व्यापार Breaking News अर्थ मुख्य समाचार संघीय समाचार

मुलुकभर दर्जनौं रेलमार्ग निर्माण विशेष प्राथमिकतामा

मुलुकभर दर्जनौं  रेलमार्ग निर्माण विशेष प्राथमिकतामा

काठमाडौं । सरकारले एक दर्जनभन्दा बढी आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माणलाई विशेष प्राथमकिता राखेको छ । 
काठमाडौं उपत्यकाभित्रको मेट्रो रेलदेखि पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं– रक्सौल रेलमार्गलगायत प्रमुख प्राथमिकतामा छन् । 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार बर्दिबास–सिमरा खण्डको कुल १ सय ८ किलोमिटर रेलमार्गमध्ये हालसम्म २७ किलोमिटर खण्डमा निर्माण सकिने क्रममा छ । सो मार्गमा ५८ लाख ५२ हजार ४ सय ६१ घनमिटर पुर्ने काम सम्पन्न भइसकेको छ । बाँकी ४० किलोमिटर रेलमार्गको निर्माण पनि आर्थिक वर्ष २०७५÷७६ भित्रै सुरु गर्ने लक्ष्य राखिएको छ । सो रेलमार्ग निर्माण गर्न ७० अर्ब ९७ करोड ९३ लाख ५९ हजार आवश्यक पर्छ । 

 

सो रेलमार्गको चार हजार ६ सय ३४ मिटर बराबरको पुल निर्माण सम्पन्न भएको छ, कल्भर्ट र जनावर मार्ग २ सय ४० वटा र विद्युतीय संकेत प्रणालीसमेत जडान भएको छ । सिमरा–बर्दिबास खण्डका ८ पुलको ठेक्का सम्झौता भएको र दुई पुलको ठेक्का मूल्यांकनको चरणमा छ । 

 

यस्तै जयनगरदेखि विजलापुरा ५२ किलोमिटर खण्डमा निर्माण चालू छ । सो रेलमार्गको जनकपुर–कुर्था खण्डको ३५ किलोमिटर खण्ड आगामी मंसिर अन्तिम सातासम्म सञ्चालनमा आउनेछ । जोगबनी–विराटनगर रेल आयोजनाको बथनाहा–विराटनगर भन्सार खण्डको ८ किलोमिटर रेलमार्ग सन् २०१९ भित्रै स्म्पन्न गर्ने लक्ष्य राखिएको छ । विराटनगर स्टेसन क्षेत्रको मुआब्जा विवाद अदालतमा विचाराधीन रहेकाले निर्णय हुन सकेको छैन । यस्तै भैरहवा र नेपालगन्जमा पनि रेलमार्ग निर्माणको काम सुरु भएको छ । रेलमार्गका लागि आवश्यक पर्ने बजेटको तुलनामा कम मात्रै बजेट प्राप्त भएका कारण निर्माणमा समस्या देखिएको छ । 

 

मन्त्रालयका अनुसार मेची महाकाली विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको क्रममा छ । काँकडभिट्टादेखि बुटवल खण्डसम्मको डिपिआर तयारी भइसकेको र बाँकी खण्डको छिट्टै तयार हुनेछ । सो रेलमार्ग ९ सय ४५ किलोमिटर लामो छ । बुटवल गड्डाचौकीखण्डको ६ सय १९ किलोमिटरको डिपिआर ८० प्रतिशत सम्पन्न भएको छ । 

 

यस्तै काठमाडौं–वीरगन्ज रेलमार्गको अध्ययन जारी छ । सो रेलमार्ग १ सय किलोमिटर हुनेछ । केरुङ– काठमाडौं– पोखरा–लुम्बिनी रेलमार्गको पनि प्रारम्भिक अध्ययन भएको छ । सो रेलमार्गको लम्बाइ कुल ३ सय ९५ किलोमिटर हुनेछ । यस्तै निजगढ–हेटौंडा–भरतपुर रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ । १ सय ३६ किलोमिटरको सो रेलमार्गलाई वैकल्पिक रेलमार्गका रूपमा लिइएको छ । 

 

काठमाडौं उपत्यका मेट्रोरेलको पनि डिपिआर तयारीका क्रममा रहेको र सो परियोजना लगानी बोर्डले संयोजन गरिरहेको छ । निजगढ– हेटौंडा– भरतपुर रेलमार्ग सम्भाव्यता अध्ययन र डिपिआर तयारीका लागि परामर्शदाता छनोटको चरणमा छ । सो मार्ग १ सय ३७ किलोमिटर रहनेछ । 
 

आन्तरिक तथा अन्तरदेशीय रेलमार्ग निर्माण

विशेष