नेपाल सरकारको ध्यानाकर्षण गराईरहेको छु : अध्यक्ष भट्ट
क्यानडा (टोरोन्टो) । नेपालको संविधान प्रवासी नेपाली मैत्री बनाउन क्यानडामा बसोबास गर्ने नेपालीहरुले आग्रह गरेका छन् । एनआरएन क्यानडाका पदाधिकारीहरुले हालै एनआरएन ग्लोबलका अध्यक्ष भवन भट्टसँगको भेटका क्रममा नेपाल सरकारलाई झक्झक्याइरहन अनुरोध गरेका हुन् ।
प्रवासी नेपालीहरु लागि नेपालमा सम्पत्ति किनबेचको अधिकार, नागरिक सरहको अधिकारलगायत विषय उठाउँदै आएका छन् । क्यानडा भ्रमणमा रहेका एनआरएन ग्लोबलका अध्यक्ष भवन भट्टसँगको एनआरएन क्यानडाका पदाधिकारीले भेटेर कुराकानी गरेका छन् ।
एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले, महासचिव चिरञ्जीवी घिमिरेलगायत पदाधिकारीले भट्टसँग छलफल गरेका थिए । छलफलका क्रममा अध्यक्ष भट्टले नेपाल सरकारसँग आफूले कुरा गरिरहेको र प्रवासी नेपालीको माग पूरा हुनेमा आशावादी रहेको जानकारी दिए ।
नागरिक सरहको अधिकार दिने सवालमा नेपाल सरकारले चाँडै छुट्टै ऐन बनाउनेमा आफू आशावादी रहेको उनले बताए । नेपाल सरकारलाई एनआरएन ग्लोबलको तर्फबाट घचघच्याउने काम भइरहेको उनले बताए ।
नेपालको दुर्गम जिल्ला जुम्लामा सुलभ मूल्यमा एअर एम्बुलेन्स सञ्चालन गर्न एनआरएन ग्लोबलले तयारी गरिरहेको अध्यक्ष भट्टले सो अवसरमा जानकारी दिए । कार्यक्रममा रोटरी क्लब नेपालका प्रतिनिधिहरुको पनि सहभागिता थियो ।