मुख्य समाचार स्वास्थ्य

डा. केसी अनशन : चिकित्सक आ–आफ्नो स्वास्थ्य संस्थाबाटै आन्दोलनमा

डा. केसी अनशन : चिकित्सक आ–आफ्नो स्वास्थ्य संस्थाबाटै आन्दोलनमा

काठमाडौं ।  एघार दिनदेखि अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दैे मुलुकभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले बुधबारदेखि आन्दोलन गर्ने भएका छन् ।

 

चिकित्सकको छाता संस्था नेपाल चिकित्सक संघले देशभरिका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आ–आफ्नो स्वास्थ्य संस्थामा बुधबारदेखि विरोध कार्यक्रम संचालन गर्न आव्हान गरेको हो ।

 

चिकित्सकले बिहान एक घण्टा कालोपट्टी बाँधेर धर्ना, र्‍याली लगायतका विरोध कार्यक्रम गर्ने भएका छन् । अर्को निर्णय नगर्दासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट एक घण्टा विरोध कार्यक्रम गरिने संघका महासचिव डा. लोचन कार्कीले बताए ।

 

चिकित्सक संघको कार्यकारिणी समितिका पदाधिकारी, चिकित्सक संघका पूर्वअध्यक्ष, महासचिव, काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पतालका निर्देशक, विभिन्न विशेषज्ञ समाजका अध्यक्षका साथै अन्य सरकारी तथा निजी अस्पतालका चिकित्सकसँग छलफल गरी आन्दोलनमा जाने निर्णय गरिएको हो ।

 

चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले विरोध कार्यक्रम संचालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवाबाहेक सम्पूर्ण स्वास्थ्य संस्था बन्द गर्न बाध्य हुने बताए । चिकित्सकले गर्ने विरोध कार्यक्रमबाट उत्पन्न हुने परिणामप्रति सरकार जिम्मेवार हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ । याे खबर अाजकाे अन्नपुर्णपाेष्ट दैनिकले प्राथमिकताका साथ छापेकाे छ । 

डा.गोविन्द केसी आन्दोलन

विशेष