फोटो पर्यटन समाज प्रदेश १

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

प्रकृतिको अनुपम सौगात प्यारो सोलुखुम्बु 

सोलुखुम्बु कुनै, नयाँ नाम होइन । नौलो गन्तव्य पनि होइन । तर, पुग्नैपर्ने गन्तव्य हो । किन पुग्नै पर्ने हो त ?

 

यसलाई प्रकृतिमा सित्तैमा उपलब्ध अनुपम भू–सौन्दर्य हो भन्न सकिन्छ । जसलाई जति हेरे पनि तपाईंको मन अघाउने पक्कै छैन । यसको भौगोलिक सौन्दर्य र त्यससँगै लय मिलाइरहेको खोला, साथमा चाँदी झैँ टल्केका हिमाल, विशाल घाँसे मैदान, त्यहाँ फूलेका रङबिरंगी लालीगुराँस, आहा कति सुन्दर, कति शान्त ।

सोलुखुम्बु पर्यटनका लागि कहलिएको स्थान हो । साहसिक पदयात्रा गर्नेहरू मात्र होइन, प्रकृतिसँग प्रत्यक्षरूपमा रोहबर हुन लालायितहरू पनि एकचोटी यहाँ पुगे हुन्छ ।

के छ सोलुखुम्बुमा ?


यो प्रश्नलाई यसरी मिलाउन सकिन्छ, के छैन सोलुखुम्बुमा । सोलुखुम्बु जिल्ला, नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलमा अवस्थित हिमाली जिल्लामा पर्दछ । 

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको पहिचान झल्कने विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ । यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध छ । 

यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ । विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधैँ आकर्षित गरिरहेको पाइन्छ । यस जिल्ला पूर्वाञ्चलका सबैभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ । 

यो जिल्लाको प्रमुख गौरवको रूपमा रहेको पर्वतारोहण र दृश्यावलोकनका लागि विश्व प्रसिद्ध छ । उच्च हिमाली क्षेत्र यस प्रदेशमा अन्य हिमशृंखलाहरू पर्दछन् । महालंगुर शृंखलाको शिखर पासाङल्हामू गरी अन्य प्रमुख ९ हिमशिखरहरू यस जिल्लामा रहेका छन् ।

मेरापिक, पिकेडाँडा, कालापत्थर, मौले खर्क, दूधपोखरी, लामचुरा, धर्मपिक, रात्नाङ्गे डाँडाआदि यहाँका महत्वपूर्ण स्थानहरू हुन् । यस क्षेत्रमा बढीजसो भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतयाः यो जिल्लाको हावापानी अन्य जिल्लाको भन्दा निकै चिसो हुन्छ । यस जिल्लाको मध्यपहाडी क्षेत्रमा समशीतोष्ण हावापानी बढी पाइन्छ । 

त्यस्तै जलस्रोतको हिसाबले पनि यो जिल्ला निकै महत्वका रूपमा हेरिन्छ । यस क्षेत्रका प्रमुख नदीनालाहरू दूधकोसी, इङ्खुखोला, सोलुखोला, बेनीखोला, हँगाखोला, चिम्दिङ्गखोला, सिसाखोलाका साथै खुम्बु हिमनदी प्रमुख छन् । मुख्य ताल र कुण्डहरूमा दूधकुण्ड, दूधपोखरी, जालिमपोखरी, पाँचपोखरी र साल्पापोखरी आदि पर्दछन् । जालिमपोखरीलाई किराँतीहरूले  प्रमुख धार्मिक स्थलका रूपमा पनि लिने गरेको पाइन्छ ।

  

के पाइन्छ सोलुखुम्बुमा ?


जिल्लाको अधिकांश भू–भागलाई हेर्दा हावापानीे अत्यन्त राम्रो छ । यस भागमा मकै, कोदो, तोरी आलु एवं फलफूलमा उच्च स्थानमा स्याउ र सुन्तलाखेती गरिन्छ । यस जिल्लाका दूधकोसी लिखु सोलु आदि प्रमुख नदी तथा खोलाहरूको किनारामा धानखेती गरिन्छ ।

खुम्बु तथा वरीपरीका उच्च उपत्यकाहरूमा फापर, उवा, आलु आदिको खेती हुने गर्दछ । शेर्पा जातिको मुख्य बसोबास रहेको यस क्षेत्रमा पर्ने प्रमुख स्थानहरू पर्यटन व्यवसायका लागि अति उपयुक्त मानिन्छ । 

 

कसरी पुग्ने सोलुखुम्बु ?

सोलुखुम्बु क्षेत्र पुग्न धेरै बाटा छन् । तर, जिरी, ओखलढुंगा, खोटाङ र रामेछाप चलन चल्तीमा रहेका बाटाहरू हुन् । सोलुखुम्बु क्षेत्र पुग्नका लागि काठमाडांैबाट सीधै हवाई मार्ग हुँदै फाफ्लु वा लुक्ला पुग्न सकिन्छ अथवा जिप वा बसको माध्यमबाट पनि १० घन्टा लामो यात्रा गरी ओखलढुंगा हुँदै बतासे बजार, अन्त्यमा पातले भएर सल्लेरी बजारको जिरो प्वाइन्टमा पुगिन्छ । 

सोलुखुम्बुदेखि नाम्चे बजार र लुक्लाकोे यात्राका लागि हिँडेर दुई दिनमा पुग्न सकिन्छ । हाल यहाँसम्म पुग्न सडकको विस्तार नभएका कारण साहसिक पदयात्रा नगर्नेहरूका लागि भने अलि कठिन हुन्छ । तर, यदि तपार्इंसँग राम्रै आम्दानी छ भने सीधै फाफ्लु विमानस्थलबाट हेलिकोप्टर चार्टर गरी २०–२५ मिनेटको समयमा लुक्ला पुग्न सकिन्छ । 

 

हेर्नुस् फोटोमा सोलुखुम्बुकाे रमाइला दृष्यहरु 

सोलुखुम्बु सगरमाथा लुक्ला सांग्रिला

विशेष