खेल मुख्य समाचार

विश्वकपमा अभागी अफ्रिका महादेश, युरोप र अमेरिकी महादेशको दबदबा

विश्वकपमा अभागी अफ्रिका महादेश, युरोप र अमेरिकी महादेशको दबदबा

मस्को । रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलअन्तर्गत शनिबारदेखि नकआउट चरणका खेल सुरु भएको छ । विश्वकपको सफलतासँगै समूह चरणबाट बाहिरिने देशको चर्चा र परिचर्चा भइरहँदा सिंगो महादेश नै बाहिरिएको खबर अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका प्रमुख समाचार बनिरहेका छन् । युरोप र अमेरिकी महादेशको दबदबा देखिएको विश्वकपको नकआउट चरणमा एउटा पनि अफ्रिकी देश अटाउन सकेन ।

 

एसिया माहादेशबाट भने जापानले नकआउट चरणमा स्थान बनाएर साख जोगाएको छ । जापानले अन्तिम १६ मा स्थान बनाउँदा सिंगो अफ्रिका भने अभागी देखिएको छ । अफ्रिका ३६ वर्षपछि पहिलोपटक विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । जापानले फेयर प्लेका आधारमा सेनेगललाई पछि पार्दै नकआउट चरणमा पुग्दा सेनेगल केवल दुईवटा पहेँलो कार्डले स्तब्ध बनेको थियो । समूह चरणबाट बाहिरिनु सेनेगलका लागि ऐतिहासक घटना बन्न पुगेको छ । एसियाली साख जोगाउन जापानलाई भने त्यही कम कार्डले काम गर्‍यो ।

 

सन् १९८२ पछि पहिलोपटक अफ्रिकी मुलुक समूह चरणबाटै घर फर्किएपछि अफ्रिकी मुलुक आइभोरी कोस्टका चर्चित खेलाडी डिडियर ड्रोग्वाले अफ्रिकी देशको खेल स्तर विगतको तुलनामा धेरै खस्किएको बताए । ‘विश्वकपमा अफ्रिकी देशको खेलस्तर पुगेन । हामी पहिलेको भन्दा एक कदम पछाडि छौं । अब अफ्रिकी देशहरूले फुटबल विकासका लागि नयाँ र उचित ढाँचा अपनाउनु पर्छ ।

 

नयाँ योजना र विकासका साथ अगाडि बढेमा अफ्रिकाले युरोपलाई चुनौती दिन पक्कै सक्नेछ’, ४० वर्षीय ड्रोग्वाले भने । खेलको स्तर नपुगेका कारण अफ्रिकी तीन देश इजिप्ट, मोरक्को र ट्युनिसिया समूह चरणको अन्तिम खेलअगाडि नै बाहिरिएको पनि ड्रोग्वाले बताए । ड्रोग्वाले तीनपटक विश्वकप खेलिसकेका छन् ।

 

इजिप्टलाई विश्वकपमा पुर्‍याउने महत्वपूर्ण खेलाडी मोहमद सलाह घाइते हुँदा इजिप्टको प्रदर्शन सोचेजस्तो बन्न सकेन । यसैगरी सेनेगलको हतियारका रूपमा हेरिएका साडियो माने पनि खासै चल्न सकेनन् । नाइजेरियाका लागि अर्जेन्टिनासँगको अन्तिम खेल सुखद रहेन ।

 

अन्तिम खेलमा अर्जेन्टिनासँग २-१ गोलले पराजित भएपछि नाइजेरिया बाहिरिन बाध्य बन्यो । सेनेगलका लागि पनि अन्तिम खेल दुर्भाग्य नै रह्यो । अन्तिम खेलमा कोलम्बियासँग १-० गोलले पराजित भएपछि सेनेगलले जापानसँगै बराबरी चार अंक बनाए पनि दुईवटा पहेँलो कार्ड बढी पाएको आधारमा बाहिरियो ।

 

एसियाबाट सहभागी पाँच देशमध्ये जापान वास्तवमै भाग्यमानी बन्यो । इरान, दक्षिण कोरिया, साउदी अरेबिया र अस्ट्रेलिया पनि समूह चरणबाटै घर फर्किए । नकआउट चरणमा पुग्नेमा युरोपबाट सर्वाधिक १० टोली रहे । उत्तर अमेरिकाबाट सहभागी तीनमध्ये मेक्सिकोले नकआउट यात्रा तय गर्‍यो । दक्षिण अमेरिकाबाट सहभागी पाँच देशमध्ये समूह चरण पार गर्नेमा ब्राजिल, उरुग्वे, अर्जेन्टिना र कोलम्बिया रहे ।

विश्वकप फुटबल नकआउट चरण

विशेष