खेल

पीएम कप : एपीएफको शानदार जित, प्रदेश पाँचले प्रदेश तीनलार्इ हरायाे

पीएम कप : एपीएफको शानदार जित, प्रदेश पाँचले प्रदेश तीनलार्इ हरायाे

  
काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा विभागीय टोली एपीएफ विजयी भएको छ ।प्रदेश २ लाई डकवर्थ लुइस नियम अनुसार ९६ रनले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको छ ।

 

कीर्तिपुरको टीयू क्रिकेट मैदानमा भएको खेलमा दुई ब्याट्सम्यानले शतक प्रहार गर्दा टस जितेर ब्याटिङ रोजेको एपीएफले ५० ओभरमा ६ विकेट गुमाउँदै ३३९ रनको विशाल योगफल तयार पारेको थियो । यो योगफल प्रतियोगिताकै सर्वाधिक ठूलो योगफल हो ।

 

यसअघि नेपाल पुलिस क्लबले ३२४ रनको योगफल बनाएको थियो । एपीएफको पारीलाई उकास्नका लागि सुवास खकुरेल र प्रदिप ऐरीले शतक प्रहार गरे । ओपनर सुवासले १०३ रनको योगदान दिँदा प्रदिपले विस्फोटक १५८ रनको योगदान दिए । उनले १३५ बलमा १३ चौका र ८ छक्का प्रहार गरेका थिए ।

 

यस्तै पृथु बास्कोटाले पनि १४ बलमा २९ रनको आक्रामक पारी खेले भने भूवन कार्कीले १६ रन जोडे । एपीएफको झरेको कुल ६ विकेटमध्ये ५ विकेट दिभ्यांशु मल्लिकले लिएका थिए ।

 

३४० रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले १६ ओभरमा बिना विकेटको क्षतिमा ६४ रन बनाएपछि मैदानमा वर्षा भएको थियो । जसका कारण खेल २८ ओभरमा झारियो भने २०२ रनको नयाँ लक्ष्य निर्धारण गरियो ।

 

खेल सुरु भएलगत्तै प्रदेश २ का ब्याट्सम्यान लगातार पवेलियन फर्किए । १७औं ओभरमा नै एपीएफका करण केसीले ओपनर सुरज पेटललाई ३४ रनको व्यक्तिगत स्कोरमा क्याचआट गराए भने त्यसपछि क्रिजमा आएका हसिम अन्सारीलाई डकआउट गरे ।

 

महबुव आलम २ रन बनाएर बसन्त रेग्मीको बलमा एलबीडब्ल्यू भएपछि सौरभ नागवंशी पनि शून्यमै पवेलियन फर्किए । २० औं ओभरमा हरिशंकर शाहलाई बसन्त रेग्मीले बोल्ड गरेपछि पाचौं विकृेट गुमाएको प्रदेश २ ले थप १९ रनका लागि चार विकेट खर्चिँदा १०५ रनमात्र बनाउन सक्यो ।

 

बलिङतर्फ एपीएफका कप्तान बसन्त रेग्मी र करण केसीले ३–३ विकेट लिए । तीन खेलबाट ३ अंक जोडेको एपीएफ सेमिफाइनलमा पुगेको छ । समूहको विजेता र उपविजेताको टुंगो लगाउनका लागि अब एपीएफले यसअघि सेमिफाइनल पुगिसकेको त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ ।

 

प्रदेश पाँच विजयी


मूलपानी मैदानमा भएको खेलमा प्रदेश ५ विजयी भएको छ । वर्षाले प्रभावित खेलमा प्रदेश ५ ले ३ लाई डकवर्थ लुइस नियम अनुसार ३० रनले हरायो । सुरुवाति ब्याटिङ गरेको प्रदेश ३ ले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

 

प्रदेश ३ का लागि भुपेन्द्र थापाले सर्वाधिक ४६ रन जोडे भने अन्यको प्रदर्शन कमजोर रह्यो । बलिङतर्फ लाल अधिकारीले ४ विकेट लिँदा कृष्ण कार्की, सन्दिप सुनार र विक्रम भुषालले २–२ विकेट हात पारे ।

 

१५३ रनको लक्ष्य पछ्याएको प्रदेश ५ ले २०.५ ओभरमा तीन विकेट गुमाउँदै ८९ रन बनाएको थियो । तर पानी परेपछि एक बल पनि चल्न सकेन । डकवर्थ लुइस नियम अनुसार ६० रनको नयाँ लक्ष्य निर्धारण गरियो । जुन प्रदेश ५ ले पार गरिसकेको थियो ।

 

यो जितसँगै प्रदेश ५ ले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तीन खेलबाट उसले ५ अंक बनाएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः

विशेष