देश

तरकारीमा सिन्डिकेट : ४३४ जना कारवाहीको सूची

तरकारीमा सिन्डिकेट : ४३४ जना कारवाहीको सूची

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा कालिमाटी तरकारी व्यवस्थापन बोर्डले सम्झौताविपरीत काम गर्नेमाथि कारवाही गर्न ४ सय ३४ जना तरकारी व्यवसायीको सूची तयार पारेको छ। बोर्डले तरकारीमा तीनदेखि चार तहको सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारवाही गर्न सूची तयार पारेको हो।

 

कृषिमन्त्री चक्रपाणी खनालका सञ्चार संयोजक बोमलाल गिरीले बिचौलिया र व्यवसायीको सिन्डिकेटलाई तह लगाउन बुधबार नै व्यवस्थापन बोर्डमा मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीलाई अध्यक्षमा सरुवा गरिएको छ। सुवेदीले जिम्मेवारी सम्हालेलगत्तै कृषिमन्त्री खनालको निर्देशनमा कालिमाटी बजारमा बेथिति हटाउन गृहकार्य अघि बढाएका छन्।

 

गत सोमबार कालिमाटी बजारमा कृषिमन्त्री खनालले गरेको स्थलगत निरीक्षण क्रममा तरकारी बेचबिखनमा ठूलो सिन्डिकेट रहेको पत्ता लागेको थियो। सिन्डिकेटको जालो तोड्न मन्त्री खनालले गृहकार्य गरी प्रक्रिया अघि बढाएका हुन्। अनुगमनमा एक जना व्यवसायी १५ वर्षदेखि एउटै स्टलमा अड्डा जमाएर बसेको फेला परेको थियो। एउटा स्टलको मासिक भाडा ८-१० हजार रुपैयाँ कालिमाटी बजारलाई तिर्ने व्यवसायीले त्यही स्टल भाडामा लगाएर मासिक २ लाख रुपैयाँसम्म कमाउने गरेको पनि खुलासा भएको थियो।

 

बोर्डले तयार पारेको सूचीमा कालिमाटी बजारका ३ सय ३८, कालिमाटीको खुद्रातर्फ ८० र बालाजु तरकारी बजारका १६ जना छन्। बोर्डले कालिमाटी बजारको बहुउद्देश्यीय भवनतर्फ २१ र ४६ टहराभित्रका ३ सय १ व्यवसायीमध्ये २ सय ६१, फिस सेडभित्र कार्यरत थोकतर्फ ११ मध्ये ८, सहकारी समूहतर्फ १५ मध्ये १४, माछातर्फ २५ मध्ये २३ जना व्यवसायीलाई सूचीमा राखेको छ।

सिन्डिकेट तरकारी व्यवसायी चक्रपाणी खनाल

विशेष