कला साहित्य भिडियो कभर स्टोरी

मुकारुङसँग विशेष अन्तरवार्ताः टुटिसकेको सम्बन्ध सोधेर लफडा नगर्नुस् लेख्न दिनुस् मलाई ! (भिडियो)

हाम्रो सम्बन्ध अरुलाई हैन मिडियालाई चाहिएको हो 

मुकारुङसँग विशेष अन्तरवार्ताः टुटिसकेको सम्बन्ध सोधेर लफडा नगर्नुस् लेख्न दिनुस् मलाई !  (भिडियो)

काठमाडौं । नेपाली साहित्यमा ‘जबर्जस्त’ नाम हो राजन मुकारुङ । लेखनसँगै ‘एक्टिभिजम’ गर्छन् उनी ।

 

सिमान्तकृतका मुद्दा नै उनको चासोका विषय हुन् । खासगरी राज्यसत्ताले स्थापित गरेका मान्यता र चिन्तनको आलोचनामा मुकारुङ निरन्तर छन् । उनका सृजना र साहित्यिक आन्दोलनले पनि यस्तो पुष्टि गर्छन् ।

 

उनै मुकारुङसँग नेपालआजले अन्तरवार्ता गरेको छ । नेपालआजका लागि समर्पण श्रीले गरेको कुराकानी उनको लेखन, आन्दोलन र व्यक्तिगत जीवनमाथि केन्द्रित छ ।


सृजनशील अराजकता


नेपाली साहित्यमा एक महत्वपूर्ण आन्दोलन थियो ‘सृजनशील अराजकता’ । स्थापित मानकहरु भत्काएर नयाँ मान्यताबारे बहस गराउने उद्देश्य साथ सुरु भएको यो आन्दोलन हस्तक्षेपकारी थियो ।

 

यही आन्दोलनका एक अभियन्ता हुन् राजन मुकारुङ । हाङयुग अज्ञात र उपेन्द्र सुब्बा अरु दुई अभियन्ता थिए । १० वर्षअघि सुरु भएको सहअस्तित्वको यो आन्दोलन पछिल्लो समय केही मत्थर भएको छ ।

 

यद्यपि सृजना मार्फत अहिले पनि उक्त आन्दोलनको रुप फेरिएको बताउँछन् उनीहरु ।

 

मुकारुङका अनुसार यो आन्दोलनले कम्तिमा पुराना संस्कार र मान्यतामाथि प्रश्न गर्न सिकाएको थियो । ‘नेपाली साहित्यमा हामीले आफैँलाई पाएनौँ,’ मुकारुङले भने, ‘त्यसपछि आफैँलाई लेख्नुपर्ने रहेछ भन्ने अनुभुति भयो । नयाँ शैली, तरिका र नयाँ कथाहरु लेख्ने अठोट गर्यौँ हामीले ।’ अझै बाँकी रहेका विभेद र न्याय विहिन मान्छेको आवाज सृजनशील अराजकताको चासो र उद्देश्य हुने बताउँछन् मुकारुङ ।


व्यक्तिगत जीवनमा उतारचढाव


दुई छोराका बावु र एक नातीका हजुरबा हुन् मुकारुङ । त्यसभन्दा पहिले लेखिका प्रगति राईका श्रीमान । तर प्रगतिसँगको सम्बन्ध लगभग टुंगिएको छ ।

 

अन्तरवार्ताको क्रममा व्यक्तिगत जीवनबारे पनि मुकारुङले खुलेर बोलेका छन् । यस बीचमा दाम्पत्य जीवन बिगार्न बाहिरी पक्षले ‘खेलेको’ उनको भनाइ छ । स्वभाविक कुरामा समेत बाहिरी पक्षले अनेक धारणा बनाएर सम्बन्ध बिगार्न भुमिका खेलेको उनले बताए ।

 

उनले भने, ‘भावनात्मक, सामाजिक र पारिवारिक जीवन टुटिसक्यो । यसलाई बखेडा गरिरहनु आवस्यक छैन अब ।’

 

आफ्नो व्यक्तिगत जीवनको विषयलाई लिएर ‘मसला’बनाउने प्रबृत्तिप्रति उनको असन्तुष्टि थियो । उनले थपे, ‘हाम्रो दाम्पत्य जीवनबारे आम मान्छेलाई चासो छैन, मिडियालाई मात्रै चाहिएको छ ।’

 

यसअघि प्रगतिले पनि विभिन्न मिडियामा अभिव्यक्ति दिएपछि सम्बन्धमा थप दरार उत्पन्न भएको मुकारुङले संकेत गरेका थिए । उनले भनेका छन्, ‘प्रगतिलाई म सम्मान नै गर्छु, तर उहाँले जति धेरै गर्नुभयो, ती सबै ठीक थिएनन् । त्यसैले हाम्रो सम्बन्ध सधैँका लागि सिद्धिएको हो ।’

 

साथै मुकारुङले यस विषयमा लफडा नगर्न, प्रश्न नै नगर्न पनि आग्रह गरे । ‘कम्तिमा राजन मुकारुङलाई स्वतन्त्र रुपमा किताव लेख्न दिनोस् । प्रगतिलाई पनि लेख्न दिनोस् । शुभकामना दिनोस् । वाहियात प्रश्न गरेर नअल्मलाउनुस् ।’ भन्दै उनले आग्रह गरेका छन् ।


समकालिन साहित्यबारे


मुकारुङले समकालिन साहित्यबारे यहाँ बोलेका छन् । पछिल्लो पुस्तामा सम्भावना र क्षमता भए पनि हतारो र सतही काम मात्रै बढी भएको टिप्पणी गरे ।

 

साहित्यमा चिन्तन, अध्ययन र खोज कम भएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । साथै डिजिटल संसारको बढ्दो प्रभावसँगै विमर्श पनि कम हुने गरेको उनले भने ।

 

‘विमर्श हुन्छन् तर सिन्डिकेटमा मात्रै सिमित । गुटभित्र मात्रै छलफल भएको छ । महोत्सव हुन्छ त्यहाँ अर्को समूह पूरै छुट्छ । नयाँ पुस्ताले के सोचेको छ त्यसबारे बहस नै भएन,’ उनले भने ।

 

सजिलो बाटो मात्रै हिँड्न चाहने नयाँ पुस्ता समाजबाट ‘डिट्याच’ भएको भन्दै सामाजिक, राजनीतिक विषयमा चिन्तन र अध्ययन बढाउनुपर्ने सुझाव उनको छ ।

 

प्रस्तुतीः समर्पण श्री

 

साहित्य सम्बन्ध राजन मुकारूङ विशेष अन्तर्वार्ता प्रगति रार्इ सृजनशील अराजकता

विशेष