अर्थ मुख्य समाचार समाज संघीय समाचार प्रदेश ६

भेरी बबई डाईभर्सनः ६० प्रतिशत काम अझै अधुरै

भेरी बबई डाईभर्सनः ६० प्रतिशत काम अझै अधुरै

काठमाडौं । निर्माणाधीन अवस्थामा रहेका अधिकांश राष्ट्रिय गौरवका आयोजनामा सन्तोषजनक तरिकाले पनि काम हुन सकेको छैन् । अधिकांशले चालु आर्थिक वर्ष २०७४÷७५ मा बिनियोजन गरेको बजेट नै पूर्णरुपमा खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सन आयोजनाले भने सुरुमा बिनियोजित बजेटको झन्डै चार गुणा बढी खर्च गर्दैछ ।

 

चीनबाट टनेल बोडिङ मेसिन  ल्याएपछि यो आयोजनाको काम उत्साहजनक रुपमा अघि बढेको छ । कुल १२ किलोमिटर सुरुङमध्ये अहिलेसम्म ४ दशमलक ८८ किलोमिटर खनिएको आयोजना प्रमुख शिवकुमार बस्नेत बताउँछन् । उनका अनुसार कात्तिकको अन्तिम साताबाट काम थालेको यो मेसीनले अहिले दैनिक ३५ मिटरसम्म सुरुङ खन्ने गरेको छ । सुरुमा टिबिएमले दैनिक २० मिटर मात्रै खन्ने आंकलन गरिएको थियो । तर, अहिले आकलन गरिएको भन्दा मेसीनले झन्डै दोब्बर बढी सुरुङ खनिरहेको छ ।

 

उनले भने ‘दैनिक ३५ मिटर सुरुङ खन्न सम्भव होला भन्ने हामीले पनि अनुमान पनि गरेका थिएनौं, तर भौगोलिक सहजताका कारण हामीले सोचेभन्दा बढी काम भइसकेको छ ।’ सन् २०२० सम्ममा सुरुङ खनिसक्ने आयोजनाको लक्ष्य छ । मेसिनले सुर्खेतको भेरीगंगा नगरपालिकाको हात्तीखालबाट चिप्लेसम्म सुरुङ खन्नेछ ।

अझै डेढ अर्ब रकम आवश्यक


राष्ट्रिय गौरबका ४ वटा आयोजनामध्ये ३ वटाले चालु आर्थिक वर्षमा बिनियोजन गरेको पूरै रकम पनि खर्च गर्न सकेका छैनन् । तर, भेरी बबई डाइभर्सनमा सुरुमा बिनियोजन गरेको भन्दा चार गुणा रकम खर्च हुने भएको छ । बस्नेतका अनुसार चालु आर्थिक वर्षको बजेटमा सरकारले यो आयोजनाका लागि ८८ करोड बजेट बिनियोजन गरेको थियो । त्यो रकम सकेर आयोजनाले थप २ अर्ब ५ करोड रकम पनि सक्न लागिसकेको छ । आयोजनाका लागि अझै डेढ अर्ब रकम आवश्यक परेको बस्नेत बताउँछन् ।

 

बस्नेतका अनुसार आयोजना सम्पन्न भएपछि बर्दिया र बाँकेको ५१ हजार हेक्टर खेतीयोग्य जमिनलाई सिंचाइ हुनेछ भने ४८ मेगावाट विद्युत उत्पादन गर्ने योजना छ । सिंचाइका लागि सुरुङ खन्ने काम अघि बढे पनि बिजुली उत्पादनका लागि आयोजनाले काम अघि बढाएको छैन । विद्युत्त उत्पादनका लागि चिप्लेमा हेडवर्क्स र हात्तीखालमा पावरहाउस बनाउनुपर्छ । तर, यसका लागि टेण्डरसमेत भएको छैन ।

 

आयोजना प्रमुख बस्नेतले भने, ‘जोखिमयुक्त भाग खनेर सकेपछि जलविद्युतको काम अघि बढाउने सोचमा छौं ।’ अहिले जलविद्युत गृह निर्माणका लागि आयोजनाले टेबल वर्क्समा मात्रै काम गरिरहेको छ । सुरुवातमा १२ अर्ब ६३ करोड लागत अनुमान गरिएकोमा अहिले यस्तो लागत १६ अर्ब ४३ करोड लाग्ने आकलन गरिएको छ । आर्थिक वर्ष ०६८÷६९ मा अगाडि बढाइएको यो आयोजना आर्थिक वर्ष ०७७÷७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

भेरी बबई डाईभर्सन

विशेष