मुख्य समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड अब २४ सैं घण्टा खुल्ला,  धमाधम अन्तिम कालोपत्रे

मुग्लिन–नारायणगढ सडकखण्ड अब २४ सैं घण्टा खुल्ला,  धमाधम अन्तिम कालोपत्रे

काठमाडाैं । मुग्लिन–नारायणगढ सडकखण्डको पूरै भाग एक तहको कालोपत्रे सम्पन्न भएको छ । आयोजनाका अनुसार ३३.२ किमि सडक कालोपत्रे भएको हो । सडकखण्ड आयोजनाका अनुसार अब आठ प्रतिशत मात्र काम बाँकी छ ।

केही भागमा दोस्रो र तेस्रो तहको कालोपत्रे तथा सडकमा रेखांकन, विभिन्न संकेत, चिह्न, सूचना बोर्ड राख्ने काम बाँकी छ । बाटोमा प्राविधिक समस्या नभए औसत ३५ मिनेटमा सडकखण्ड पार गर्न सकिने आयोजनाले जनाएको छ । निर्धारित समयभन्दा १४ महिना ढिलो सडक सम्पन्न हुन लागेको हो ।


 २४सै घन्टा खुला
सडक मर्मतका कारण दैनिक दिउँसो बन्द गरिँदै आएको सडक अब भने २४सै घन्टा पूर्ण सञ्चालनमा आउने भएको छ । सडक निर्माणको क्रममा अब सवारी आवतजावतमा समस्या नहुने आयोजनाका इन्जिनियर शिव खनालले बताए ।

कालोपत्रे सम्पन्न हुनुअघि बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म सडक बन्द हुँदै आएको थियो । नियमित गाडी आवतजावतले काम प्रभावित भएपछि निर्माण पक्ष र आयोजनाको आग्रहमा जिल्ला प्रशासन कार्यालय चितवनले दिनको समयमा बन्द गराएको थियो ।


 धमाधम अन्तिम कालोपत्रे
३३ दशमलव २ किलोमिटरमा पहिलो तहको कालोपत्रे सकिइसकेको छ । ३२ दशमलव ७० किलोमिटरमा दोस्रो तहको र १२ दशमलव ७ किलोमिटरमा तेस्रो तहको कालोपत्रे सम्पन्न भएका छन् । सडकखण्डलाई तीनवटा निर्माण कम्पनीले ठेक्का लिएर काम गरेका हुन् । पहिलो खण्ड अन्तर्गत आँपटारी–दासढुंगा खण्डको १० दशमलव ४५ किलोमिटरका लागि बिएलए एससिसी जेभीले काम गर्ने जिम्मा पाएको थियो ।

 

बुडहिल लामा जेभीले जिम्मा पाएको दोस्रो खण्डअन्तर्गतको दासढुंगा–सिमलताल खण्डको १० दशमलव ६९ किलोमिटर तीनै तहको कालोपत्रे सम्पन्न भइसकेको छ । समग्रमा यो खण्डको भौतिक प्रगति ९७ दशमलव ५० प्रतिशत रहेको आयोजनाले जनाएको छ । यसैगरी, सुप्रिम रौताहा जेभीले जिम्मा पाएको सिमलताल–मुग्लिन खण्डको १२ दशमलव १५ किलोमिटर सडकमा पनि पहिलो तहको कालोपत्रे सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

दुई खण्डको तुलनामा यो खण्ड पहिरोको दृष्टिकोणले पनि बढी जोखिमयुक्त मानिन्छ । बाँकी रहेका ठाँउमा दोस्रो र तेस्रो तहको कालोपत्रे गर्ने काम म्याद थप भएमा सोही समयभित्र र म्याद थप नभएमा जरिवाना तिराएर भए पनि सहजै सम्पन्न गर्न सकिने उनले बताए ।

विशेष