मेनुका भन्छिन् , 'ब्लड लागेको पेन्टी धुन लगाएको आरोप गलत'
बलात्कारमा परिन् तर अहिले यस्तो भयो
रक्षा नेपालको आश्रयमा बस्दै आएकी बलात्कार पीडित पुजा बोहोराले रक्षा नेपालकै विरुद्ध पत्रकार सम्मेलन गरेर विभिन्न आरोप लगाइन् । उनका गम्भीर आरोपबारे रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले पनि प्रतिवाद गरेकी छन् । पुजाले लगाएका एक एक आरोप हामीले मेनुकालाई सोधेका छौं । सार्वजनिक भएको विषय र वास्तविकता के हो ? मेनुका थापाको भनाइको सार निम्नानुसार छ ।
‘२०६८ साल चैत १२ गते महिला आयोगबाट मलाई फोन आयो । एसएलसी दिन गएकी छात्रा बलात्कृत भइन् । उद्धार गरिदिनु पर्यो भन्नु भयो । बलात्कारपछि मानसिक सन्तुलन गुमाएर पाटन अस्पतालमा राखेको भन्ने मैले थाहा पाएँ । त्यो बच्चालाई रक्षा नेपालले उद्धार गर्नु पर्यो भन्नुभयो । म त्यो बच्चालाई हेर्न अस्पताल पुगे । पुजालाई राखिएको कोठाअगाडि एक जना बरखी बार्नुभएको एक बुबा हुनुहुन्थ्यो । म पुगेपछि उहाँले तपाई मेनुका थापा हो ? भनेर सोध्नु भयो । मैले हो भनेँ ।
ती बुबाले मसँग हात जोडेर मेरो छोरीलाई तपाईले मात्रै बचाउन सक्नु हुन्छ बचाइदिनुस भनेर आग्रह गर्नुभयो । उहाँले मलाई न्याय चाहिँदैन, छोरी बाँचे हुन्छ भन्दै थचक्कै भुईँमा बसेर रुनु भएको मलाई झल्झली याद छ ।
पुजालाई एमर्जेन्सी वार्डमा चार हातखुट्टा नै बाँधेरे सुताइएको थियो । मैले नर्सलाई सोधेको किन यसरी बाँधेको ? उनले भनिन्, ‘इन्जेक्सन दिएर दुई घन्टा सुताउँदा मात्रै उनी नियन्त्रणमा हुन्छिन् । नत्र अरुलाई कुट्ने पिट्ने गर्छिन् ।’
पटक पटक इन्जेक्सन दिएर पाटन अस्पतालले पुजालाई अपांग बनाउन लाग्यो भन्ने बाबुको चिन्ता रहेछ । पाटनबाट रक्षा नेपालले छोरीलाई लगिदिओस भन्ने चाहना उहाँको थियो ।
जब म आमाको गर्भमा थिएँ, त्यहि बेला मेरो बुबाको निधन भएको थियो । पुजाको बुबा मेरै बुबाको उमेरको हुनुहुन्थ्यो । उहाँले मेरो अगाडि हात जोडेर गर्नुभएको करुण पुकारले मन छोएको थियो । अनि मैले भने कि ‘तपाई चिन्ता नलिनू । अब जसरी भए पनि पुजालाई हामी बचाउँछौं ।’
त्यसपछि म फर्किएँ । फर्केर आउँदा मलाई ती बुबाले हात जोडेर गरेको अनुनयले मन पोलिरह्यो । एउटा बुढो बाबुले आफ्नो छोरीको प्राण रक्षाका लागि गरेको आग्रह मानसपटलमा घुमिरह्यो ।
भोलिपल्ट फेरि गएँ । डा.मोहनलाल श्रेष्ठसँग कुरा गरेँ । उहाँले पुजालाई अरु ३–४ महिना डिस्चार्ज गर्न नमिल्ने बताउनुभयो । मेरो संस्थाको साथीहरुसँग पनि सल्लाह गरेँ । उहाँहरुले मानसिक रोगीलाई अहिलेसम्म हेरेको छैन भन्नुभयो । एक जना मानसिक रोगीका कारण अरुलाई समस्या हुन सक्थ्यो । त्यही भएर अरु साथीहरुले नल्याऔं भन्नुभयो । तर मैले पुजाको बुवालाई वचन दिइसकेको थिएँ । म धर्मसंकटमा परेँ ।
बुबालाई दिएको भूल्न सकिनँ । यदि मेरो बुबा पनि बाँचेको भए मेरो ज्यानका लागि पनि यस्तै गर्नुहुन्थ्यो होला भन्ने लाग्यो । अनि मैले काउन्सिलर करुणा कुँवरसँग कुराकानी गरेँ । उहाँले अस्पतालमा जति राखे पनि ठीक हुँदैन । औषधि, काउन्सिलिङ र राम्रो व्यवहारले छ महिनामा ठीक पार्न सकिन्छ भन्ने कुरा उहाँले गर्नुभयो ।
करुणा म्याडमको विश्वासका आधारमा मैले पनि अस्पतालबाट पुजालाई ल्याउने अठोट गरेँ । अस्पतालले डिस्चार्ज गर्न मानिरहेको थिएन । यो बच्चाको ज्यान गयो भने तपाईले जेल जानुपर्र्छ पनि भनियो । मैले एउटा बच्चालाई बचाउँदै गर्दा मैले जेल जानुपर्छ भने ‘ओके’ भनेँ ।
पुजाको बुबाले मप्रति गरेको विश्वासलाई मैले हार्न सकिनँ । मैले पुजालाई ल्याएँ । यहाँ ल्याएपछि उनलाई थेग्न गाह्रो भयो । अस्पतालले इन्जेक्सन दिएर सुताउँथ्यो । इन्जेक्सन दिनका लागि हाम्रा मान्छे थिएन । औषधिकै भरमा नियन्त्रण गर्नुपथ्र्यो । औषधिले त नियन्त्रणमा ल्याउन एकदम गाह्रो थियो । उफ्रिने कराउने कुटपिट गर्ने गर्थिन् । चार जनालाई पछारेर भाग्न खोज्ने गरी बल आउँथ्यो उनमा ।
६८ साल चैतमा उनको सामूहिक बलात्कार भएको रहेछ । अस्पतालमा ल्याएको दुई तीन हप्तापछि हाम्रोमा ल्याएका हौं । १४ वर्षको उमेरमा एसएलसी दिँदै गरेको बेला उनीमाथि सामूहिक बलात्कार गरिएको थियो । जो पुरुषलाई देख्दा पनि उहाँले ‘तैं होस बलात्कारी’ भनेर झम्टिने गर्नु हुन्थ्यो । अपराधीहरु पक्राउ परिसकेका थिएनन् ।
उनलाई यहाँ ल्याएपछि भाषाको समस्या पनि भयो । पुजाले बोल्ने सायद डोटेली भाषा हामी बुझ्दैन थियौं । त्यही बेला दार्चुलाको एक नर्स रश्मी राई बहिनी आउनुभयो । उहाँले पुजाले बोलेको बुझ्नु हुन्थ्यो । त्यो बेला धम्की पनि आयो ।
यो केस नहेर्न मलाई धम्की पनि आयो । पुजालाई ल्याएपछि उनको विषय अरु गहिरो हुँदै गयो । जटिल बन्दै गयो ।
रश्मी राईको पनि हामीले सहयोग लिन थाल्यौं । पुजाले भनेको कुराहरु नेपालीमा रुपान्तरण रश्मीले गरिदिनुहुन्थ्यो । खान मन लागेका कुरा, अरुलाई गाली गरेका कुराहरु हामीलाई बुझाउनु हुन्थ्यो । बिहान एक नर्स, बेलुका अर्को नर्स खटाएका थियौं । औषधि चलिरहेको थियो ।
अहिलेसम्म हरेको मध्ये सबैभन्दा गाह्रो केस पनि यहि नै थियो । किनभने मानसिक रुपमा विक्षिप्त भएकाले पुजाको केस जटिल थियो ।
दिन बिराएर करुणा कुँवर आउनु हुन्थ्यो । काउन्सिलिङ गर्नु हुन्थ्यो । सुधार पनि हुँदै गयो । सामान्य अवस्थामा फर्काउन ९ महिना लाग्यो । छ महिना त हामीलाई पाँच छ जना धेरै गाह्रो भयो । छतबाट हाम्फाल्न खोज्ने, तोडफोड गर्ने गर्नु हुन्थ्यो । होसमा नहुँदा भएका घटना थिए ती ।
करुणा कुँवर, कपिलदेव उपाध्यायजस्ता मान्छे हामीसँग भएका कारण हामीले उहाँलाई ठीक पार्यौं ।
पुजाको होस आएपछि जिल्ला अदालत बैतडी गएर बयान दिन सक्नुभयो । रश्मी राईले सहयोग गर्नुभयो । बयान दिएर आएपछि पुजालाई फेरि एसएलसी दिन उत्पे्ररित गर्यौं ।
एसएलसीमा दुईटा विषयको परीक्षा दिएपछि त्यस्तो घटना भएको थियो । त्यो बेला स्वयंसेवा गर्न अमेरिकाबाट लेस्ली ब्राउन भन्ने साथी आउनुभएको थियो । लेस्लीले पुजाको पढाई खर्च सहयोग गर्नुभयो ।
१० कक्षामा प्रथम श्रेणीमा पास पनि हुनुभयो । बीचमा कम्प्युटर, ल्यांग्वेज कक्षा पनि तालिम लिन लगायौं । उद्घोषण तालिममा पनि भर्ना गरिदियौं । त्यस्तै तालिमहरुले नै उहाँमा निखार आएको छ । उहाँले कुनै तालिम लिन नपाएको भन्नु भएको छ । तर रजनी थापाले गर्नुभएको सहयोगले पुजाले विभिन्न तालिम लिनुभएको हो ।
मनोविद् करुणा कुँवरले पुजालाई सधै नै काउन्सिलिङ आवश्यक छ भन्नुभएको छ । पुजा बोहोरा अहिले पनि पूर्ण स्वस्थ हुनुभएको छैन ।
छतबाट हाम्फाल्नबाट रोक्ने, रातभर नसुत्दा संगीत सुनाएर सुताइदिने जस्ता अनेक काम गरियो । मैले भन्दा पनि यहाँका दिदीहरुले गर्नुभयो । तर दिदीहरुविरुद्ध विभिन्न आरोप लगाउनुभयो । त्यसले अलि नराम्रो लागेको छ ।
एकैछिनमा खुसी हुने, एकैछिनमा दुःखी हुने जस्तो व्यवहार गर्नु हुन्थ्यो । बच्चा जस्तो व्यवहार पनि देखउने गर्नुहुन्थ्यो । कपडा लगाउन नमान्ने, बाथरुमा पानीमा भिजिरहन मन पराउने गर्नुहुन्थ्यो । हामी बाहिर हुँदा चुकुल लगाएर ढोका पनि खोल्नु हुन्न थियो । ढोका फुटाएर पनि निकालेका छौं ।
उहाँ आफैंले हिम्मत नबढाएको भए उहाँ रिकभर हुन सक्नु हुँदैन थियो । विक्षिप्त भएपछि पनि ठीक भएर एसएलसीमा त्यति राम्रो गर्नु धेरै राम्रो कुरा हो ।
प्लस टु चाहिँ लैनचौरको आदर्श माविमा पढ्नु भएको हो । त्यो स्कुलमा आग्रह गरेर निःशुल्क पढाइदिन आग्रह गरेँ । स्कुलले मान्यो । ११ र १२ मा निःशुल्क भयो । कापी, कलम र पोसाक हामीले दिन्थ्यौं ।
पुजा बोहोराको इच्छा इञ्जिनियर बन्ने थियो । तर त्यो घटनापछि उहाँले कानुन पढ्ने चाहना राख्नु भयो ।
जसरी पनि कानुन पढ्ने भनेपछि हामीसँग सम्पर्कमा रहनु भएका अधिवक्ता स्वागत नेपालले पढ्नु भएको क्याम्पसमा कुरा गर्यौं । त्यहाँको कलेजको म्याडमले रक्षा नेपालले लेटर लेखेर दिए त निःशुल्क हुन्थ्यो भन्ने कुरा गर्नुभयो ।
तर हामी हम्मेसी लेटर दिँदैनौं । त्यो लेटर बाहिर एक्स्पोज हुँदा भोलिका दिनमा पीडितलाई अरु समस्या हुन्छ । पीडितको गोपनियतामा हामी एकदम सिरियस हुन्छौं । हाम्रो बच्चाको गोपनियता भंग होला भनेर त्यहाँको अनिता म्याडमलाई पैसा तिरेर पढाउन थाल्यौं । महँगो कलेज रहेछ । तर हामीले तिर्यौं ।
७२ सालमा भैचालो गएपछि बसिआएको घर कमजोर भयो । बस्न मिलेन । त्यो बीच हामीले आफैंले जमिन किन्यौं । त्यो ठाउँबाट पुजालाई यहि बसेर दुईटा बस परिवर्तन गरेर जानु पर्ने भयो । एक वर्ष त बस्नु भयो । तर उहाँले होस्टल राखिदिनु पर्यो भन्नुभयो ।
मैले होस्टलमा किन खर्च गर्नु भनेँ । यहाकै दिदीहरुको कोठामा सेयर गरेर बस । उहाँहरुले खाना खुवाइहाल्नु हुन्छ । तिमीले पढ्ने मात्रै हो भनेँ । उहाँको गाउँमा बहिनीको बिहेको कुरा चलेको रहेछ । मैले बहिनीलाई पनि यतै लिएर आउ । एउटा कोठामा बस । बहिनीलाई पनि पढाउने व्यवस्था मिलाउँला भनेँ ।
दिदीहरुसँग रुम सेयर गरेर बस्न त मान्नु भएन । बहिनी पनि ल्याउन मान्नु भएन । बहिनीसँग मिल्न सक्दिन भन्नुभयो । अनि सुरक्षित भरपर्दो एक होस्टलमा राख्यौं । तर केही महिनापछि होस्टलको सञ्चालकले राख्न नसक्ने बताउनु भयो । किन भनेर सोध्दा पुजाले एक्कासि रिसाउने, अरुले फकाउनु पर्ने, जस्तो भयो भन्नुभयो । पुजाकै कारण होस्टलमा तीन जनाले छाडेको बताउनु भयो । पुजालाई कसैले पछ्याएको जस्तो महसुस हुने गरेको पनि बताउनुभयो । डिप्रेसन जस्तो पनि देखियो भन्नुभयो ।
उनीभएसम्म होस्टल सेफ नहुने भन्नुभयो । अनि मैले ठीकै छ । जाउ भनिदिनु भने । मैले फोन गरेर पुजालाई अर्को होस्टल खोज्ने भनेको थिएँ । अर्को सञ्चालकसँग कुरा गरिरहेको थिएँ । मैले पुजालाई यहीँ आउनु भनेँ । यहाँ नै सामान राखेर ठूलो बुबाकोमा गएँ भन्नुभयो ।
उहाँले विभिन्न समयमा यहाँबाट पैसा लैजानु भएको छ । सबै हिसाब हामीसँग छ । उहाँले लगाएको आरोप सही होइन भन्ने मसँग भएका प्रमाणहरुले बोल्छन् । ल्यांग्वेज पढाउन पनि खर्च गरेको हो । खाजा खाने पैसा पनि दिएकै हो । महिनामा तीन हजार खर्च दिन्थ्यौं उहाँलाई ।
उहाँलाई जानेर झुठा खबर केही पनि बाहिर ल्याएको छैन । विशिष्ट श्रेणीमा पास नभएकोलाई मैले विशिष्ट श्रेणी बनाएर प्रचार गरेँ भन्नुभएको छ । उहाँले ल्याउनु भएको ६६ प्रतिशत हो । यो कुन श्रेणी हो मलाइ थाहा भएन । उहाँलाई समस्या नै हुने गरी झुटा खबर ल्याएको होइन । यति धेरै तनावमा भएको मान्छेले यति ल्याएको प्रतिशत मेरो लागि त विशिष्ट होइन महाविशिष्ट हो ।
पुरानो कपडा लगाउन दिएको भन्ने कुरा छ । स्कुलको पोसाक फरक हुन्छ । यहाँ नयाँ पनि पाउनु हुन्छ । दसँै, तिहारमा पनि पाउनु हुन्छ । हामीलाई विभिन्न मानिसले सहयोग गर्छन् । कसैले लत्ता कपडा, दाल, चामल पनि दिन्छन् ।
उहाँले जडौरी कपडा लगाउने हो र म ? भन्ने गर्नु हुन्थ्यो । रजनी थापा जस्ता मोडलहरुले एउटै कपडा पटक पटक लगाउँदैनन् । दुई चार पटक लगाएपछि यहाँ दिनुहुन्छ । यहाँका अरु छोरीहरुले त्यो कपडा लगाउँछन् । तर पुजा बोहोराले लगाउनु हुन्न थियो ।
स्कुल कलेज पढ्दा भ्रमण खर्च दिनु भएन भन्ने पनि आरोप छ । चिसापानी जाने भएपछि हामीले ५ हजार दिएका हौं ।
राती अबेरसम्म भाडा माझ्न लगाएको कुरा के हो भने हामी सबैलाई काम लगाउँछौं । आफूले खाएको थाल माझ्नु पर्छ । ८ वर्ष भन्दामाथिको बच्चाले सबैले पखाल्नु पर्छ । भाँडा माझ्नका लागि चाहिँ बेग्लै मान्छे राखेका छौं । पुजा बोहोराले आफ्नो थाल माझ्नु भएको सही हो । भाँडा माझ्न लगाएको होइन ।
मैले कसैलाई दुव्र्यवहार गरेको छैन । मेरो लागि सबै बराबर हुन् । उहाँलाई विभेद गरेको जस्तो लागेको छ । मैले ल्यापटप, मोबोइलसमेत उहाँहरुलाई दिएको छु । जन्मदिनमा सुन दिएँ काभ्रेकी पुजालाई, उहाँलाई पनि दिएँ ।
मैले पुजाको फेसबुक मोबाइल चलाएको भन्ने कुरा सरासर गलत कुरा हो । फेसबुक इन्टरनेट चलाउन हामी दिन्छौं । मैले उहाँको चलाएको कुरा निराधार हो । त्यो फेसबुकमा कहाँ बाट कहिले कहिले स्टाट्स राखेको हो थाहा हुन्छ । पुजा बोहोराको फेसबुक खोलेर हेरे थाहा हुन्छ ।
पढाईमा ध्यान नदिने अवस्था देख्दा मैले अलिअलि गाली गरेँ होला तर कुटेको छैन । सबैभन्दा बढी माया गरेको मान्छे उहाँ नै हो । नाकमा रगत आउने गरी कुटेको कुरा पनि होइन । नाक फुटाइदिएको भए मेडिकलमा गएर उपचार गरेको भए प्रमाण पनि हुन्थ्यो ।
२०१२ मा कोरियामा गएर मेडल ल्याउनु भयो । मैले मेडल सुरक्षित राखेको हो । लुकाएको होइन । चाहिएको बेला लैजान सक्नु हुन्छ ।
काभ्रेकी पुजा कार्की र मेरो महिनावारी भएको कपडा पुजा बोहोराले धोएको आरोप लगाउनु भएछ । उहाँ ८ महिनासम्म होसमा नहुँदा उहाँको अन्डरगार्मेन्ट यहाँका दिदीबहिनीले धोएका छन् । उहाँले हाम्रो होइन, हामीले उहाँको धोएका छौं । दिसा, पिसाब गराउने, नुहाइदिने गथ्र्यौैैं ।
हामीले त प्याड र पेन्टी नै फाल्ने गथ्र्यो । पछि छोरीहरुले पेन्टी चाहिँ नफालौं भनेपछि फाल्न छाड्यौं ।
मैले कति सम्पत्ति कमाए भन्ने कुरा छानबिन नै गर्नुपर्छ । रक्षा नेपालको सम्पत्ति मेरो हुन्थ्यो भने म करोडपति नै हो । जति पनि संस्थाहरुले जे जे जोड्छन् त्यो राज्यको सम्पत्ति हो । म त सञ्चालन गर्ने वा अपरेटर मात्रै हो । रक्षा नेपालले जोडेको सम्पत्ति हामीले निजी स्वार्थले प्रयोग गर्न पाउँदैनौं ।
बैंकले रक्षा नेपालका लागि ऋण दिन मानेन । त्यो बेला टेन्सन पनि भयो । कसरी ऋण लिने त ? व्यक्तिको नाममा भए ऋण लिन मिल्ने रहेछ । बोर्डका मान्छे कसैले पनि ऋण बोक्न चाहेन । अनि सबैले मेरै नाममा राख्न भन्नुभयो । अनि सम्पत्ति संस्थाको हुने तर नाम चाहिँ मेरो हुने भनेर राखेको हो । अहिले पनि साढे तीन करोड तिर्न बाँकी छ । यो सम्पत्ति संस्थाको हो ।
महिनामा चार लाख ५० हजार तिर्नुपर्छ । व्यक्तिगत रुपमा मैले टाउको दुखाउनु पर्छ । खाद्यान्नका लागि नेपालीहरुले नै सहयोग गर्छन् । साढे पाँच रोपनी जमिन र घरका लागि धेरै लगानी भयो ।
एडवार्ड स्माट भन्ने एक जना बुवा हुनुहुन्छ । नेपाल आउँदा यहाँ आएर एक करोड दिनु भयो । अनि हामीले यो सम्पत्ति जोडेको हो । घरजग्गा ६ करोडभन्दा बढीको हो । धितो त बोर्डका साथीहरुले राख्नु भएको छ ।
सम्पत्ति संस्थाको सम्पत्ति भनेर लेखापरीक्षण भइसकेको छ । यो जमिन, घर मैले फिर्ता गर्नै पर्छ संस्थालाई । मैले नैतिक हिसाबले, कानुनी हिसाबले पनि फिर्ता गर्नुपर्छ । मेरो नाममा भए पनि यो मेरो होइन भन्ने सबै कागजले बोल्छ । यसकारण मैले चाहेर पनि यो आफूले राख्न पाउँदिनँ ।
पुजा बोहोरालाई मैले भन्नु पर्ने खासै केही छैन । तर अहिले किन यस्तो गर्नुभयो अनौठो लागेको छ । कसैले प्रयोग गरेको हो कि जस्तो लागेको छ । थप पढाई र मुद्दा बाँकी छ । अहिलेको कुराले मलाई समस्या हुँदैन । अरुले फेरि पीडा दिने हो कि ? भन्ने चिन्ता छ ।
उहाँलाई खानेबस्ने कसले दिन्छ ? भन्ने प्रश्न पनि छ । अहिले उहाँ मसँग त आउनु हुन्न होला । २३ वर्षको पुजाको जीवन कसरी जोगाउने भन्ने पीर छ । उहाँ कानुन व्यवसायी हुन सक्ने सम्भावना उच्च छ ।
यतिबेला पुजाको संरक्षण हुनु निकै आवश्यक छ । जसरी हुन्छ उनको संरक्षण गरिदिए म ढुक्क हुने थिएँ ।
आइतबारबाट छोरी मेरो सम्पर्कमा छैन । त्यसदिन विहान ११ बजे ‘म कलेजबाट घर फर्कदैँ छु’ भनेर म्यासेज पठाउनुभयो । ‘आमा म सावित्री दिदीको ल फर्ममा छु। हिजो सावित्री दिदीको बाट कलेज गएको थिएँ । आज अफिस बिदा छ कता जाउँ’ भनेर भन्नुभएको थियो । हाम्रो शनिबार कार्यक्रम भएपछि आइतबार अफिस बिदा हुन्छ । उहाँ आइतबार कलेज जानुभयो । मुद्दा हेरिरहेको वकिललाई भेट्न कलेजबाट स्वागत नेपालमा जानुभएछ ।
त्यसपछि घर आउँदै छु भनेर म्यासेज गर्नुभयो । यसरी आउँदा आउँदै उहाँ कसरी प्रहरीको मा पुग्नुभयो । कसरी मिडियाबाट एकैचोटी यस्तो कुरा बाहिर आयो ? यसमा कोही न कोही मान्छेले षड्यन्त्र गरिरहेको छ । यो कुरा मिडियाले नै खोज्दामात्र थाहा हुन्छ ।
पुजाको भविष्य बिगार्न वा मलाई जेल हाल्न कसैले यस्तो गरेको हुनुपर्छ । हामी आमा छोरीलाई जुधाउन खोज्दैमा हाम्रो सम्बन्ध टुट्दैन । हाम्रो भावनात्मक सम्बन्ध छ । बरु चलखेल गर्ने मान्छे को हो छिट्टै पत्ता लागेको हेर्न चाहन्छु ।
छोरीलाई सहजै स्कुल जाने र आउने वातावरण भएको हेनै चाहन्छु । कसले यो चलखेल गर्यो भनेर हामीले अनुमान पनि गरेका छौँ । छोरीलाई बाटोबाट कसले कसरी लग्यो भन्ने कुरा विभिन्न माध्यमद्वारा हामीले थाहा पाइसक्यौँ ।
प्रदीप घिमिरे भन्ने २९ वर्षजतिका एकजना युवकले लगेको भन्ने कुरा थाहा पाएपछि मलाई शंका त्यस मानिसदेखि शंका लागेको हो । प्रदीप घिमिरेले पनि एउटा संस्था खोलेको छ । त्यस संस्थाले पनि रक्षा नेपालले गरेजस्तै काम गर्छ । संस्थालाई हाइलाइटमा ल्याउन र हाम्रो बदमान गर्न उसैले यो चलखेल गरेको हुनुपर्छ । अहिले सम्मको जानकारी पाएसम्म पुजा बोहरा उसैको डेरामा हुनुहुन्छ । यसरी संस्थामा राख्नुको सटृा डेरामा राख्नुको उसको स्वार्थ के हो ?
यसरी डेरामा लगेर राख्न पाइन्छ ?
वास्तवमा प्रदीप बोहरालाई म राम्ररी चिन्दछु । उसलाई केही वर्षअघि मैले सहयोग पनि गरेको हुँ । उसको बहिनीलाई मैले मेरोमा राखेको पनि हुँ । पछि के भयो म बाट किन टाढा भयो त्यो थाहा छैन ।
पुजालाई अब निकै खतरा हुनसक्ने डर छ । यसभन्दा अघि पुजा बोहोरा भन्ने को हो कसैलाई थाहा थिएन । बलात्कारमा परेको पात्र भन्ने मात्र थाहा थियो । तर उहाँको अनुहार कसैले चिन्दैन्थे । अब त सर्वत्र रुपमा उहाँका अनुहार देखिसकेको छ । एक त उहाँ पीडित महिला हुन् । अपराधीहरू बाहिर छन् । अपराधीका सहयोगीहरूबाट पनि जोखिम छ । साथै उहाँको प्रतिद्वन्द्वीबाट पनि जोखिम नै छ । त्यस्तै परिवारलाई जिम्मा नलागाई छापामार शैलीमा आफ्नो डेरामा राख्नेबाट अर्को जोखिम छ । चौतफी रुपबाट खतरा छ ।
म पुजाको भविष्य बर्बाद हुन दिन्न । म सधैँभरी उसको पक्षमा छु । उसलाई माध्यम बनाएर कोही मसँग नखेलोस् । यदि मसँग खेल्नु छ त सीधै मसँग आएर मुकाबिला गरोस् । कसैको भविष्य बिगार्ने काम नगरोस् ।
यहाँ पुजा बोहोरालाई बर्बाद गर्ने एउटा गिरोह नै लागेको छ । आज पुजाको अनुहार सर्वाङ्ग देखिने गरी पत्रिका मिडियामा फोटो आउँदा किन कसैले केही बोलेको छैन । अब १ महिनापछि पुजाको फाइनल परीक्षा आउँदैछ । यस्तो अवस्थामा परीक्षा कसरी दिने ? पुजाले सोचेको छैन कि उहाँको करियर पछि धकेल्लिँदै छ भनेर ।
उहाँलाई फेरि आउनको लागि म अनुरोध गर्दछु । उहाँको मेडलहरू सबै सुरक्षित साथ दराजमा सजाएर राखेको छु । यो लिनका लागि पनि आउनु भन्न चाहन्छु । उहाँले जे भनेपनि अझै म उहाँको संरक्षण गर्न चाहन्छु ।