भिडियो कर्पोरेट

नेपाल टेलिकममा भाँडभैलो, कर्मचारीको आन्दोलन जारी (भिडियोसहित)

नेपाल टेलिकममा भाँडभैलो, कर्मचारीको आन्दोलन जारी (भिडियोसहित)

काठमाडौं ।  नेपाल टेलिकममा व्याप्त अनियमितता एवं नीतिगत भ्रष्टाचारको अन्त्यका लागि संघर्षरत् नेपाल टेलिकम वर्कर्स युनियनले आफ्नो वार्षिकोत्सवलाई  संघर्षका रूपमा मनाउने निर्णय गरेको छ ।

 

युनियनका अनुसार आगामी साउन ६ गते युनियनको वार्षिकोत्सव परेको छ । युनियनले नेपाल टेलिकमका व्यवस्थापनसमक्ष १० एम जिएसएम, युएमटिएस, २ एम आइपिसिएमए, सिआरबिटी, इआरपि, वाइम्याक्सलगायत अन्य योजनाहरू सम्झौता दस्तावेजमा उल्लेखित मापदण्डअनुसार सञ्चालनमा रहेको नरहेको अनुगमन गरी ध्यानाकर्षण गराएका थिए ।

 

गत असार २० गते कम्पनीको मुख्य आयस्रोतमा रहेको डाटा सेवाको विस्तार र वितरणलाई उच्च प्राथमिकता दिई डाटा व्यापार प्रवर्धन गर्न एडिएसएल तथा कपर नेतवर्कलाई सुधार गर्दै एफटिटिएच नेटवर्कले प्रतिस्थापन गर्न राखेको मुख्य मागलाई व्यवस्थापनले हालसम्म उपेक्षा गरेको युनियनले जनाएको छ । 


युनियनका अनुसार एडिएसएल सेवाको खस्कँदो अवस्था तथा सो सेवाको विकल्पको रूपमा सुरु गरिएको एफटिटिएच सेवाको विस्तार सुस्त गतिमा हुनु टेलिकम व्यवस्थापनको नियत भएको छ । 


केही दिन अगाडि युनियनको तर्फबाट राखिएका मागका सम्बन्धमा टेलिकम व्यवस्थापनले ‘आधिकारिक युनियनमार्फत वार्ता गर्न आऊ’ भन्ने झारा टार्ने खालको एउटा चिठी पठाउनेबाहेक अन्य काम नभएको संघर्षरत् युनियनले जनाएको छ । 


उता आधिकारिक युनियनका पदाधिकारीहरूले भने वर्कर्स युनियनले राखेका मागमाथि छलफल गर्न तयार भएपनि समग्रमा व्यवस्थापनको प्रवक्ता बन्न नसकिने हुनाले व्यवस्थापनसँग वार्ता गर्नुको कुनै औचित्य नहुने निष्कर्ष निकालेको बताइन्छ ।




युनियनका अनुसार करिब डेढ वर्षअघि काठमाडौं र पोखराबाट सुरु गरिएको फोर जी, एलटिई सेवा विस्तार र वितरण गर्न गरिएको टेलिकम कर्मचारीहरूको आग्रहलाई कम्पनीका व्यवस्थापन प्रमुख कामिनी राजभण्डारीले लत्याएका छन् । 


स्रोतका अनुसार टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारीले संस्थाको वकालत गर्नुभन्दा पनि ‘मलाई मन्त्रीजीले १५ बुँदे कार्ययोजना दिनुभएको छ । त्यसलाई कार्यान्वयन गर्ने हो । म तपाईंहरूको कर्मचारी होइन, म त सरकारले नियुक्त गरेको मान्छे हुँ, तपाईंहरूका मागका सम्बन्धमा मलाई मतलब छैन’ भन्ने गैरजिम्मेवार जवाफ दिने गरेको छ ।

    
स्मरणीय छ, राजभण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा केही महिना अगाडि बोलाएर आफ्नो रबर स्टायम्प बनेर काम नगरे जागिरबाट निकालिदिने धम्की दिएपछि राजभण्डारी दिन प्रतिदिन गाढा ‘सूर्य छाप’ बन्दै गएको टेलिकमका कर्मचारीहरूको ठम्याइ छ ।

   
चालू आर्थिक वर्षमा १ लाख एफटिटिएच वितरण लक्ष्य राखिएकोमा ५ प्रतिशत मात्र लक्ष्य पुगेकोमा सो जिम्मेवारी पनि व्यवस्थापनले लिनुपर्ने युनियनको भनाइ छ ।

 

यस्तै टेलिकम सेवा सञ्चालनका लागि सहयोगी परियोजनाहरू सिआरटिबी, सिएस, एनओसि, आइएमएसलगायत समयमा खरिद प्रक्रिया नगरिएको, खरिद गरिएका जडान नहुनु, जडान भएका पूर्ण क्षमतामा सञ्चालन नहुनु सिस्टमहरू टेलिकमकै प्राविधिकहरूबाट सञ्चालन गर्ने अवस्था सिर्जना नहुनु र प्रfविधिक रूपमा भरपर्दो गरी सञ्चालन हुन नसकेको विषय टेलिकम व्यवस्थापनको कमजोरीको रूपमा लिइन्छ ।  


युुनियनले सञ्चालक समिति तथा कम्पनी व्यवस्थापनको अकर्मण्यता र उदासीनताले नेपाली जनताको नासोको रूपमा रहेको नेपाल टेलिकममा निकट भविष्यमा संकटमा पर्ने विश्लेषणसमेत गरेको छ ।

 
यसैबीच नेपाल कम्युनिस्ट पार्टी (विप्लव) स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओलीले केही दिन अगाडि नेपाल आजलाई दिएको एक अन्तर्वार्तामा नेपाल टेलिकमका उच्च तहका कर्मचारीले टेलिकमलाई डुबाउने नियत राखेर एनसेलका लागि काम गरिरहेको आरोप लगाएका थिए । 



उनले राष्ट्रिय पुँजीको संस्थालाई धराशायी पार्न एनसेललाई सहयोग गरेको भन्ने आफ्नो पार्टीले सुनेको त्यसको अनुसन्धान गरिरहेको बताएका थिए ।    
 

Nepal Telecom Hemanta Prakash oli Rajan Parsad Dahal Kamini Rajbhandari

विशेष