खेल मुख्य समाचार

पोर्चुगल उरुग्वेसँग पराजित हुदै विश्वकपबाट बाहिरियो, रोनाल्डो चुके

पोर्चुगल उरुग्वेसँग पराजित हुदै विश्वकपबाट बाहिरियो, रोनाल्डो चुके

एजेन्सी । उरुग्वेसँग पराजित हुदै पोर्चुगल विश्वकप फुटबलको प्रिक्वाटरफाइनलबाट बाहिरिएको छ । उरुग्वे भने पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

 

उरुग्वेको जितमा नायक सावित भए इडिसन काभनी । उनकै दुई गोलमा उरुग्वेले पोर्चुगललाई पराजित गरेको हो । पोर्चुगलको तर्फबाट भने पेपेले १ गोल फर्काएका थिए ।

 

रसियाको सोचीस्थित फिष्ट रंगशालामा खेल सुरु भएको सातौं मिनेटमा नै उरुग्वेले गोल गर्न सफल भयो । उरुग्वेका लागि इडिसन काभनीले लुइस स्वारेजको पासमा हेडर गोल गर्दै पोर्चुगलविरुद्ध १–० गोलको अग्रता दिलाएका थिए ।

 


पहिलो हाफमा उरुग्वे १–० गोलले अघि रहेको थियो । सुरुवाती समयदेखि नै दुबै टिमले आक्रमक खेल खेलेका थिए । खेलको सुरुमै पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले प्रहार गरेको बल उरुग्वेलेका गोलकिपरले बचाएका थिए ।

 

खेलको ५५औं मिनेटमा कर्नर प्रहार बललाई पेपेले हेडर गोल गरेका थिए । उनकै गोलमा पोर्चुगलले उरुग्वेविरुद्ध १–१ गोलको बराबरी बनाएको थियो । काभनीले खेलको ६२औं मिनेटमा गोल गर्दै उरुग्वेलाई २–१ गोलको महत्वपूर्ण अग्रता दिलाएका हुन् ।

 

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले उरुग्वेविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् । एकपछि अर्को आक्रमक खेल खेलेपनि कप्तान रोनाल्डो चुक्न पुगे । बाँकी समयमा गोल हुन नसकेपछि उरुग्वेले पोर्चुगललाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

 

२ पटकको विश्वकप विजेता उरुग्वेले अब क्वाटरफाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यता पराजित पोर्चुगलभने विश्वकप फुटबलदेखि बाहिरिएको छ । 

विश्वकप फुटबल रोनाल्डो पोर्चुगल फिष्ट रंगशाला

विशेष