ब्राजिलमाथि सबैकाे स्पष्ट जितको अाशा
काठमाडाैं । ब्राजिलले शुक्रबार समूह ‘इ’ को दोस्रो खेलमा कोस्टारिकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नै सर्वाधिक बलियो उपाधि दाबेदार मानिएको ब्राजिल पहिलो खेलमा स्विट्जरल्यान्डसँग बराबरीमा रोकिएपछि कोस्टारिकाविरुद्ध ब्राजिल स्वभाविक दबाबमा हुनेछ ।
कोस्टारिका र ब्राजिल दुवैका लागि नकआउट चरणमा स्थान कायम राख्न पनि दुवै निश्चित जितको खोजीमा मैदानमा उत्रनेछन् । सर्बियासँग कोस्टारिका १–० ले पराजित भएको तथा ब्राजिलले पनि स्विटजरल्यान्डसँग अंक बाँडेकाले टिमलाई उद्घाटन खेलमा भन्दा दोस्रो खेलमा बढी दबाब हुनेछ ।
ब्राजिल कोस्टारिकाविरुद्ध मैदानमा उत्रँदा उसलाई अघिल्लो खेलको नतिजाले त पिरोल्ने नै छ । साथमा खेलाडीको चिन्ता पनि थपिएको छ । उसका स्टार स्ट्राइकर नेयमार खेल्ने या नखेल्ने अन्योलता कायम रहँदा पाउलिन्हो र थियोगो सिल्भाले कोस्टारिकाविरुद्धको खेल गुमाउँदै छन् ।
स्विट्जरल्यान्डविरुद्धको खेलका दौरान पुरानो खुट्टाको चोट बल्झिएको भन्दै उनले कोस्टारिकाविरुद्ध खेल्ने सम्भावना निकै कम रहेको जनाइएको छ । कोस्टारिकाविरुद्धको खेलको तयारीका क्रममा भएको अभ्यासमा पनि नेयमार सहभागी नभएपछि उनले कोस्टारिकाविरुद्धको खेल गुमाउन सक्ने आकलनलाई बल मिलेको छ ।
तर, ब्राजिललाई अर्जेन्टिनी स्टार कोउटिन्होको खेलमा विश्वास रहेको छ । साथमा उनलाई फर्नान्डिन्हो रेनाटो अगुइएस्टो, गाब्रिएल जेससलगायतले साथ दिनेछन् ।
सबैकाे प्राथमिकतामा ब्राजिल
विश्वकपको पहिलो खेलसम्मलाई आधार मान्ने हो भने ब्राजिल पछिल्ला १२ खेलमा अपराजित रहेको छ भने उसको पोस्टमा विपक्षीले तीन गोल मात्र गरेका छन् ।
त्यसैले, ब्राजिल स्वभाविक रूपमा बलियो मानिएको छ । कोस्टारिकाविरुद्ध पनि ब्राजिलको इतिहास बलियो रहेको छ । ब्राजिलले कोस्टारिकाविरुद्ध खेलेका १० मध्ये ९ खेलमा जित निकालेकाले स्वभाविक रूपमा ब्राजिल कोस्टारिकामाथि हाबी हुने विश्वास लिएको छ ।
१९६० यता ब्राजिल कोस्टारिकासँग पराजित भएको छैन, त्यसैले पनि ब्राजिल सोही इतिहासलाई कायम गर्ने ध्याउन्नमा हुनेछ । त्यसो त पछिल्लोपटक २०१५ यता यी दुई देश एक अर्काविरुद्ध नभिडेकाले दुवैका लागि विश्वकपको यो खेल अघिल्ला इतिहासको निरन्तरता नहुने खतरा पनि उतिकै रहेको छ ।
विश्वकप फुटबल ब्राजिल