रोनाल्डोले भने, ‘मलाई थाहा छैन, मेरो भविष्य के हुन्छ’
काठमाडौं । उरुग्वेसँग १–२ गोल अन्तरले पराजित भएपछि पोर्चुगलका क्याप्टेन क्रिष्टियानो रोनाल्डोले आफ्नो भविष्य बारे छलफल गर्ने हालको समय उपयुक्त नरहेको प्रतिक्रिया दिएका छन् ।
उनले पोर्चुगलको भविष्यबारे पनि कुनै टिप्पणी गर्न चाहेनन् । आगामी विश्वकपमा रोनाल्डोको उमेर ३७ वर्ष पुग्नेछ । त्यो बेलासम्म उनी अहिलेको जस्तै खेलिरहन सक्ने नसक्ने अहिले नै भन्न सकिने अवस्था छैन ।
शनिबार राति उरुग्वेसँग स्तब्ध भएपछि फिस्ट रंगशाला छाड्नु अघि उनीसँगको कुराकानीका क्रममा उनले आफ्नो खेल जीवनको अन्त्यबारे कुनै कुरा बताएनन् । कतारमा सन २०२२ मा हुने विश्वकपसम्ममा उनको उमेर ढल्किसक्छ । त्यसअघि नै उनले सन्यास लिने हुन् कि भन्ने आम चासो पनि छ ।
डेलिमेलबाट