अर्थ मुख्य समाचार समाज प्रदेश ३

प्रिमियममा आइपिओः शिवम्लाई आइपिओ जारी गर्न स्वीकृति 

प्रिमियममा आइपिओः शिवम्लाई आइपिओ जारी गर्न स्वीकृति 

काठमाडौ । उत्पादनमूलक क्षेत्रलाई प्राथमिक सेयर निश्कासन गर्दा प्रिमियम रकम थपेर जारी गर्न पाउने व्यवस्था गरिएपछि पहिलो पटक शिवम् सिमेन्टले प्रिमियममा आइपिओ जारी गर्न स्वीकृति पाएको छ।

 

नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई प्रतिकित्ता ३ सय र ४ सय रुपैयाँका दरले आइपिओ जारी गर्न स्वीकृति दिएको हो। हालसम्म आइपिओ अंकित मूल्य १ सय रुपैयाँमै जारी गर्नुपर्ने व्यवस्थाअनुरुप निश्कासन हुँदै आएको थियो।

 

सो उद्योगले आयोजना प्रभावित स्थानीयका लागि २ सय प्रिमियम रकम थपेर प्रतिकित्ता ३ सयमा र सर्वसाधारणका लागि ३ सय रुपैयाँ थपेर प्रतिकित्ता ४ सय रुपैयाँका दरले आइपिओ निश्कासन गर्ने छ। आयोजना प्रभावितका लागि कुल संख्याको २ प्रतिशत अर्थात ८ लाख ८० हजार कित्ता र सर्वसाधारणका लागि १० प्रतिशत अर्थात ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता जारी हुनेछ।

 

उद्योगको प्रतिदिन ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ। इक्रा नेपालले कम्पनीको आइपिओलाई ३ प्लसको रेटिङ प्रदान गरेको छ। इक्राको रेटिङअनुसार कम्पनीको आइपिओ मध्यम स्तरको देखिन्छ। रेटिङमा १ र १ प्लसले सबैभन्दा राम्रो जनाउँछ भने ५ ले सबैभन्दा कमजोर स्तरको जनाउँछ।

 

आइपिओमा पर्ने लागत, संभावित, प्रतिफल, प्रतिफल प्राप्त हुने समय, जोखिम, कम्पनीको व्यवस्थापन, बिजनेस लगायतका आधारलाई केलाएर इक्रा नेपालले क्रेडिट रेटिङ प्रदान गर्ने गर्दछ। प्रिमियममा आइपिओ आउँदा लागत महँगो पर्ने भएपछि रेटिङ खस्किएको हो।

 

शिवम् सिमेन्टले प्रिमियम मूल्यमा आइपिओ जारी गरेपछि अन्य उत्पादनमूलक कम्पनीहरु पनि आउने बोर्डले विश्वास लिएको सहप्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए।त्यस्ता उत्पादनमुलक कम्पनीले प्रिमियम रकम थपेर न्यूनतम १० प्रतिशत मात्रै सेयर सर्वसाधारणका लागि जारी गर्न सक्ने छन्।

 

बजेटमार्फत पनि सरकारले सर्वसाधारणलाई सेयर जारी गर्नेगरी कम्पनीलाई पव्लिकमा लैजान बाध्यकारी तथा प्रोत्साहनमुलक नीति अपनाएको छ। १ अर्बमाथि चुक्ता पुँजी भएका कम्पनीलाई अनिवार्य पव्लिकमा जानुपर्ने बाध्यात्मक व्यवस्था गरिएको छ भने ५० करोडभन्दा बढी चुक्ता पुँजी भएका कम्पनी पव्लिकमा जाँदा ३ वर्षसम्म आयकरमा १० प्रतिशतका दरले छुट दिने व्यवस्था गरिएको छ।

शिवम् सिमेन्ट

विशेष