खेल

अन्ततः अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाकाे प्रतिस्पर्धा फ्रान्ससँग

अन्ततः अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाकाे प्रतिस्पर्धा फ्रान्ससँग

काठमाडौँ । लियोनेल मेसी नेतृत्वको अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । नाइजेरियाविरुद्धको जित्नै पर्ने खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेन्टिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । 

 

 यो विश्वकपमा कठिन संघर्ष गरेको अर्जेन्टिनालाई नकआउट चरणमा पुर्‍याउनका लागि कप्तान लियोनेल मेसी र मार्कोस रोहोले गोल गरे । अर्जेन्टिनालाई जिताउने क्रममा मेसीले खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे । मेसीले एभर बनेगाको पासमा खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनालाई विश्वकपको नकआउट चरणमा लैजाने बाटो खोलेका थिए । 

तर, ६६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेको अर्जेन्टिनाले खेलको ५१ औँ मिनेटमा पेनाल्टीको सामना गर्नुपर्यो ।  जाभिएर मास्चेरानोले नाइजेरियाका खेलाडीलाई डी एरियाभित्र तानेर लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भिक्टोर मोसेसले गोल गर्दै बराबरी गरेका थिए । 

 

त्यसपछि निरन्तर आक्रमण बुनेको अर्जेन्टिाले पाभोन र सर्जियो अग्वेरोलाई पनि आक्रमणका लागि मैदानमा उतार्यो । तर अग्रता लिन उसले ८६ औँ मिनेटसम्म पर्खिनुपर्यो । 

 

८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेन्टिनाले राहतको श्वास मात्रै फेरेन, विश्वकपको अन्तिम १६ मा पनि पुग्यो । 

समूहको पहिलो खेलमा आइसल्यान्डविरुद्ध बराबरी खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग पराजित भएपछि नाइजेरियाविरुद्धको अन्तिम खेलमा जित्नै पर्ने दबाबमा थियो । 

 

यतिले मात्रै नपुगेर क्रोएसियाविरुद्धको खेलमा आइसल्यान्ड पराजित वा कम्तिमा बराबरीमा रोकिनु पर्ने बाध्यतामा पनि अर्जेन्टिनालार्इ थियो । अर्जेन्टिनाले चाहे अनुसार क्रोएसियाले पनि आइसल्यान्डलाई २–१ ले पराजित गरिदियो । 

यो अवस्थामा क्रोएसिया समूह चरणका तीनै खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेन्टिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् ।   विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले प्रिक्वाटरफाइनलमा समूह सि को विजेता फ्रान्सको सामाना गर्ने भएको छ । समूह डि को उपविजेता बनेसँगै अर्जेन्टिनाले फ्रान्स प्रतिद्धन्दी पाएको हो ।

विश्वकप फुटबल अर्जेन्टिना  नाइजेरिया  लियोनेल मेसी

विशेष