अर्थ कर्पोरेट मुख्य समाचार समाज प्रदेश ३

गर्मीसँगै बढ्यो पङ्खाको माग

गर्मीसँगै बढ्यो पङ्खाको माग

काठमाडौं । गर्मी बढेसँगै विद्युतीय पङ्खाको माग बढेको छ । लोडशेडिङ हटेसँगै विधुतीय पङ्खाको बजार पनि बढ्दै गएको सम्बद्ध व्यवसायीहरू बताँउछन् । पछिल्ला २ वर्षमा यसको बजार दोब्बरले बढेको उनीहरूको भनाइ छ ।

 

विधुतीय पङ्खामध्ये अहिले सबैभन्दा बढी सिलिङ फ्यानको माग छ । नेपालमा खपत हुने पङ्खाको कुल सङ्ख्यामध्ये झण्डै ३५ प्रतिशत हिस्सा सिलिङ फ्यानको रहेको व्यवसायीको भनाइ छ । टेबल, पेडेष्टल, वाल माउण्टेड, एक्जष्ट, फ्रेश एयरलगायत पङ्खा बजारमा उपलब्ध छन् ।

 

भन्सार विभागले सार्वजनिक गर्ने वार्षिक तथ्याङ्कको करीब एकतिहाइ पङ्खा भन्सार छली भएर बजारमा आउने गरेको छ । सरकारले भन्सारमा कडाइ गर्न नसके आगामी वर्ष यो थप बढ्न सक्ने सम्बन्धित व्यवसायी बताँउछन् । 

 

भन्सार छली भएर आएका विद्युतीय पङ्खाले व्यवसायलाई नै सङ्कटमा पारेको छ । बजारमा भन्सार छली भएका विद्युतीय पङ्खाको उपस्थिति बाक्लिँदै गएकाले अस्वस्थ प्रतिस्पर्धासमेत बढेको व्यवसायीको भनाइ छ ।

 

बजारमा माइडिया, बजाज, उषा, ओरियण्ट, खेतान, पोलार, डाई स्टार, हिमस्टार, यसुदा, प्रिमियरलगायत विभिन्न ब्राण्डका पङ्खा उपलब्ध छन् । हाल सामान्य किसिमको एउटा विधुतीय पङ्खा खरीद गर्न २ हजार रुपैयाँसम्म तिर्नुपर्छ । नेपालमा हालसम्म पूर्णरूपले विद्युतीय पङ्खाको उत्पादन हुन सकेको छैन । 

 

आवश्यक सबै पङ्खा विदेशबाट आयात भइरहेको व्यवसायी बताउँछन् । अहिले सबैभन्दा बढी विद्युतीय पङ्खा चीनबाट आयात हुने गर्छ । कुल खपतको ६५ प्रतिशत पङ्खा चीनबाट आयात हुने गरेको छ ।नेपालमा भारत, चीन, टर्की, सिङ्गापुर, हङकङ र ताइवानलगायत मुलुकबाट पङ्खा आयात हुने गर्छ । तापनि, भारतीय र चिनियाँ ब्राण्डका पङ्खाको प्रतिस्पर्धा बढी छ । उषा, बजाज, खेतान नेपालमा चलेका भारतीय कम्पनीले उत्पादन गर्ने पङ्खाका ब्राण्ड हुन् ।

 

अन्य देशको तुलनामा भारतमा बनेका विद्युतीय पङ्खा बढी किफायती हुने व्यवसायी बताउँछन् । नेपालमा आयात हुने अधिकांश पङ्खा चीनमा बनेका छन् । मिडिया, पोलार, प्रिमियर, हिमस्टारलगायत ब्राण्डका पङ्खाको उत्पादन चीनमा हुने गर्छ ।

माग पङ्खा

विशेष