स्वास्थ्य

आज माइतीघरमा ओपिडी सेवा, आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी

आज माइतीघरमा ओपिडी सेवा, आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी

काठमाडौं । जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा आन्दोलनमा उत्रेका चिकित्सकहरूले शुक्रबार बिहान १० बजेदेखि माइतीघरमा बहिरंग सेवा (ओपिडी) चलाउने भएका छन् । 

त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सक र इन्टर्न डाक्टरहरूको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडिए) ले शुक्रबार बिहानदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने यसअघि घोषणा गरिसकेको छ । एसोसिएसन डा. सुमित पाण्डेका अनुसार माइतीघरमा १० बजेदेखि ओपिडी सेवा सुरु हुन्छ । 


एसोसिएसनका अध्यक्ष डा.पाण्डे र सचिव डा. विश्वराज तिमल्सिनाले विज्ञप्तिमा १३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनाले आफूहरूलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ । एसोसिएसनमा ३ सयभन्दा बढी आवासीय चिकित्सक आबद्ध छन् ।

एसोसिएसनले धेरै दिनदेखि धैर्य गरेर कालोपट्टी बाँध्नेलगायत विरोधका कार्यक्रम गर्दा सरकारले नसुनेपछि कठोर कदम चाल्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । हडतालबाट हुने असुविधा तथा क्षतिको जिम्मेवार सरकार आफैँ रहने विज्ञप्तिमा उल्लेख छ ।

 

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका चिकित्सक एवं पेसाकर्मीले बुधबारैदेखि देशभरका स्वास्थ्य संस्थामा एक घन्टा सेवा छाडेर धर्नाको

कार्यक्रम जारी राखेका छन् । संघले सरकार तत्काल संवेदनशील नभए देशभर सेवा ठप्प पार्ने चेतावनी दिँदै आएको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यसंस्थामा कुनै किसिमका बन्द, हडताल, घेराउ, प्रदर्शनजस्ता कार्य नगर्न स्वास्थ्यकर्मीलाई चेतावनी दिएको छ ।

 

मन्त्रालयले देशमा बाढीपहिरो, सरुवा तथा संक्रामक रोगहरूले प्रभावित गर्ने समय भएको भन्दै देशभरका स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई नियमित रूपमा कामकाजमा खट्नसमेत निर्देशन दिएको छ ।

 

मन्त्रालयका सहसचिव मधुसूदन बुर्लाकोटीद्वारा हस्ताक्षरित सूचनामा अस्पतालभित्र बन्द, हडताल, घेराउ गरेगराएको पाइएमा त्यसमा संलग्न स्वास्थ्यकर्मीलाई आवश्यक सेवा सञ्चालन एन २०१४ को दफा ३ उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गरिने उल्लेख छ ।


डा. केसीका समर्थकले मेडिकल कलेज सञ्चालकको प्रभावमा परेर चिकित्सा शिक्षा विधेयकलाई माथेमा कार्यदलको प्रतिवेदनविपरीत पारित गर्न खोजेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक केजी मार्सी चामल उपहार दिन खोजे तर, बुझाउन पाएनन् ।

केही दिनअघि झापाको बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंको घरमा प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले मार्सी चामलको भात खाइरहेको तस्बिर सार्वजनिक भएको थियो ।

 

पछि सरकारले चिकित्सा शिक्षा विधेयक प्रसाईंको कलेजलाई सम्बन्धन दिन सहज हुनेगरी संसद्मा पेस गरेको थियो । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीबार १ किलो मार्सी चामल पु¥याउन गएको डा. केसी एलाइन्सका प्रितम सुवेदीले जानकारी दिए ।

 

धर्नामा सहभागीले ‘प्रधानमन्त्रीज्यू, जुम्लाको चामल त खानुभो, अब जुम्लामा एमबिबिएस पढाइ कहिलेदेखि हुन्छ, म रैती हैन, सार्वभौम नागरिक हुँ, माफियामुखी ऐन चाहिँदैन्’ जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए ।

डा. गोविन्द केसी अनशन त्रिवि शिक्षण अस्पताल आवासीय चिकित्सक

विशेष