विश्वकपसँगै खेलाडी किनबेचको चर्चा
लन्डन । जारी विश्वकप समापनतर्फ लम्कँदै गर्दा उपाधिको लागि बचेका अन्तिम टोलीहरूबीच मैदानमा चर्काे प्रतिस्पर्धा छ । उपाधिका लगि हुने चर्काे प्रतिस्पर्धाले समर्थक पनि उत्साही छन् । उपाधिका लागि खेलाडीबीच हुने तँछाडमछाडसँगै यो विश्वकपले अन्तर्राष्ट्रिय क्लब फुटबलमा खेलाडी किनबेचले बजारलाई पनि उत्तिकै तताएको छ ।
विश्वकपमा आफ्नो टोली अघिल्लो चरणबाटै बाहिरिएपछि फुर्सदिला देखिएका खेलाडीहरू नयाँ सिजनका लागि राम्रा क्लबको खोजीमा देखिएका छन् । यसैगरी ठूला क्लबहरू पनि विश्वकपमा खेलाडीको प्रदर्शन र क्षमतामाथि उत्तिकै आँखा लगाएर बसेका छन् । कतिपय खेलाडीले त ठूलो रकम लिएर अनुबन्ध सुरक्षित पनि गरेका छन् । कतिपय खेलाडी भने अझै क्लबहरूसँगको कुराकानीमा व्यस्त छन् ।
यही मेसोमा पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड छाडेर इटालियन क्लब युभेन्टसतर्फ लागेका छन् । रोनाल्डोको टोली पोर्चुगल जारी विश्वकपको प्रिक्वार्टरफाइनल चरणबाटै बाहिरिएको थियो । युरोपको च्याम्पियन टोलीको हैसियतमा विश्वकप खेल्न रुस पुगेको पोर्चुगल दक्षिण अमेरिकी टोली उरुग्वेसँग पराजित हुँदै अन्तिम १६ बाट घर फर्किएको थियो ।
त्यसलगत्तै रोनाल्डो आफूले झन्डै नौ वर्ष बिताउँदा प्रशस्तै सफलता हात पारेको क्लब रियल छाडेर युभेन्टस जाने योजनामा व्यस्त भए । निरन्तरको छलफलपछि उनले युभेन्टससँग आगामी चार वर्षका लागि नयाँ सम्झौता गरेका छन् । रोनाल्डोलाई युभेन्टससँगको सम्झौता सम्भव बनाउन दुई क्लबले ११ करोड २० लाख युरोको सम्झौता गरेका छन् । रियल म्याड्रिडबाट पछिल्लो पाँच सिजनमा चार र पछिल्लो तीन सिजन लगातार युरोपियन च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डो पाँच पटकका फिफा वर्ष खेलाडी पनि हुन् ।
यसैगरी विश्वकपमा आफ्नो टोली क्वार्टरफाइनल चरणबाटै बाहिरिएपछि घर फर्किएका ब्राजिलियन मिडफिल्डर पाउलिन्हो चिनियाँ सुपरलिग क्लब गोन्जाउ एभरगाडतर्फ लागेका छन् । गत सिजन बार्सिलोनासँग आबद्ध भएका पाउलिन्हो आफ्नो पूर्वक्लब एभरगाड फर्किएका हुन् । २९ वर्षीय मिडफिल्डर पाउलिन्होलाई बार्सिलोनाले ४० मिलियन युरोमा चार वर्षका लागि अनुबन्ध गरेको थियो । तर, पाउलिन्होले एक सिजन मात्र बार्सिलोनामा बिताए । बार्सिलोनाबाट पाउलिन्होले यो सिजन ला लिगा र कोपा डेल रेको उपाधि जिते ।
नेमारलाई पेरिस सेन्ट जर्मेन (पीएसजी) मा बेचेलगत्तै बार्सिलोनाले उनकै देशका पाउलिन्हो भित्र्याएको थियो । यता रोनाल्डोलाई बेचेपछि रियलले उनको स्थानमा जारी विश्वकपमा चलेकै खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । त्यसका लागि उसले फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पे र ब्राजिलियन नेमारलाई भित्र्याउने इच्छा देखाएको छ । यी दुवै खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का हुन् ।
रियलको आँखा इङ्लिस क्लब लिभरपुलका इजिप्सियन खेलाडी मोहम्मद सलाहमाथि पनि परेको छ । आफ्नो टोली विश्वकपबाट बाहिरिसकेकाले सलाह र नेमार फुर्सदमा छन् । एमबाप्पेको टोली फ्रान्स भने जारी विश्वकपको फाइनलमा पुगेको छ ।
यसका साथै अन्य धेरै खेलाडी पनि क्लब फुटबलको नयाँ सिजन सुरु हुनै लाग्दा नयाँ क्लबसँग अनुबन्धका लागि प्रयास गरिरहेका छन् । जारी विश्वकपमा ३२ देशका सात सय ३६ खेलाडीले सहभागिता जनाएका छन् । त्यसमध्ये बुधबारसम्म तीन देशका गरी ६९ खेलाडी मात्रै अझै प्रतिस्पर्धामा जुटिरहेका छन् । प्रतियोगिताको उपाधि होडबाट बाहिरिइसकेका ६ सय ६७ खेलाडीले पनि आफूसँग आएको राम्रा प्रस्तावमाथि छलफल गरिरहेका हुन सक्छन् । प्रतियोगितामा टिकिरहुन्जेल यी ६९ खेलाडीका लागि भने नयाँ क्लबसँगको अनुबन्ध प्रयास केही ढिला हुने निश्चित देखिएको छ ।
विश्वकप फुटबल