आज हुने फ्रान्स र अर्जेन्टिनाबीचको खेलबाट एक पूर्वविजेता बाहिरिने
रसिया विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा उपाधि दाबेदार मानिएका फ्रान्स र अर्जेन्टिना एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दै छन् । समूह चरणमा संघर्षपूर्ण खेल खेल्दै नकआउट पुगेको अर्जेन्टिना र पछिल्ला १५ मध्ये एक खेलमा मात्र पराजित भएको फ्रान्सबीचको खेल रोमाञ्चक हुनेछ । दुईबीच एक पूर्वविजेता विश्वकपबाट बाहिरिनेछ ।
४० वर्षपछि विश्वकपमा भिड्दै
विश्वकप फुटबलमा अर्जेन्टिना फ्रान्सविरुद्ध सधैँ हाबी रहँदै आएको छ । विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई दुईपटक पराजित गरेको छ । यसपटक फ्रान्स आफ्नो पुरानो इतिहासलाई अन्त्य गर्न मैदानमा उत्रनेछ । सन् १९३० र १९७८ मा विश्वकपमा अर्जेन्टिनाले फ्रान्सलाई पाखा लगाएको थियो । त्यसयता दुई टिमबीच विश्वकपमा भेट भएको छैन । अर्जेन्टिना र फ्रान्सबीच ४० वर्षपछि आमुन्ने/सामुन्ने हुन लागेको हो । यसकारण फ्रान्स र अर्जेन्टिनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा छ ।
अर्जेन्टिना बलियो
विश्वकप बाहेक मैत्रीपूर्ण तथा अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत अर्जेन्टिनाले फ्रान्समाथि दबाव राखेकोछ । अहिलेसम्म ११ पटक एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा अर्जेन्टिनाले ६ पटक बाजी मारेको छ । फ्रान्सले दुईपटक जितेको छ । तीनपटक दुई टिमबीच बराबरी भएको छ । पछिल्लोपटक २००९ मा एकअर्काविरुद्ध प्रतिस्पर्धा भएको थियो । अर्जेन्टिनाले २–० ले जित निकालेको थियो । अर्जेन्टिनाका लागि पछिल्लो भिडन्तमा लियोनेल मेसीले दोस्रो गोल गरेका थिए ।
संघर्षपूर्ण यात्रा
नकआउट चरणको भिडन्तलाई धेरैले फ्रान्स बलियो टिमका रूपमा व्याख्या गरेका छन् । तर, संघर्षपूर्ण रूपमा समूह चरणबाट नकआउटमा पुगेको अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सुधारिएको प्रदर्शन गरेकाले फ्रान्सलाई हराउन सक्ने सम्भावना उत्तिकै छ । अर्जेन्टिनाका पर्याप्त खेलाडी भए पनि तालमेल नमिल्दा आइसल्यान्डसँग बराबरीमा रोकियो । दोस्रो खेलमा क्रोएसियासँग ३–० को फराकिलो हार नै बेहो-यो ।
त्यसो त फ्रान्सले सहजै समूह चरण पार गरे पनि जितका लागि ठूलो संघर्ष गरेको थियो । फ्रान्सले सुरुवाती खेलमा अस्ट्रेलियाविरुद्ध २–१ को जित निकाल्दा पहिलो गोल पेनल्टीमार्फत सम्भव बनाएको थियो । दोस्रो गोल ८०औँ मिनेटमा आत्मघाती गोलका रूपमा पाएको थियो । पाउल पोग्बाको प्रहारलाई बचाउने क्रममा उपहारका रूपमा पाएको थियो । त्यस्तै, पेरुविरुद्धको दोस्रो खेलमा पनि निकै संघर्षपूर्ण १–० को जित निकाल्यो । तेस्रो खेलमा फ्रान्स डेनमार्कसँग प्रतियोगिताकै पहिलो गोलरहित बराबरी खेल्न बाध्य भएको थियो । नयाँ पत्रिकाबाट ।