आइपुग्यो नेपालको आफ्नै वाइडबडी जहाज
काठमाडौँ । नेपाल वायुसेवा निगमले खरीद गरेको वाइडबडी विमान आज काठमाडौँ आइपुगेको छ । एयरबस ए ३३०–२०० सिरिजको ९ एन–एएलवाई कलसाइनको यो जहाज बिहीबार बिहान ८ बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
२०७३ चैत २५ गते अमेरिकन लिजिङ कम्पनि एएआर कर्पोरेशनमार्फत् एयरबस ए ३३०–२०० सिरिजका दुई विमान खरिद सम्झौता भएको थियो । निगमले दुईटा वाइडबडी खरिदका लागि नागरिक लगानी कोष र कर्मचारी संचय कोषबाट नौ प्रतिशत ब्याजमा २४ अर्ब ऋण लिएको हो । संस्थासँग निगमले १५ वर्षको ऋण तिर्ने समय सिमा राखेको छ ।
यो वाइड बडी नेपालको आफ्नै सबैभन्दा ठूलो जहाज हो। २८० सिट क्षमताको यो वाइडबडी जहाजमा सिट फिटिङ गर्दा भने १८ वटा बिजनेस क्लास र २५६ इकोनोमी क्लास सिट राखिएको निगमले जनाएको छ।
पहिलोवाइड बडी ल्याएको एक महिनापछि अर्को वाइड बडी पनि काठमाडौँ आइपुग्ने नेपाल वायु सेवा निगमले जानकारी दिएको छ।
विमानस्थलमा विमान अवतरण गर्दा मंगलधुन र पानीको फोहोराले स्वागत गरिएको थियो। यो जहाज फ्रान्सको तुलुजबाट ९ घण्टाको उडानपछि विमान काठमाडौं अवतरण गरेको हो।
निगमको विज्ञप्ति
नेपाल वायुसेवा निगम वाइडबडी विमान