समाज

लामोसाँघु–जिरी सडक: काम नगर्ने ठेकेदार पक्राउ

लामोसाँघु–जिरी सडक: काम नगर्ने ठेकेदार पक्राउ

सिन्धुपाल्चोक । सम्झौता अवधि नाघ्दा पनि लामोसाँघु–जिरी सडक स्तरोन्नतिको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । खिम्ती निर्माण कम्पनीका प्रोप्राइटर धर्मराज भण्डारी (भीमसेन) लाई बुधबार चौतारा बजारबाट नियन्त्रणमा लिइएको हो ।

 

उनी करिब चार महिनादेखि काम अलपत्र छाडेर सम्पर्कविहीन थिए । खिम्तीले बलेफी गाउँपालिकाको खाडीचौर बजारदेखि मुढेसम्म २५ किलोमिटर सडकखण्ड स्तरोन्नतिको जिम्मा लिएको थियो ।

 

प्रतिबद्धताअनुसार काम नगरेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । ‘काम नसकी बेपत्ता भएका भण्डारीको खोजी गरिरहेका थियौं,’ उनले भने । निर्माण कम्पनीको लापरबाहीका कारण लामोसाँघु–जिरी सडकखण्डमा सुरुदेखि नै कामले गति लिन सकेको थिएन । खनेर अलपत्र छाडिएपछि सडक अहिले झन् जीर्ण हुन पुगेको छ । एक्जिम बैंक अफ इन्डियाको लगानीमा सरकारले स्तरोन्नति गरिरहेको सडक सम्झौताअनुसार ०७४ असार मसान्तमै तयार भइसक्नुपथ्र्यो ।

 

खाडीचौरदेखि मुढेसम्म सुनौलो खिम्तीको मुख्य जिम्मेवारीमा भारतीय निर्माण कम्पनी हिमाञ्चल र नेपाली कम्पनी गौरीपार्वतीले साझेदारीमा काम गर्दै थिए । खिम्तीले करिब ५० प्रतिशत मात्रै काम सकेको छ । सडकको नबन्दा चरिकोट, जिरी जाने कतिपय यात्रुहरू धुलिखेल, खुर्कोट, मन्थली हुँदै लामो बाटो प्रयोग गर्न बाध्य छन् ।

 

उक्त सडक बने दोलखा, रामेछापदेखि जिल्लाको लिसंखुपाखर गाउँपालिकासम्मका यात्रुलाई सहज हुनेछ । खाडीचौरबाट सुरु हुने दोलखा, चरिकोटसम्मको ५५ किमि सडक निर्माणाधीन अवस्थामा छ ।

 

हिलो र खाल्डाका कारण दिनहुँजसो दुर्घटना र जाम भइरहने गरेको जिल्ला ट्राफिक प्रमुख उपेन्द्र बुढाथोकी सुनाउँछन् । ‘जीर्ण सडककै कारण रातदिन यस्ता घटना भइरहेका छन्,’ उनले भने । क्षतिग्रस्त स्थान मर्मत गरिदिए मात्रै पनि दुर्घटना र जाम कम हुने स्थानीयको भनाइ छ । दुई प्याकेजमा भइरहेको सडक विस्तारको पहिलो खण्ड जिम्मा लिएको ठेकेदार कम्पनीले गत भदौमा एक सातासम्म काम ठप्प पारेको थियो । कान्तिपुर दैनिकबाट ।

लामोसाँघु–जिरी सडक पक्राउ

विशेष