खेल मुख्य समाचार

आजको खेलमा मेसीका चुनौती अहमद मुसाबारे जान्नुहोस्

आजको खेलमा मेसीका चुनौती अहमद मुसाबारे जान्नुहोस्

स्ट्राइकर अहमद मुसा जारी विश्वकपमा नाइजेरियन टोलीका महत्वपूर्ण खेलाडी हुन्। शारीरिक तन्दुरुस्ती, बलसँगको गति, खेल कौशल र गोल गर्न सक्ने क्षमताले मुसालाई नाइजेरियन टोलीका महत्वपूर्ण खेलाडीको रूपमा स्थापित गराएको हो। उनी गोलका लागि विश्वासिला खेलाडी पनि हुन्। उनी मैदानमा रहुन्जेल कुनै पनि समय गोल गर्दै टोली अगाडि बढ्न सक्ने सम्भावना रहन्छ।


विश्वकपको पहिलो खेलमा क्रोएसियासँग २–० ले पराजित भएपछि नाइजेरियाको प्रिक्वार्टरफाइनल सम्भावना मुस्किल देखिएको थियो। यद्यपि दोस्रो खेलमा मुसा एक्लैले दुई गोल गर्दै नाइेजेरियालाई आइसल्यान्डविरुद्ध २–० को जित दिलाउँदै प्रिक्वार्टरफाइनल चरण प्रवेशको सम्भावना पनि बलियो बनाए। त्यसैले अर्जेन्टिनासँगको समूहगत चरणको अन्तिम खेलमा पनि मुसाले उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ।

 

अर्जेन्टिनाविरुद्ध मुसाले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन दिएका छन्। सन् २०१४ मा ब्राजिलमा भएको अघिल्लो विश्वकपमा समेत नाइजेरियाले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दा उनै मुसाले सशक्त प्रदर्शन गरेका थिए। समूह ‘एफ’ अन्तर्गतको उक्त खेलमा लियोनल मेसीले अर्जेन्टिनालाई दुई पटक अग्रता दिलाएका थिए। यद्यपि प्रत्येक पटक उनै मुसाले नाइजेरियालाई बराबरीमा फर्काएका थिए। उक्त खेलमा अर्जेन्टिना ३–२ ले विजयी भए पनि मुसाले प्रतियोगितामा आफ्नो अमिट छाप छाडेका थिए।

 

जारी प्रतियोगितामा पनि मुसा लयमा देखिएका छन्। मुसाले चार वर्षअघिको प्रदर्शनलाई दोहोर्‍याउने हो भने नाइजेरियाले यसपटक विश्वकपमा यसअघिको चार भेटमा बेहोरेको पराजयको बदला मात्रै लिने छैन, अर्जेन्टिनालाई समूहगत चरणबाटै घर फर्कन बाध्य पनि बनाउनेछ। लेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आएका २५ वर्षीय मुसाले नाइजेरियाका लागि सन् २०१० यता ७४ खेल खेल्दै १५ गोल गरेका छन्। अन्नपूर्णपाेष्ट दैनिकबाट  ।

विश्वकप अहमद मुसा नाइजेरियन टोली

विशेष