अर्थ मुख्य समाचार समाज प्रदेश ३

रानीपोखरीमा  तीन करोड खर्च, प्रगती शून्य

रानीपोखरीमा  तीन करोड खर्च, प्रगती शून्य

काठमाडौ । महाभूकम्प गएको तीन वर्ष बितिसक्दा पनि ऐतिहासिक र पुरातात्विक महत्वको रानीपोखरीको पुनर्निर्माण हुन सकेको छैन। रानीपोखरी पुनर्निर्माणको नाममा झण्डै ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, अहिलेसम्म पुनर्निर्माणको काम भने सुरू हुन सकेको छैन। संरचना बनाउने, भत्काउने दुवै अपरिपक्क र अदूरदर्शी निर्णयका कारण झण्डै ३ करोड रुपैयाँ नोक्सानी भएको छ।

 

१८ महिना अघिदेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको भन्दै चौतर्फी विरोध भएपछि बाहिरी घेरामा लगाइएको आधुनिक कंक्रिट पर्खाल भत्काइएको हो। रानीपोखरीको बाहिरी घेरामा कंक्रिट वाल लगाउन मात्रै २ करोड ३० लाख रुपैयाँ खर्च भएको महानगरले जनाएको छ।

 

आधुनिक शैलीमा बनाउँदा रानीपोखरीको पुरातात्विक  र परम्परागत पुरानो शैली मासिएको भन्दै चौतर्फी विरोध भएपछि सो पर्खाल भत्काइएको हो। पर्खाल भत्काउन र कंक्रिट हटाउन महानगरले १६ लाख रुपैयाँमा चक्रदेव कन्स्ट्रक्सनलाई जिम्मा दिएको थियो। भत्काउने र त्यसलाई सफा गर्ने जिम्मा लिएको कम्पनीले  ९५ प्रतिशत काम सकिएको बताएको छ।

 

रानीपोखरी पुनर्निर्माणका लागि महानगरपालिकाले वल्डवाइड कँडेल के एन केजी जेभीलाई करिब ७ करोड रुपैयाँमा ठेक्का दिएको थियो। पोखरीको बाहिरी घेरामा लगाइएको आधुनिक पर्खाल भत्काएपछि सो कम्पनीले क्षतिपूर्तिको माग गर्दै महानगरपालिकाविरुद्ध मुद्धा दायर गरेको छ । सो मुद्धा अहिले पनि विचाराधीन छ। 

 

यसैबीच पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर भने राणाकालीन शैलीमा पुरातत्व विभागले पुनर्निर्माण गरिरहेको छ । यद्यपी मन्दिरको पुनर्निर्माणको काम पनि सन्तोषजनक ढंगले अघि बढ्न भने सकेको छैन। स्थानीयवासी र विज्ञले मल्लकालीन शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

रानीपोखरी पुनर्निर्माण प्रगती

विशेष