अर्थ मुख्य समाचार

भ्रमण र सत्कारका निहुँमा ३३ करोड सकिँदै

भ्रमण र सत्कारका निहुँमा ३३ करोड सकिँदै

काठमाडौं । सरकारले आगामी वर्ष (आव) २०७५÷७६ मा भ्रमण तथा सत्कारमा मात्रै कुल  ३३ करोड खर्च गर्ने भएको छ ।बजेटमार्फत विशिष्ट व्यक्तिको भ्रमण तथा सत्कारका नाममा सरकारले सो रकम छुट्ट्याएको हो । चालू आव २०७४÷७५ मा सरकारले उक्त शीर्षकमा कुल  २४ करोड ६३ लाख छुट्ट्याएको थियो । आगामी आवका निम्ति छुट्ट्याएको रकम गतवर्षको तुलनामा करीब एक तिहाइ बढी हो ।

 

बजेटमा भ्रमण तथा सत्कारका लागि तीन शीर्षक दिई रकम छुट्ट्याइएको छ । पहिलो शीर्षकमा ‘विशिष्ट व्यक्तिको भ्रमण खर्च’ नाम दिइएको छ । यो शीर्षकमा चालू आव २०७४÷७५ मा ४ करोड ९८ लाख छुट्ट्याएकोमा अगामी आवको निम्ति बढाएर ६ करोड पुर्‍याइएको छ । त्यस्तै दोस्रो शीर्षकमा‘‘प्रतिनिधिमण्डलको भ्रमण तथा स्वागत’ खर्च छुट्ट्याइएको छ । उक्त शीर्षकमा चालू आवमा १८ करोड छुट्ट्याइएकोमा यसलाई वृद्धि गरी आगामी आवका लागि २२ करोड पुर्‍याइएको छ ।

 

तेस्रो ‘अतिथि सत्कार’ शीर्षकमा सरकारले ५ करोड छुट्ट्याएको छ । सो शीर्षकमा चालू आवमा जम्मा १ करोड ४६ लाख मात्रै छुट्ट्याइएको थियो । यसरी भ्रमण तथा सत्कारका नाममा राज्यले ठूलो रकम खर्च गर्ने देखिन्छ । सरकारले स्रोत अभावको कारण देखाउँदै वित्तीय मितव्ययिता अपनाउने भनिरहेको छ । यसका निम्ति अर्थ मन्त्रालयको प्रस्तावमा नीतिगत मार्गदर्शन मन्त्रिपरिषद्को बैठकले पारित गरिसकेको छ ।

भ्रमण र सत्कारका निहुँमा ३३ करोड सकिँदै

विशेष