किन घटदैनन् भ्रूणहत्या ?
रमिता यादव,
काठमाडौं । हाम्रो समाज एक्काइसौँ शताब्दीमा प्रवेश गरिसकेको छ । तर, अहिलेसम्म पनि मानिसहरूको सोचमा भने परिवर्तन आउन नसक्नु ठूलो विडम्बना हो । हरेक साल ठूला ठूला होटललगायत विभिन्न स्थानहरूमा मार्च महिनाभरी भव्यताका साथ महिला दिवस मनाउने कुरा त हामीलाई ज्ञात नै छ ।
हुन त महिला, बालबालिका तथा समाज कल्याणमन्त्रालयले पनि समाजमा जनचेतना जगाउन र समाजलाई शिक्षित बनाउनका लागि विभिन्न खाले जनचेतनामूलक कार्यक्रमहरू गर्ने गरेका छन् । तर, त्यस्ता बहस र कार्यक्रम काठमाडौंलगायत देशका विभिन्न जिल्लाको सदरमुकामसम्म मात्रै सीमित भएको छ ।
अहिले पनि तराई मधेसलगायत अन्य गाउँ गाउँसम्म त्यस्ता जनचेतनामूलमक कार्यक्रमहरू लैजाने तयारी गरिएपनि खाने मुखलाई जुँगाले छेक्दैन भने जस्तै को, कहाँ र कसबाट यस्ता कार्यक्रमहरू रोकिन्छन् कसैलाई सुइको पनि हुँदैन् ।
खास यस्ता जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँसम्म पुग्न पाएँ महोत्तरीको औरही गाउँपालिका, सिरहा जिल्लाको लहानस्थित बलान नदी, धनुषा जिल्लाको जनकपुर, भक्तपुर जिल्लाको जडीबुटीलगायत स्थानमा फालिएका नवजात शिशुको अवस्था नराम्रो पक्कै हुँदैनथ्यो ।
हुन त त्यसरी फालिएका नवजात शिशुहरूमा बढी छोरी बच्चा रहेको विभिन्न जिल्लाका, जिल्ला प्रशासन कार्यालयको भनाइ छ । तर, यो महोत्तरी, धनुषा, सिरहाको घटना मात्रै नभएर तराईलगायत अन्य पहाडी जिल्लाहरूमा पनि नवजात छोरी जन्मिना बित्तिकै नाली, नदी वा पोखरीमा फ्याँकिदिने, बालुवा मुनि गाडिदिने, बेबारिसे छोडदिनेलगायत खबर र घटनाहरू दिन दिनै पढ्न र सुनिन्छ ।
अर्को तितो सत्य, छोरीलाई नजन्मँदै कोखमै हत्या गरिन्छ । हाम्रो सामाजिक संरचना पितृसत्तात्मक भएको हुनाले छोरा पाउने इच्छाका कारण ती निर्दोष छोरीहरूको हत्या कोखमै गरिन्छ । जसलाई भ्रूण हत्या भनिन्छ ।
भ्रूण हत्याको संख्या बढदो
लिंग पहिचानगरी गर्भ पतन गर्नु असंवैधानिक भएपनि लिंग पहिचान गरी गर्भ पतन गराउने मानिसहरूको संख्या बढी नै रहेको महिला अधिकारकर्मी रीता शाहले बताइन् । अधिकारकर्मी शाहका अनुसार अहिलेको समयमा खास गरी मधेसका जिल्लाहरूमा भ्रूणहत्या एकदमै बढेको छ ।
केही दिन अगाडि आएको युएनको रिपोर्टमा १२ वटा जिल्लाहरूमा छोरीहरूको संख्या घटदै आएको देखाएको छ जसमा अधिकांश जिल्लाहरू मधेसका रहेका छन् । अहिलेको पछिल्लो समयमा छोरा छोरीहरूकोे संख्या घटाउन सञ्चालन गरिएको अभियानका कारण पनि भ्रूणहत्या बढेको पाइन्छ ।
उनले भनिन्, ‘अन्तरिम संविधान सन् २००० ले प्रजननसम्बन्धी दिएका केही अधिकारहरूमा सुरक्षित गर्भ पतनलाई मान्यता दिएको भएपनि यसको सदुपयोग हुनुको साटो दुरुपयोग हुन पुगेको मलाई लाग्छ । आजकाल त बढी शिक्षित र प्रविधिको ज्ञाताहरू नै यस्ता कामका संलग्न हुने गरेको पाइएको छ ।’
‘सबै कुरा थाहा नै हुन्छ बस डाक्टरहरूलाई भने अतिकति पैसा खुवायो पुग्यो । तराई मधेसका जिल्लाहरूमा रहेका हस्पिटल, क्लिनिकहरू त मानौँ भ्रूणहत्याको व्यापार केन्द्र नै बनेको जस्तो लाग्छ । महिलालाई जबसम्म वंश र अंशको अधिकार प्राप्त हुँदैन तबसम्म यस्ता निर्मम भ्रूण हत्याका घटनाहरूमा कमी आउँदैन’, उनले भनिन् ।
अन्तर्राष्ट्रिय स्तरमा भ्रूणहत्याको अवस्था
नेपाल, भारत, पाकिस्तान र बंगलादेशमा भ्रूणहत्या बढी हुने गरेको पाइन्छ । त्यसमा पनि भारतको बिहार, उत्तर प्रदेशलगायत स्थानहरूमा लिंग पहिचान गरी गर्भ पतन गराउने संख्या बढी नै छ ।
त्यसकारण भारतका कतिपय राज्यमा बिहे गर्नका लागि आफ्नो राज्यमा छोरी मान्छे नै नपाउने र अर्को राज्यबाट एकजना छोरी मान्छ बिहे गरी ल्याउने र बाँकी घरका अरू पुरुषले पनि ती नै केटीसँग विवाह गर्ने परम्परा रहेको छ ।
नकारात्मक र गलत मानसिकता हावी
शाहका अनुसार नेपाल अलि बढी नै मात्रामा लिंग पहिचान गरी भ्रूणहत्या हुने गरेको पाइन्छ । व्यस्तताको कारण आजभोलि मानिसहरू कम बच्चा जन्माउँछन् । एउटा मात्र छोरा होस् भन्ने चाहन्छन् ।
यस्ताे मानसिकताले भ्रूण हत्या झन् बढ्दो छ । त्यसले गर्दा पढेलेखेको, प्रविधिका जानकार व्यक्ति र पैसा भएको र पहुँच भएको व्यक्तिले लिंग पहिचान गरी भ्रूण हत्यामा शामिल हुने गरेको पाइन्छ ।
काठमाडौं र मधेसमा छोरा छोरीको अनुपात घटेको
२०६८ सालको जनगणनाका अनुसार खास गरेर काठमाडौं र मधेसका जिल्लाहरूमा छोरा छोरीको अनुपात भएको पाइन्छ । छोराछोरीकोे अनुपात कम भएको मतलब छोरी नपाउनु होइन कि छोरी पेट मै भ्रूणहत्या गर्ने । गर्भ मै तुहाउने र अर्को छोरी बच्चा पाएपछि फ्याल्ने गरेको पाइएको छ ।
उच्च र मध्यम जातमा बढी लिंग पहिचान गरी भ्रूणहत्या गर्ने बढी
तराई मधेसका उच्च जाति र मध्यम जातिमा पनि छोराछोरीको अनुपात घटेको पाइन्छ । तराई मधेसका जिल्लाहरूमा उच्च जात जस्तै राजपुत, कायस्थ, देव ब्राह्म्ण, तेली, सुरी, यादवलगायत जातमा छोराछोरीको अनुपात कम रहेको छ । काठमाडौंमा पनि छोराछोरीको अनुपात कम छ ।
छोराछोरीको अनुपात घटेको भन्दा पनि छोरी जन्माउन नचाहने । त्यसैगरी, जनजातिमा भने छोरीको संख्या नै बढी भेटिन्छ । पहाडतिर पनि छोरीको संख्या बढी रहेको छ । २०६८ सालको जनगणनामा पनि यो देशको कुल जनसंख्याको ५१ प्रतिशत महिलाको जनसंख्या रहेको छ ।
मधेस र मधेसी समुदायमा हेर्नुभयो भने महिलाको जनसंख्या कम रहेको छ । तुलनात्मक रूपमा मुस्लिम र दलितमा छोरीहरूको संख्या बढी नै हुन्छन् । किनभने उनीहरूमा जनचेतनाको कमी हुन्छ र बिहे छिटै हुन्छ, छिटै बच्चा जन्माउँछन् । परिवार नियोजनको बारेमा पनि त्यति जानकारी हुँदैन ।
छोराछोरीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि उस्तै
लिंग पहिचान गरी गर्भपतन गराउनलाई कम्तीमा पनि १० हजार जति रुपैयाँको खर्च हुने गर्दछ त्यसैले यसलाई यो भन्न सकिँदैन कि गरिबीको कारणले यसको संख्या बढ्दो छ र अर्को कुरा यो जनचेतनाको कमीले पनि होइन ।
यसको संख्या दिन प्रति दिन बढनुको कारण हाम्रो समाजमा रहेको लैंगिक विभेदका कारण दिन प्रति दिन बढदै गइरहेको हो । जबसम्म हाम्रो सोचमा परिवर्तन आउँदैन, तबसम्म हामीले छोरा र छोरी एउटै हो भन्ने कुरा लाई स्वीकार गर्दैनौँ तबसम्म यसमा कमी आउँदैन ।
किन छोरीलाई कोखमै मारिन्छ
तराई मधेसमा रहेका सामाजिक कुरितीका कारणले गर्दा पनि मानिसहरू छोरी जन्माउन चाहँदैन् । दाइजो प्रथाका कारण मानिसहरू छोरी जन्माउनबाट डराउँछन् जति छोरी जन्मियो त्यति ने पढाइ र अन्य कुराहरूमा खर्च हुन्छ भन्ने सोचका कारण छोरीलाई कोखमै मारिन्छ ।
राज्यपक्षबाट यसको अनुगमन
यदि राज्यले चाहयो भने जे कुरा पनि रोकिन सक्छ । राज्यले दिएको मान्यको उपयोग अथवा प्रयोग कस्तो भइरहेको छ । कहीँ कतै यसको दुरुपयोग त भएको छैन त्यसको अनुगमन राज्यबाटै हुनु पर्दछ । तीन चार तहका यसका लागि काम गर्नुपर्छ ।
अवैधानिक रूपमा कहाँ कहाँ गर्भपतन भइरहेको छ त्यस्ता क्लिनिक, हस्पिटलहरूको अनुगमन गर्नुपर्छ र यस कार्यमा संलग्न भएकालाई कडाभन्दा कडा कारबाही गनुपर्ने, छोराछोरीको बीचमा रहेको विभेदलाई अन्त्य गर्ने, छोरीका लागि विशेष कानुनको व्यवस्था हुनुपर्ने, दाइजोलाई जुन विकृतिको रूपमा समाजमा फैलाइएको छ ।
त्यसलाई जडैबाट हटाउनलाई सरकारबाट नै पहल हुनुपर्ने जस्ता कुराहरूले लिंग पहिचान गरी हुने गरेको भ्रूणहत्यालाई केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।
भ्रूणहत्या