मुख्य समाचार स्वास्थ्य

अब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै कलेजो प्रत्यारोपण गरिने

अब त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै कलेजो प्रत्यारोपण गरिने

काठमाडौं।  त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कलेजो प्रत्यारोपण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । यसअघि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले दुई वर्षअघि कलेजो प्रत्यारोपण सेवा सुरु गरेको थियो ।

 

कलेजो प्रत्यारोपणका लागि एघार करोडको लागतमा अत्याधुनिक पोस्ट अपरेटिभ आइसीयु निर्माण भइसकेको छ ।


सेवा सुरु गर्न त्रिवि शिक्षण अस्पतालले ग्यास्ट्रोइन्टेस्टाइनल हेपाटोविलियरी प्याङक्रियाटीक एण्ड लिभर ट्रान्सप्लान्ट सर्जन डा.रमेशसिंह भण्डारी नेतृत्वको चिकित्सकीय टोली तयारी अवस्थामा राखेको छ । 


अस्ट्रेलियाबाट प्रत्यारोपणमा दुई वर्षे तालिम लिएका भण्डारीसहित डा.अमित श्रेष्ठ, डा.सुवाश आचार्यलगायतको समूहले कलेजो प्रत्यारोपण गर्ने अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.दीपकप्रकाश महराले जानकारी दिए ।


प्रत्यारोपण सेवा सुरु गर्न झण्डै २२ जनाको टोली तयारी अवस्थामा छ । उनीहरूले अष्ट्रेलिया, अमेरिका र भारतबाट तालिम लिइसकेका छन् ।


कार्यकारी निर्देशक डा.महराका अनुसार प्रत्यारोपण गर्न चाहने २०-२२ जना बिरामी आइसकेका छन् ।


भारत, सिंगापुर र अष्ट्रेलियाका विशेषज्ञको प्राविधिक सहयोगमा नेपाली सर्जनले प्रत्यारोपण गर्ने छन् । यसका लागि ती देशसँग समन्वय भइरहेको छ । 


करिब १५ जना बिरामीको कलेजो प्रत्यारोपण गर्दा विदेशीको सहयोग लिने योजना शिक्षण अस्पतालको छ । नेपाली चिकित्सकले महिनामा एक जना बिरामीको कलेजो प्रत्यारोपण गर्ने योजना बनाएका छन् ।

कलेजो प्रत्यारोपण  त्रिवि शिक्षण अस्पताल

विशेष