कभर स्टोरी अन्तरवार्ता अर्थ भिडियो

विज्ञ पौडेलले भने, पेट्राेलमा एकाधिकार चाहने स्वार्थी समूहकारण नेपाली उपभाेक्ता मारमा (भिडियाे)

विज्ञ पौडेलले भने, पेट्राेलमा एकाधिकार चाहने स्वार्थी समूहकारण नेपाली उपभाेक्ता मारमा (भिडियाे)

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिने प्रशोधन र ढुवानीमा करोडौंको भ्रष्टाचार हुने गरेको खुलासा भएको छ । नेपाल आयल निगम (एनओसी) ले तेस्रो मुलुकबाट कच्चा तेल (क्रुड आयल) खरिद गरेर भारतीय आयल निगम (आइओसी) लाई प्रशोधन गर्न जिम्मा लगाउने गरिन्छ ।

 

कच्चा तेल प्रशोधनको क्रममा उत्पादन हुने सहायक पेट्रोलियम पदार्थ जस्तै एलपिजी ग्यास, ग्रिजका लागि चाहिने कच्चा सामग्री र लुब्रिकेसन मेटेरिएलको कुनै हिसाब किताब नदेखिने निगमका एक अधिकारीले बताएका छन् ।

 

उनले नाम नबताउने सर्तमा नेपाल आजसँग भने, ‘यो खेलमा एक दिनमा चालीस करोडसम्म तलमाथि हुन्छ ।’ उनका अनुसार पेट्रोलियम प्रोडक्टको बाई प्रडक्टको हिसाब किताबलाई जोड्ने हो भने पेट्रोलियम पदार्थको वर्तमान उपभोक्ता मूल्यमा कमी गर्न सहायक सिद्ध हुनेछ ।


एक विज्ञका अनुसार एनओसीले आइओसीसँग गरेको गरेको स्वचालित मूल्य प्रणाली पनि वैज्ञानिक छैन । स्वचालित मूल्य प्रणाली प्रत्येक १५ दिनमा पुनरावलोकन हुने गर्दछ । पुनरावलोकनको १५ दिनको अन्तरालमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निकै तलमाथि हुने गर्दछ ।

 

जसले गर्दा मूल्यको तलमाथिको प्रणालीको लाभ नेपाली उपभोक्ता लिन सकेका छैनन् । यससम्बन्धमा एनओसीका उच्च अधिकारीहरू मौन बस्ने गरेका छन् ।

 

विज्ञहरूका अनुसार तेल ढुवानी र प्रशोधन प्रक्रियाको भ्रष्टाचारमा एनओसीका उच्च अधिकारीलगायत प्रमुख राजनीतिक दलका नेताहरू समेत मतियार बन्ने गरेका छन् । जसले गर्दा नेपाल सरकार नै भ्रष्टाचार गर्ने अनुमतिपत्र प्रदान गर्ने निकाय भएको भ्रम नेपाली उपभोक्तामाझ उत्पन्न भएको छ ।  


लामो समयदेखि नेपाल आयल निगमको एकाधिकारको अन्त्य हुनुपर्ने माग गर्दै आएका तथा नेपाल(चीन पारस्परिक सहयोग समाजका अध्यक्ष प्रेमसागर पौडेलले तेल ढुवानी र प्रशोधनमा चलखेल गर्न रमाएकाहरूले नै चीनबाट पेट्रोलियम पदार्थ आयात गर्न भाँजो हाल्ने प्रपञ्च गरिरहेको बताएका छन् । 


नेपाल आजसँगको एक विशेष अन्तर्वार्तामा पौडेलले भने, नेपाल आयल निगमले युरो ४ को प्रशोधित डिजेल, पेट्रोल वितरण गरिरहेको दाबी गरेता पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

 

किनभने तेल युरो ४ स्तरको हो वा होइन भन्ने परीक्षण गर्ने संयन्त्र हामीसँग उपलब्ध छैन । म सुन्दछु, हाल बजारमा वितरण भइरहेको तेल ९७ ग्रेडको भनिएतापनि सिर्फ ८६ देखि ८७ ग्रेडसम्मको मात्र हुने गर्दछ ।

 

यसरी ग्रेड फरक पर्ना साथ मूल्यमा अन्तर पर्न जान्छ । त्यसकारण निगमको बदमासीलाई सरकारले नै संरक्षण गरिरहेको हो कि भन्ने जनमानसमा भ्रम पर्न गएको छ । यस्ता काम भएको हो वा होइन भन्ने विषयमा सरकारले अनुसन्धान गर्न जरुरी छ ।’  

 
पौडेलका अनुसार तेलको ढुवानी र प्रशोधनमा चलखेल गर्न धूर्त समूहको कलुषित स्वार्थका कारण नै चीनबाट पेट्रोलियम पदार्थ ल्याउन नसकिएको हो । पौडेलले माग गरे, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमा हुने चीन भ्रमणका क्रममा यो विषयले समुचित स्थान पाउनु पर्छ ।’ 

भ्रष्टाचार नेपाल आयल निगम प्रेमसागर पौडेल पेट्रोलियम पदार्थमा प्रशोधन र ढुवानी

विशेष