स्कुलमै मदिरा सेवन गर्ने शिक्षकविरुद्ध उत्रँदा मलाई निकाला गरे
दुःखीहरूकै सेवाको योजनामा अहोरात्र घोत्लिरहने एक किशोर हुन् १८ वर्षे केपी । ‘कान्छो सामाजिक अभियन्ता’ चर्चित केपी खनालका आमाबाबु अहिले पनि भारतका गल्लीमा चौकीदारी गर्छन् ।
उनीआफू भने कहिले दाल चामल बोकेर हुम्लाका गाउँबस्ती पुगिरहन्छन् । कहिले ‘क्लिन काष्ठमण्डप’ अभियानको नेतृत्व गरेर काठमाडौंमा झाडु थमाउँदै फोहर सफा गर्न सडकमा उत्रन्छन् ।
अछामको रामारोशनमा जन्मिएका उनी कैलालीको लम्कीमा हुर्के–बढे । १२ कक्षासम्मको शिक्षा त्यहीँबाट पूरा गरे । अहिले गाउँलेको सहारामा नेपाल कमर्स क्याम्पस, बानेश्वरमा बिबिएस तहमा अध्ययरत छन् । सानैदेखि नै कुशल नेतृत्व सम्हाल्न माहिर केपी निकै भद्र व्यक्ति मानिन्छन् । उनको बाल्यकाल निकै सम्झन लायक छ ।
अछाममा जन्मे सानैमा बसाइँसराइ गरेर आमाबुबासँगै कैलाली झरे । कैलालीमा ७ कक्षासम्म पढ्दासम्म लुकेका केपी जब पहाडको पुख्र्यौली घर अछाम चढे तब नेतृत्व क्रान्ति र सामाजिक सेवामा तल्लीन हुन थाले । अछाममा केपीले पढ्दै गरेको विद्यालयमा एउटा गलत प्रवृत्ति थियो । जसका विरुद्ध केपीले धावा बोले ।
उनी पढ्ने स्कुलमा पढाउने शिक्षक मदिरा सेवन गरी होहल्ला गर्थे । तीनै खराब शिक्षकविरुद्ध केपीले कालो झण्डा देखाएर बस्न थाले । आफूविरुद्ध उत्रिन थाल्यो भन्दै केपीलाई कारबाहीस्वरूप विद्यालयबाट निकाला गरियो । त्यसपछि केपी फेरि तराई झरे । तराई झरेपछि केपीमा झन् ऊर्जा थपियो । पढाईलाई सुधार गर्दै लगे । रेडियोमा कार्यक्रम सञ्चालनदेखि विद्यालयमा जुनियर रेडक्रस सर्कलको नेतृत्व गर्दै केपी अगाडि बढ्न थाले ।
अहिले केपीलाई पढाईभन्दा सामाजिक सेवा प्यारो बनेको छ । केपी एक शब्द पटक–पटक दाहोर्याउँछन्, ‘बोलेरभन्दा गरेर देखाउनुहोस्’ सायद उनलाई नेपालीमा यो प्रवृत्ति हावी भएर होला भन्न मन लागेको । उनी भन्छन्, ‘नेपालमा बोल्नेलाई गर्न दिइँदैन, गर्नेलाई बोल्न दिइँदैन्’
उनलाई चाडपर्व, आफन्तभन्दा दिन दुखित पीडितको सेवा गर्न मन लाग्छ । आफू १० वर्षको हुँदादेखि मनमा सामाजिक सेवाको भावनाले जरा गाडेको उनी बताउँछन् ।
पछिल्लो समय उनी बाजुरामा अनाथ बालबालिकाका लागि आश्रयस्थल निर्माण गर्ने अभियानमा अहोरात्र खटिरहेका छन् । ‘म बदलिन्छु र मेरो देश बदलिन्छ’ भन्ने संकल्प बोकेर भर्खर जुँगाको रेखी बस्ने उमेरका केपी सबैका प्यारा बनिसकेका छन् ।
विकास सूचकांकमा सबैभन्दा कमजोर मानिएको प्रदेश ७ स्थित बाजुरामा अनाथ बालगृह निर्माण गर्ने महाअभियानमा जुटेका छन् । बूढीगंगा नगरपालिका–२ ब्रह्मतोला मलातीका शिक्षकबहादुर थापाले आमाबाबु गुमाएका ११ अनाथ बालबालिकालाई आफ्नै घरमै राखेर पठनपाठन गराउँदै आएको खबर सुनेपछि खनाल ती बालबालिकाका लागि आवास गृह निर्माण गर्न जुटेका हुन् ।
अहिलेसम्म केपीले सामाजिक सञ्जाललगायत देश तथा विदेशमा रहेका नेपालमा रहेका नेपालीहरूबाट रकम संकलन गरी करिब १७ लाख जम्मा भइसकेको बताउँछन् । निर्माणाधीन अनाथ बालगृहका लागि करिब ५० लाखबराबरको लागत अनुमान रहेको छ ।
निर्माणाधीन उक्त भवनमा केपीले ४० जना अनाथ मात्र नभई देशभरका पीडित, अपांग बालिकालाई बालमैत्री वातावरण बनाउने केपीको योजना छ ।
आफू यसरी सामाजिक सेवाप्रति उत्प्रेरित भइरहँदा नेपालीहरूमा भने पछिल्लो समय दया, माया र सामाजिक सेवाप्रतिको भावना नै हराउँदै गइरहेको उनी बताउँछन् । यसै विषयमा नेपालका कान्छा अभियन्ता केपी खनालसँग नेपाल आजका लागि प्रताप ओलीले गरेको कुराकानी अंशः
केपी खनाल क्लिन काष्ठमण्डप कान्छो सामाजिक अभियन्ता