व्यापार अपराध सुरक्षा मुख्य समाचार

कालिमाटी तरकारी बजारमा चरम बेथिति : ४ सय ३४ जना कारबाहीको सूचीमा 

कालिमाटी तरकारी बजारमा चरम बेथिति : ४ सय ३४ जना कारबाहीको सूचीमा 

काठमाडौं ।  कालिमाटी तरकारी व्यवस्थापन बोर्डले ४ सय ३४ तरकारी व्यवसायीलाई कारबाहीका लागि कालोसूचीमा राखेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको निर्देशनमा सम्झौताविपरीत गरेका यति तरकारी व्यवसायीलाई बोर्डले कालो सूचीमा राखेको हो । बोर्डले तरकारीमा तीनदेखि चार तहको सिन्डिकेट बनाएर चर्को मूल्यमा तरकारी बेच्दै आएका बिचौलिया, व्यवसायी र अत्यधिक मूल्यमा भाडा लगाउने सटर व्यवसायीमाथि कारबाही गर्ने तयारी गरेको बताएको छ । 

 

व्यवस्थापन बोर्डमा मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीलाई अध्यक्षमा सरुवा गरिए लगत्तै बोर्डले कालिमाटी तरकारी बजारको सुधारका लागि यस्तो कारबाहीको प्रक्रिया अघि बढाएको हो ।  गएको सोमबार बजारमा कृषिमन्त्री चक्रपाणि खनालको नेतृत्वमा गएको एक टोलिले गरेको स्थलगत निरीक्षणका बेला तरकारी बेचबिखनमा ठूलो सिण्डिकेट रहेको भेटिएको थियो । 

 

अनुगमनका क्रममा एउटा स्टलको मासिक भाडा १० हजार रुपैयाँ कालिमाटी बजारलाई तिर्ने व्यवसायीले त्यही स्टल भाडामा लगाएर मासिक २ लाख रुपैयाँसम्म कमाउने गरेको पनि पाइएको कृषि मन्त्रालय निकट स्रोतले जनाएको छ । कालिमाटी बजारका ३ सय ३८, कालिमाटीको खुद्रातर्फ ८० र बालाजु तरकारी बजारका १६ जना छन्।

 

बोर्डले कालिमाटी बजारको बहुउद्देश्यीय भवनतर्फ २१ र ४६ टहराभित्रका ३ सय १ व्यवसायीमध्ये २ सय ६१, फिस सेडभित्र कार्यरत थोकतर्फ ११ मध्ये ८, सहकारी समूहतर्फ १५ मध्ये १४, माछातर्फ २५ मध्ये २३ जना व्यवसायीलाई सूचीमा राखेको बोर्डले जानकारी दिएको छ।

 

कालिमाटीमा रहेका २४ टहराभित्रका ३० मध्ये २४ र ३८ टहराभित्रका ४३ मध्ये ८ व्यवसायी पनि बोर्डको कालो सूचीमा परेका छन् । कालिमाटीकै खुद्रा बजारतर्फ ६४ मध्ये ५०, फलफूलतर्फ सबै ९, गोदाम प्रयोजन केजतर्फ २० मध्ये १४, सटरतर्फ १७ मध्ये ७ र अन्य केही व्यवसायीलाई सूचीमा राखेको बोर्डले बताएको छ।

बेथिति व्यवसायी कारबाही कालिमाटी तरकारी

विशेष