‘रवि लामिछानेले दुनियाँलाई चार वर्षदेखि ढाँटिरहेका छन्’ (भिडियोसहित)
न्युज २४ का अनिल जोशी छलफलमा अनुपस्थित भएर आचारसंहिता उल्लंघन गरे

काठमाडौं । नेपाली सञ्चार जगत्मा पछिल्लो पटक नेपाल प्रेस काउन्सिल र सञ्चारकर्मी रवि लामिछानेबीच जुहारी नै चलेको छ । न्युज २४ मा जनतासँग ‘सीधा कुरा’ नामक कार्यक्रम चलाइरहेका लामिछाने र काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठका बारे सामाजिक सञ्जालमा व्यापक खिँचातानी भइरहेको छ ।
लामिछाने पक्षधर केही नागरिकले उनको बचाउ गरिरहेका छन् भने केहीले उनलाई नेपाली कानुन, नीतिनियमको पालना गराउँदै कारबाही गरिनुपर्नेमा आफ्ना धारणा सार्वजनिक गरेका छन् । अहिले यो विषय यत्रतत्र सर्वत्र बहसको विषय बनेको छ । यसै विषयमा केन्द्रित रहेर नेपाल आजले प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग कुराकानी गरेको छ । नेपाल आजसँगको कुराकानीमा अध्यक्ष श्रेष्ठले कार्यक्रम सञ्चालक लामिछाने नेपालमै बसेपनि नेपालको नियम, कानुन र नीतिको परिधिमा रहनुपर्ने बताएका छन् ।
उनले लामिछानेले सरकार, नेपाली जनता र स्वयं आफैँलाई विगत चार वर्षदेखि ढाँटिरहेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले उनको ढाँट प्रवृत्तिलाई काउन्सिलले उजागर गरिदिएको बताए ।
नाता भिसामा अमेरिकाबाट नेपाल आएका मान्छेले नेपालको कानुनअनुसार सम्बन्धित निकायबाट अनुमति नलिएर कुनैपनि काम गर्न नपाउने प्रावधान रहेको अध्यक्ष श्रेष्ठ बताउँछन् । उनका अनुसार लामिछानेले अहिलेसम्म नेपालमा टिभी कार्यक्रम सञ्चालन गर्नका लागि सम्बन्धित निकायबाट वर्क परमिट नलिएकाले उनले नेपालमा कुनैपनि गतिविधि गर्न पाउँदैनन् ।
रवि लामिछाने प्रकरणका बारेमा चरणबद्ध रूपमा काम अघि बढिरहेको उनले जानकारी दिए ।
नेपाल आजको एक जिज्ञासामा अध्यक्ष श्रेष्ठले गैरनागरिक लामिछानेको कार्यक्रमका विषयमा बुझ्न उनले कार्यक्रम सञ्चालन गर्दै आएको न्युज २४ टेलिभिजनका अध्यक्ष अनिल जोशी र समाचार सम्पादकलाई काउन्सिलमा छलफलका लागि बोलाएपनि उनीहरू नआएको बताए । उनले भने, ‘काउन्सिलले बोलाउँदा छलफलमा नआई उक्त संस्थाले आचारसंहिता पालना गरेको छैन ।’
लामिछानेले नेपालमा गैरकानुनी रूपमा बसेर काम गरेको मात्रै नभई उनले गरेको कामबापत कमाएको रुपैयाँको राज्यलाई करसमेत नतिरेको, श्रम इजाजत नलिएको र आम जनताको मनोविज्ञानलाई एकोहोरो बनाएको पनि अध्यक्ष श्रेष्ठले आरोप लगाए ।
एक प्रसंगमा अध्यक्ष श्रेष्ठले श्रीषा कार्की घटनाबारे सूक्ष्म अध्ययन गर्न विश्लेषकहरूलाई आग्रह गर्दै यो घटनामा आफू र ‘जनआस्था’ साप्ताहिक दोषी नभएको दाबी गरे । उनले उक्त घटनामा बेला आफू धरान नगएको जिकिर गर्दै घरानमा कसैले आफूलाई लुकाएर राखेको भन्ने कुरा निराधार र कपोलकल्पित भएको स्पष्ट पारे ।
उनले भने, ‘किशोर श्रेष्ठ प्रेस काउन्सिलको गोठालो हो, यहाँ किशोरले सबै गर्ने होइन काउन्सिलमा एउटा बोर्ड छ, त्यही बोर्डको निर्णय काउन्सिलले कार्यान्वयन गर्ने मात्र हो ।
प्रवृत्ति ठूलो कुरा भएको भन्दै अध्यक्ष श्रेष्ठले आम पत्रकारले आचारसंहिताका साथै राज्यको नीतिनियम पालना गर्नेपर्ने बताए ।