खेल मुख्य समाचार

गुगलमा ब्राजिलको खोजी

गुगलमा ब्राजिलको खोजी

मस्को । विश्वकपअघि अन्तर्राष्ट्रिय र चाखलाग्ने घटना विश्व राजनीतिकै हुने गर्दथ्यो । ‘सर्च इन्जिन गुगल’ मा अघिकांश दर्शकले इजरायल र प्यालेस्टाइन, भारत र पाकिस्तान, अमेरिका र उत्तर कोरियाबीचका घटना र राजनीतिक विषय बढी रुचि राख्दथे । रुसमा २१औं संस्करणको विश्वकप फुटबल सुरु भएपछि गुगल प्रयोगकर्ताको ध्यान फुटबलले तानेको छ ।

 

अझ, गुगलमा ब्राजिल फुटबल टोलीको बढी खोली भइरहेको छ । विश्वकप सुरु भएयता गुगलमा सबैभन्दा धेरै खोजिने टोलीको पहिलो सूचीमा ब्राजिल देखिएको छ । पाँच पटकको विश्वविजेता ब्राजिल छैटौं पटक उपाधि जित्ने अभियानमा छ । यद्यपि, समूह चरणको पहिलो खेलमा ब्राजिलले स्विट्जरल्यान्डसँग बराबरी खेलेपछि निकै आलोचित भएको थियो । दोस्रो खेलमा कोस्टारिकालाई २–० गोलले हराएपछि ब्राजिल लयमा देखिएको छ । 

गुगलमा ब्राजिलका नेमारलार्इ खाेज्नेकाे संख्या एक अरबभन्दा बढी छ ।

समूहको अन्तिम खेलमा बुधबार ब्राजिलले सर्बियासँग खेल्नेछ । विश्व समाचार संस्था बीबीसीको एक अध्ययनअनुसार गुगलमा सबैभन्दा बढी ब्राजिललाई खोजिएको उल्लेख छ । यसैगरी खोलीमा अर्जेन्टिना दोस्रो, साबिक विजेता जर्मनी तेस्रो र फ्रान्स चौथो टोली बनेका छन् । खेलाडीको रूपमा पनि ब्राजिलका नेमारलाई खोल्नेको संख्या धेरै छ ।

 

नेमारलाई एक अरबभन्दा बढीले खोजेका छन् । गुगलमा अर्जेन्टिनी स्टार लियोनल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, फ्रान्सका केलियन एमबाप्पे, एन्टोइन ग्रिजम्यान, ओउसमाने डिम्बालेलगायत खेलाडीको पनि खुबै ‘सर्च’ गरिएको छ । अन्नपूर्णपाेष्ट दैनिकबाट ।

विश्वकप ब्राजिल

विशेष