व्यापार अर्थ मुख्य समाचार समाज प्रदेश ३

दूधमा अखाद्य वस्तु नमिसाएको उत्पादकहरुको दाबी 

दूधमा अखाद्य वस्तु नमिसाएको उत्पादकहरुको  दाबी 

काठमाडौं । दूध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघले दूधमा युरिया मललगायतका अखाद्य वस्तु नमिसाएको दावी गरेको छ । डेरी उद्योग संघका पदाधिकारीले सोमबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको छलफलमा दूध तथा दुधजन्य वस्तुमा युरिया मल लगायतका अखाद्य वस्तु नमिसाइएको दावी गरेका हुन् ।

 

संघका अध्यक्ष अरनिको राजभण्डारीले गाईको घाँस र दानामा रहेको युरिया मलको केही मात्रा दूधमा पनि देखिएको दावी गर्दै त्यसले मानव स्वास्थ्यमा प्रतिकूल असर नपार्ने तर्क समेत गरेका छन् । संघले आयात गरिएका दूध पाउडर पनि मापदण्ड विपरीत नरहेको दावी गरेको छ ।

 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चेकजाँच गरेर मात्रै खरिद गरिएको दुध पाउडर मापदण्ड विपरीत रहेको भन्न नमिल्ने डेरी संघका अध्यक्ष राजभण्डारीको भनाइ छ ।  दूध डेरी पसललाई व्यवस्थित बनाउन २ वर्ष भित्र आचारसंहितानै बनाएर पालना गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन् ।  

 

यता, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि दुधमा मिसावट देखिएको भन्दै त्यसलाई व्यवस्थित बनाउन आवश्यक आचारसंहिता निर्माणको कामलाई पनि अघि बढाएको जनाएको छ । 

 

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले दूध तथा दूधजन्य वस्तुमा मानव स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट भेटिएको दावी गर्दै त्यस्ता दुध डेरीलाई कारबाही गर्ने बताइसकेका छन् ।

दूध उत्पादक

विशेष