अपराध सुरक्षा मुख्य समाचार

मरिच काण्डमा पक्राउ परेका छाला उद्योगी अग्रवाल जेल चलान

मरिच काण्डमा पक्राउ परेका छाला उद्योगी अग्रवाल जेल चलान

काठमाडाैं । धरौटी वापतको रकम बुझाउन नसक्दा छाला उद्योगी सञ्जय अग्रवाल पक्राउ परेका छन्। मरिच तस्करीमा संलग्न व्यापारी अग्रवाललार्इ धरौटी रु ३ करोड ७६ लाख ८० हजार बुझाउन नसकेपछि राजस्व अनुसन्धान विभाग काठमाडौंले बिहीबार राती पक्राउ गरेको हो ।

 

विरगञ्ज घर भएका उद्योगी अग्रवाल राजस्व विभागले थालेको मरिच तस्करी काण्डको अनुसन्धानमा दोषी ठहरिएका थिए । बिहीबार साँझ ५ बजे विभागले उनीसँग धरौटी रकमसहित विभागमा हाजिर हुन आदेश दिएका थिए । रकम तिर्न नसकेपछि जेल चलान गरि आवश्यक अनुसन्धान भइरहेको विभागका अनुसन्धान निर्देशक ध्रुव पोखरेलले बताए ।

 

अग्रवाललगायतका केही व्यापारीले ठूलो मात्रामा विदेशबाट आयातित मरिच एक वर्षदेखि महंगो मूल्यमा बेच्दै आएका थिए । गत जेठ २१ गते राति वीरगञ्ज भन्सार नाकाबाट भारतीय ट्रकमै एक ट्रक मरिच भारत पठाउन लाग्दा पर्सा प्रहरीले १२ टन दुई सय किलो मरिच बरामद गर्दै चालक र ट्रकलाई कारबाही गरेको थियो ।

 

मरीच तस्करी बढ्दै जान थालेपछि एक हप्ताअघि निर्देशक पोखरेलको टोलीले वीरगञ्जको दुई वटा व्यापारिक प्रतिष्ठानमा छापा हानी कागजपत्र नियन्त्रणमा लिँदै अनुसन्धनलाई तीव्र बनाएको थियो ।

 

अनुसन्धानका क्रममा अग्रवालको छाला उद्योग ग्लोबल लेदर ट्रेनिग इण्डष्ट्रिज प्राली लिपनीबिर्ता र उनका कान्छा भाइ एवं वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष अनिल पाटवारीको फर्म साम इन्टरनेशनलमा छापा हान्दा उनीहरू दोषी ठहरिएको प्रहरीले जनाएको छ ।

 

अनुसन्धानकै क्रमा विभागको पत्रका आधारमा वीरगञ्जबाट दुईजना भन्सार क्लियरिङ एजेण्ट वीरेन्द्र गुप्ता तथा दिलीप श्रीवास्तव पनि पक्राउ परेका छन्। अग्रवाललाई अहिले नख्खु जेलमा राखेर अनुसन्धान जारी गरिएकाे निर्देशक पोखरेलले जानकारी दिए ।

 

विशेष