विचार समाज

‘मेलम्ची कता हो कता पत्तो छैन’ 

‘मेलम्ची कता हो कता पत्तो छैन’ 

काठमाडौं । हिन्दू धर्मशास्त्रमा एउटा प्रसंग सदैव स्मरणीय छ, त्यो हो, भगीरथ प्रयत्न । भगीरथ प्रयत्न भन्नाले प्राचीन कालमा राजा भगीरथले पृथ्वीको सतहमा चर्को पानीको अभाव भइरहँदा देवाधिदेव महादेवलाई प्रसन्न गरेर ब्रह्मलोकमा विराजमान गंगामातालाई पृथ्वीमा अवतरण गराएकी थिइन् ।

 

पृथ्वीमा गंगाको अवतरण अगाडि राजा भगीरथले कठोर यत्न, प्रयत्न गरेका थिए । त्यसैलाई भगीरथ प्रयत्न भन्ने गरिन्छ । भगीरथ प्रयत्नको छाप स्वरूप नेपालका ढुंगेधारामा अहिले पनि शंख फुकिरहेको राजा भगीरथको मूर्ति रहेको छ ।   त्यसैले कठोर कोसिस गरेर केही उपलब्धि हासिल भयो भने ‘भगीरथ प्रयत्न’ भन्ने प्रचलन हाम्रो समाज, व्यवहारमा अहिलेसम्म पनि छ ।

 

प्रसंग काठमाडौं उपत्यकावासीको प्यास मेटाउने बहुचर्चित र बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको हो । पञ्चायती व्यवस्थामा श्रीगणेश गरिएको र बहुदल कालका नेता कृष्णप्रसाद भट्टराईको ०४८ सालको चुनावी नारा थियो मेलम्ची । विभिन्न राजनीतिक आरोहअवरोहलाई साक्षात् गर्दै अहिलेको मद्दतिलो दुई तिहाइ सरकारको कालखण्डमा पनि मेलम्चीले पूर्णता पाउने लक्षण देखिएन ।

 

अहिले आएर फेरि आगामी कात्तिक मसान्तभित्र सुन्दरीजलमा मेलम्चीको पानी आउने आशामाथि तुषारापात हुने भएको छ । कारण मेलम्ची आयोजनाका ठेकेदार कम्पनीले आयोजना पूर्णरूपमा सम्पन्न गर्न तीन महिनाको समयावधिलाई  सात महिनासम्म लब्याउन पर्ने माग गरिरहेको बुझिएको छ ।

 

केही दिन अगाडि सरकार र ठेकेदारबीच दाबी र क्षतिपूर्तिको समस्या बल्झिएको थियो । यो समस्याले कहिले निदान पाउला भन्ने कुनै निश्चित छैन । आयोजना र ठेकेदारबीच ठाकठुकका कारण अहिले निर्माण स्थलमा काम ठप्पजस्तै छ ।

 

प्रचण्डकी 'बुहारी मन्त्री'ले आगामी कात्तिकसम्म मेलम्चीको पानी सुन्दरीजलमा प्रवाह गराउने निर्देशन वा सर्तसहितको मार्गदर्शनलाई ठेकेदारले आत्मसात् गरेकै छैन । इटालियन निर्माण कम्पनी सिएमसी दि रेभेनाको म्याद तीन महिनाका लागि थप गरेपनि उसले एकोहोरो ढिपी गरेका छन्, ‘पहिले भूकम्प र नाकाबन्दीको समयमा सहनुपरेको क्षतिको भर्पाइ देऊ र तीन महिने म्याद अपर्याप्त ।’

 

यही विवादमा मेलम्चीले राजा भगीरथको भूमिका अपेक्षा गरेको छ । अब के उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न राजा भगीरथको पुनरावृत्त हुने यज्ञयज्ञादि जप, तप गर्नुपर्ने हो ? सरकारको यही चालालाई ध्यानमा राख्ने हो भने राजा भगीरथको नयाँ संस्करण पनि पुनरोदय हुने पटक्कै छाँट देखिँदैन् ।

 

एकपछि अर्को गर्दै मेलम्ची धकेलिँदै गइरहेको छ । मेलम्चीको पानी आउला र जीवन अलिक सहज होला भन्ने काठमाडौंवासीको आशाले दिनप्रतिदिन सूर्यास्तबाहेक सूर्योदयको सन्देश बोकेर आएको अनुभूत गर्न पाएका छैनन् ।

  
सरकार दाबी गर्छ, खानेपानी तथा सरसफाइ मन्त्रालयमातहतको मेलम्ची खानेपानी आयोजना विकास समिति र निर्माण कम्पनीका उच्चस्थ प्रतिनिधिबीच भएको छलफलपछि निर्माण कम्पनीलाई काम फत्तेह गर्न तीन महिनाको म्याद थप गरिएको हो । 


मेलम्ची आयोजनाका सर्वाधिकारी सूर्यप्रसाद कँडेल जो बारबार वचन फेर्छन् पुनः भन्छन्,  ‘आगामी तिहारसम्ममा मेलम्ची आयोजनाको पानी सुन्दरीजलमा पुर्याउने सर्तसहित निर्माण कम्पनीसँग कुरा मिलेको हो ।’

 

रामजाने कँडेलले कुनबेला फेरि अर्को वचन फेर्ने हुन् काडमाडौंवासीलाई विश्वासै छैन ।  काडमाडौंवासीलाई आश्वस्त पार्न सरकारले काम ढिला भएकोमा निर्माण कम्पनीलाई स्पष्टीकरण स्वरूप बुहारी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेको थियो । पत्राचारपछि सिएमसीका प्रतिनिधि काठमाडौं त आए तर, उही राग आलाप गर्न थाले कि ‘पहिले मेरो क्षतिपूर्ति खोइ र समय अपर्याप्त ?’ 

 

‘लगातारको छलफलपछि निर्माण व्यवसायी कात्तिक मसान्तसम्म सुन्दरीजलमा पानी पथान्तरण गराउन सहमत भएको छ’, कँडेलको भनाइ छ । 
बुहारी मन्त्रीले अनेकन प्रयत्न गरेको देखाउन पत्रकारहरूमाझ कात्तिकसम्मको म्याद थपेको जानकारी त दिइन तर, पछिल्लो सात महिना थप्ने मागका बारेमा  उनी चुपचाप छन् । जतिसुकै क्रान्तिकारी कुरा गरेपनि जहाँ जवाफदेही बन्ने कुरा आउँछ त्यहाँ ‘मिलीभगत’ आकर्षण भइहाल्छ । यो नै नेपालको परम्परागत प्रणाली हो । 


गत चैत २७ गते नै आयोजनाको कुल २७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ भएपछि निर्माण व्यवसायीले काम गर्न आलटाल गर्दै आएको थियो । उसले ‘गोरखा भूकम्प’ र भारतको अघोषित नाकाबन्दीपछि आफूहरूले बढी काम गर्नुपरेको र बाँधस्थल रहेको सिन्धुपाल्चोकको अम्बाथानमा तोकिएभन्दा बढी काम गरेको भन्दै १ अर्ब ६५ करोड थप रकम माग गर्दै आएको थियो । 

 

निर्माण कम्पनीको मागमध्ये परामर्शदाता स्फ्टेसाको सिफारिसमा २८ करोड थप रकम दिइसकेको छ । तर, उसले थप रकम पाउनुपर्ने भन्दै सर्त राखेर सुरुङ मर्मतको काम रोक्दै आएको थियो । कम्पनीलाई सरकारले हालसम्म सात अर्ब ८० करोड भुक्तानी गरिसकेको छ । 

 


पूर्वसहमतिअनुसार कम्पनीले आउँदो साउन मसान्तसम्म सुन्दरीजलमा पानी ल्याउनुपर्ने थियो । तर, लामो समय काम रोकिँदा त्यो म्याद अब सरेर कात्तिक मसान्त पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजना गत वैशाखमा नै सम्पन्न गर्ने लक्ष्य राखिएपनि धकेलिँदै आएको छ । उपत्यकावासीले मेलम्ची फेरि पनि चुनावी मुद्दा बनेको हेर्न नपरोस् बुहारी मन्त्रीलाई यही शुभकामना ।  – मेलम्ची शर्मा, नेपाल आज
 

मेलम्ची खानेपानी आयोजना बीना मगर सिएमसी दि रेभेना कम्पनी उपत्यकावासी

विशेष