अपराध सुरक्षा मुख्य समाचार

गढीमाई नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतसहित ५ जना नियन्त्रणमा

गढीमाई नगरपालिकाका मेयर र प्रशासकीय अधिकृतसहित ५ जना नियन्त्रणमा

रौतहट । जिल्ला प्रशासन कार्यालय गौरले मंगलबार गढिमाई नगरपालिकाका मेयरसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । चन्द्रपुर नगरपालिका स्थित होटल हिमालयनबाट मेयर, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल लगायतका कर्मचारीलाई नियन्त्रणमा लिइएको हो ।

 

नगरपालिकाको विभिन्न योजनाको भुक्तानी लगायतको काम होटलमा बसेर गरिरहेको सुचनापछि मेयर श्यामप्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र, नायब सुब्बा करपुरी ठाकुर र कार्यालय सहायक अजयकुमार यादवलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

 

‘नियन्त्रणमा लिइएकाहरुको प्रारम्भिक बयान लिएका छौँ,’ उनले भने,‘विस्तृत विवरण अख्तियारको हेटौडा कार्यालयमा पठाउने छौँ ।’ कर्मचारीलाई तारेखमा छाडे पनि नगरपालिकाको कागजातहरु सबै अख्तियारमा पठाईने उनले जनाए ।

 

नगरप्रमुख यादवले भने लेखापाल मिश्र कार्यालयमा हाजिर नहुने र उनलाई सर्लाहीको बलराबाट बोलाएर कार्यालयकै काम गराउन लागिएको बताए । ‘हामिले कुनै किसिमको अनियमितता गर्न लागेका होइनौँ,’ उनले भने,‘कार्यालय समय अगावै नियम अनुसार नै कार्यालयका कर्मचारीको तलब भत्ता र अन्य काम गर्न बसेका हौँ ।’

 

लेखापाल मिश्र कार्यालयमा हाजिर नभएपछि नगरप्रमुख यादवलाई विभिन्न योजनाको भुक्तानीमा समस्या हुदै आएको थियो । उनले पटक पटक भुक्तानी रोक्न नहुने भन्दै लेखापाल मिश्रलाई बोलाउने गरेका थिए । कार्यालयकै नियमित कामका लागि लेखापाल मिश्रलाई सर्लाहीबाट बोलाएर काम गराउने क्रममा नियन्त्रणमा लिइएको हो ।

गढिमाई नगरपालिका मेयर श्यामप्रसाद यादव

विशेष