बलिउड अभिनेत्री जुही चावलाले काठमाडौंको ‘नांगो तस्बिर’ यसरी सार्वजनिक गरिदिइन् !
काठमाडौं । बलिउड अभिनेत्री जुही चावला यतिबेला काठमाडौं भ्रमणमा छिन् । केही दिनअघि ‘हल्ला नगरिकन’ काठमाडौं आएकी उनको भ्रमण सकिनै लाग्यो ।
काठमाडौं, भक्तपुर, धुलिखेल लगायत ठाउँ भ्रमण गरिसकेकी उनले जाँदाजाँदै काठमाडौंमाथि कसिलो ब्यंग्य गरेकी छन् । ट्वीटरमा एक तस्विर पोस्ट गर्दै उनले काठमाडौंको अस्तव्यस्ततामाथि गतिलो झापड हानेकी हुन् ।
सेतो स सफा ड्रेसमा सजिएकी जुहीले अरु ४ जना महिलाको साथमा रहेको तस्विर पोस्ट गरिन् । जहाँ लेखेकी छन्, ‘जताततै धुलो, फोहोर, ट्राफिक जाम, प्रदुषण’
जुही र उनीसँग भएका ४ महिलाले माक्सले मुख छोपेका छन् । र त्यहाँ जुहीले ‘काठमाडौंका अधिकांश मान्छेहरु धुलोबाट बच्न माक्स लगाउने रहेछन्’भन्ने टिप्पणी गरेकी छन् ।
नेपाल सरकारले विदेशी पर्यटकको लागि भन्दै बेला बेला सरसफाइका कार्यक्रम आयोजना गरे पनि । राजधानीकै वातावरण नाजुक छ । कामठाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले समेत निर्वाचित भएको १ महिनामै काठमाडौं धुलोरहित बनाउने बाचा गरेका थिए ।
आम मानिसले भने सामाजिक संजाल मार्फत तथा भेटेरै मेयरलाई सफा र स्वच्छ वातावरण, व्यवस्थित सडक बनाउन आग्रह गर्दैआएका छन् । मेयर शाक्यले भने कर्मचारीले असहयोग गरेको बताउँदै आएका छन् ।
पर्यटकको रुपमा आएकी बलिउड अभिनेत्री जुही चावलाले भने यसरी आफ्ना करोडौं समर्थक तथा ‘फलोअर्स’माझ अस्तव्यस्त काठमाडौंको नांगो तस्विर सार्वजनिक गरिदिँदा मेयर मात्रै नभएर नेपाल सरकारमाथि नै ब्यंग्य भएको छ ।
यता मेयर शाक्यले काठमाडौं उपत्याका पहिले भन्दा अहिले सफा र स्वच्छ भएको दाबी गरिरहेका छन् । आफू पदमा आएपछि नै सुधार भएको उनको जिकिर छ ।स्थानीयबासीले त केही दिनअघि मात्रै महानगरपालिका कार्यालयमै पुगेर उपमेयर लगायत अधिकारीलाई घाँस ‘उपहार’ दिए ।
काठमाडौंको सडक तथा पर्यावरणीय अवस्था झन नाजुक भएकोमा धेरैको सहमती छ ।
त्यसो त हरेक दिन सामाजिक संजालमा हजारौंको संख्यामा मेयर शाक्य र सरकारलाई यहाँको धुलो, सडक लगायत समस्याबारे टिप्पणी आएपछि प्रधानमन्त्री केपी ओलीले समेत यसबारे चासो देखाएका थिए । मेयर शाक्यलाई उनले भेटेरै राय दिँदा पछिल्लो समय प्रधानमन्त्रीसँगै पनि मेयको सम्बन्ध बिग्रको बुझिएको छ ।
सामान्यतः नेपाल घुम्न आएका विदेशी पर्यटकले नेपालको सौन्दर्यबारे खुब प्रशंसा गर्छन् । बलिउड अभिनेत्री जुही चावलाले भने ठीक उल्टो धुलाम्मे काठामाडौंको नांगो तस्विर सार्वजनिक गरिदिइन् । जसमा नेपाल सरकारको पनि चासो पुग्ला पक्कै । आशा गरौँ, जुहीकाे यस्तो प्रतिक्रियाले अस्तव्यस्त काठमाडौं केही सुधारिएला !
काठमाडौंबारे जुही चावलाको ट्वीट :
जुही चावला काठमाडाैं प्रदुषण