनि ८१ करोड ५२ लाख ८७ हजार रुपैयाँ नष्ट गरिएको छ ।

 

पुराना र काम नलाग्ने नोटलाई थापाथली राष्ट्र बैंक परिसरमै नष्ट गर्ने गरिन्छ । राष्ट्र बैंकले विभिन्न समयमा गरेर यो परिणामको नोट जलाएको हो । केन्द्रीय बैंकले चलनचल्तीमा प्रयोग गर्न नमिल्ने, थोत्रो, च्यातिएको र कामै नलाग्ने नोट जलाउँदै आएको छ ।

 

सामान्यतया साना नोटको आयु २ वर्षदेखि ३ वर्ष र ठुला नोटको आयु ५ देखि ६ वर्षको रहने गरेको पाइएको निरौलाले बताए । अब विस्तारै नोट जलाउने चलनलाई विस्थापित गर्दै धुल्याउनेतर्फ लैजाने राष्ट्र बैंकले जनाएको छ । 

 

यस्तै नेपाल राष्ट्र बैंकले बजारमा अहिलेसम्म ४ खर्ब ७२ अर्ब ३८ करोड बराबरको नेपाली रुपैयाँ प्रवाह गरेको छ । नेपालमा कागजी मुद्राको प्रचलन भएदेखि ०७५ असार ५ गतेसम्ममा यो परिणामको नोट बजारमा पठाएको हो ।

 

हालसम्म सबैभन्दा बढी ५ रुपैयाँको नोट बजार पठाएको छ । यो भनेको बजारमा ५ रुपैयाँको नोटको माग सबैभन्दा बढी हुनु पनि हो । नेपालमा कागजी मुद्राको प्रचलन २००२ देखि शुरु भएको हो ।  

 

हालसम्म ४८ करोड ५१ लाख रुपैयाँ बराबरको ५ को नोट बजारमा सर्कुलेसन भएको छ ।  यस्तै अहिले बजारमा ३ लाख ४९ हजार ७ सय १४ रुपैयाँ बराबरको २५० रुपैयाँको नोट छ ।

 

तर अहिले यो नोट स्मारिकाको रुपमा मात्र निष्काशन हुने गरेको उनले बताए । राष्ट्र बैंकसँग सवाँ तिन वर्षलाई पुग्ने नोट स्टक हुने गरेको छ । 

नोट बैंकद्धारा नष्ट 

विशेष