आयो नेपाली बजारमा चिनियाँ दाह्वा (भिडियोसहित)
‘विश्वको उत्कृष्ट भिडियो सर्विलेन्स उपकरण लगाऔँ ढुक्क होऔँ’
काठमाडौं । विश्वविख्यात दाह्वा टेक्नोलोजी कम्पनीका नेपालका लागि बिक्री प्रबन्धक रिकीले आफ्नो कम्पनीले उत्पादन गरेका भिडियो सर्भिलेन्स उपकरणहरू विश्वमै उत्कृष्ट रहेको दाबी गरेका छन् ।
नेपाल आजसँगको एक अन्तर्वार्तामा उनले आफ्ना कम्पनीका उत्पादनहरू सुरक्षाका दृष्टिले नेपालका लागि उपयोगी हुने बताए । उनले नेपालमा बर्सेनि पर्यटकहरूको आगमन बढ्दै गइरहेको सन्दर्भमा दाह्वाका सुरक्षासँग सम्बन्धित उत्पादित सामग्रीले राम्रो परिणाम दिने विश्वास व्यक्त गरे ।
रिकीले अन्तर्वार्ताका क्रममा दाह्वा कम्पनी विश्वका ५० मध्ये अन्तर्राष्ट्रिय स्तरका कम्पनीमा तेस्रो श्रेणीमा पर्न सफल भएको बताउँदै उनले आफ्नो कम्पनीमा ६ हजारभन्दा बढी इन्जिनियरहरू गुणवत्तायुक्त सामग्री उत्पादन गर्न कार्यरत रहेको जानकारी दिए ।
उनले १० वर्षको अवधिमा दाह्वाले उपभोक्ताको विश्वास जितेर पब्लिक कम्पनीमा परिणत हुन सफल भएको गर्वको गाथा सुनाए ।
रिकीले नेपालमा आफ्नो उत्पादन सिसि क्यामेरा उपयुक्त हुने यसको बजार राम्रो रहेको आफूहरूको अध्ययन रहेको बताउँदै उनले ठूला सहर, पर्यटक र जनताको घरघरको सुरक्षामा आफ्नो उत्पादनमध्ये सिसि क्यामेराले महत्वपूर्ण सघाउ पुर्याउने उल्लेख गरे ।
उनले आफ्नै कम्पनीको सामान किन प्रयोग गर्दा राम्रो हुने भन्ने विषयमा प्रकाश पार्दै भने, ‘दाह्वाले बर्सेनि कमाउने कुल रकमको धेरैजसो प्रतिशत नयाँ वस्तुको आविष्कार गर्नमा खर्च गर्ने गरिएकाले यस कम्पनीले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू जितिसकेको तथा यसका बेजोडका उत्पादन जस्तै फोके क्यामेरा, प्यानोरोमिक क्यामेरा र फेसियल क्यामेराहरू विश्वमा साँच्चै सर्वोत्कृष्ट छन् ।’
रिकीले भने, ‘नेपाली बजारमा रहेको चिनियाँ उत्पादनको कम्पनीहरू जस्तै होङ्सी, हुवावे र जेटटिईले नेपाली बजारको ठूलो हिस्सा ओगटिसकेको र ती कम्पनीले आफ्नो गुणवत्तासमेत प्रमाणित गरिसकेको सन्दर्भमा नेपाली बजारमा चिनियाँ उत्पादनले विश्वास हासिल गरिसकेकाले दाह्वाका उत्पादित सामानका लागि बजारको समस्या हुने छैन ।’
दाह्वा कम्पनीबाट उत्पादित सामानले सन् २०१६ को ओलम्पिक खेलमा सुरक्षा प्रबन्ध मिलाइसकेको र सन् २०२० मा हुने ह्वाङजाउ सम्मेलन तथा रुसमा जारी विश्वकप २०१८ मासमेत आफ्नो कम्पनीका सामान प्रयुक्त भएकाले दाह्वा भनेको संसारकै राम्रो कम्पनी भएको रिकीको कथन छ ।
उनले नेपाल विकास चरणबाट गुज्रिरहेको अवस्थामा आगामी दिनमा निर्माण हुने स्मार्ट सिटी र इन्टिलिजेन्ट्स हाउसका लागि दाह्वाका उत्पादनले महत्वपूर्ण सहयोग पुर्याउने उल्लेख गर्दै उनले भने, ‘स्मार्ट सिटी र होमका लागि भिडियो सर्विलेन्स सिस्टम, आर्टिफिसियल इन्टिलिजेन्स क्यामेरा र अर्लाम सिस्टमले निश्चिय पनि नेपालीहरूको जीवनशैलीलाई राम्रो र सुदृढ बनाउने छ ।’
अन्तवार्ताको अन्त्यमा रिकीले भने, ‘रसिया वर्ल्ड कपमा दाह्वा कम्पनीका हजारौँ प्रोजेक्टर र अन्य सामानले त्यहाँका जनताको गुणस्तरयुक्त र सुरक्षित जीवनयापन गर्ने चाहनालाई परिपूर्ति गर्न पाएकोमा दाह्वा गौरवान्वित भएको महसुस गर्दछ ।’