खेल

सन्दीप ले अब क्यानडा लिग खेल्ने

सन्दीप ले अब क्यानडा लिग खेल्ने

काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को महिना ग्लोबल टी–२० क्यानडा क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई आइतबार मोन्ट्रिइल टाइगर्सले लिएको हो । उत्तर अमेरिकामा हुन लागेको पहिलो फ्रेन्चाइज प्रतियोगितामा सन्दीपलाई टाइगर्सले छैटौं चरणमा लिएको हो ।

 

श्रीलंकाका तीव्र बलर लासिथ मालिङ्गा मार्की खेलाडी रहेको टाइगर्समा वेस्ट–इन्डिजका सुनील नारिन, श्रीलंकाका थिसारा पेरेरा, पाकिस्तानका मोहम्मद हाफिज, वेस्ट–इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजालगायत खेलाडी छन् । यस प्रतियोगितामा अस्ट्रेलियाका स्टिभ स्मिथ, क्रिस लिन, वेस्ट–इन्डिजका क्रिस गेल, ड्वान ब्राभो, एन्ड्रे रसेल, डारेन सामी, पाकिस्तानका साहिद अफ्रिदी, दक्षिण अफ्रिकाका डेविड मिलरलगायत खेलाडी खेलिरहेका छन् ।

 

ग्लोबल टी–२० क्यानडा लिगमा खेलाडीले पाउने पारिश्रमिकबारे केही खुलाइएको छैन । पहिलो चरणका खेलाडीले ९० हजार अमेरिकी डलर पाउने बताइएको छ । त्यसअनुसार छैटौं चरणमा परेका सन्दीपले ४० हजार डलर पाउनेछन् ।

 

सन्दीपले भर्खर मात्र भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली डेयरडेभिल्सबाट २० लाख भारुमा खेलेका थिए । आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्ने क्रममा सन्दीपले ३ खेलमा ५ विकेट लिएका थिए । शुक्रबार उनले आईसीसी विश्व ११ बाट इंग्ल्यान्डको एतिहासिक लर्डस मैदानमा खेल्दै टवान्टी–२० अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका थिए ।


ग्लोबल टी–२० क्यानडा लिग जुन २८ बाट सुरु भई जुलाई १६ मा समाप्त हुनेछ । सन्दीप क्यानडाबाट नेपाल फर्किएर राष्ट्रिय टोलीको प्रशिक्षणमा रहनेछन् । कान्तिपुरबाट

सन्दीप लामिछाने क्यानडा क्रिकेट लिग

विशेष