मुख्य समाचार संघीय समाचार प्रदेश २

वडाध्यक्षको नेतृत्वमा ‘गुण्डा’ शैलीमा सांघातिक हमला, ४ गम्भीर घाइते

अभिमनु कुमार पटेल

वडाध्यक्षको नेतृत्वमा ‘गुण्डा’ शैलीमा सांघातिक हमला, ४ गम्भीर घाइते

रौतहट । रौतहटको बौधिमाई नगरपालिकास्थित सडक विस्तारको क्रममा विवाद भएपछि वडानम्बर ७ का वडाध्यक्ष विजय कुशवाहको नेतृत्वको टोलीले स्थानीय ४ जनामाथि आक्रमण गरेको छ ।

शिवगोविन्द कुशवाह, महानन्द कुशवाह, रामेश्वर कुशवाहसहित चार जनालाई धारिलो हतियार प्रहार गरी आक्रमण गर्दा टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ ।

सडक विस्तारको लागि शिवगोविन्द कुशवाहलगायत जग्गा प्रयोग गर्न थालेपछि विवाद बढेपछि वडाध्यक्ष नै हमला गर्न उत्रिएका हुन् ।

पीडित शिवगोविन्द भने आफू विपक्षी राजनीतिक दलको भएकाले हमला गरेको बताउँछन् । आफ्नो जग्गाबाट सहमतिबिना नै डोजर चलाएर खेत मासेर माटो खनेपछि आफूले असहमति जनाउँदा आक्रमण भएको उनको भनाइ छ ।

सडक विस्तार गर्ने क्रममा एक महिनाअघि नै शिवगोविन्द कुशवाहले आफ्नो जग्गामा सडक बनाउन रोक लगाएका थिए । रोकाका लागि जिल्ला अदालतबाट आदेश पत्र पठाई सो विवादित कामलाई हेर्नका लागि प्रहरीचौकी बंकुलको प्रहरी पूर्वइन्चार्ज दिनानाथ यादवको नेतृत्वमा खटाइएको थियो ।

तर त्यसबेला पनि वडाध्यक्ष कुशवाहले कुनै वास्ता नगरी इन्चार्ज यादवसँग झगडा गरेको पीडित गोविन्दले बताए । सडक विस्तारको काम विवादका कारण रोकिए पनि सुचारु गर्ने क्रममा वडाध्यक्ष नै आक्रमणमा उत्रिएका हुन् ।

शनिबार मात्रै शिवगोविन्दले सहमतिबिना काम नगर्न आग्रह गर्दा गर्दै वडाध्यक्ष विजय कुशवाहले ५० जना जतिको टोलीसहित सांघातिक आक्रमणमा उत्रिएको बताइएको छ ।

वडाध्यक्ष विजय कुशवाह स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । यस घटनापछि भने वडाध्यक्ष कुशवाहसँग स्थानीयहरू रुष्ट बनेका छन् ।

वडाध्यक्षसँग शिवगोविन्दको पुरानो राजनीतिक रिसइबी भएका कारण यस्तो गरेको हुनसक्ने पनि स्थानीयको अनुमान छ । ‘गुण्डा’ कै शैलीमा वडाध्यक्ष विजय ५० जना जतिको टोलीसहित हमलामा उत्रिएपछि स्थानीय दिनभर त्रसित बनेका थिए । घटनापछि घाइतेहरूलाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकीमा लगिएको छ भने घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
 
 

वडा अध्यक्ष राैतहट हमला गुण्डा शैली

विशेष