मेक्सिकाेविरूद्ध ब्राजिलको पहिलाे अग्रता
काठमाडाैं । रसियामा जारी विश्वकप फुटबल २०१८ को प्रि–क्वाटर फाइनलमा सर्वाधिक विश्वविजेता ब्राजिलले मेक्सिकोसँग १–० काे अग्रता लिन सफल भएकाे छ ।
सामारा एरिनामा जारी खेलमा नेइमारले ५१ अाैँ मिनेटमा गाेल गर्दै १–० काे अग्रता दिलाएका हुन् ।
पाँच पटकको विश्वविजेता ब्राजिल उपाधिको सबैभन्दा उच्च दावेदार हाे । सन् २०१४ मा जर्मनीसँग ७–१ को दर्दनाक हार व्यहाेरेकाे ब्राजिल चार वर्षपछि साविककाे विश्वविजेतालाई घर पठाएर समूह चरण पार गरेको मेक्सिकोसँग भिड्दैँछ ।
मेक्सिकोले पछिल्लो ६ विश्वकपमा चार खेलमात्र खेल्न पाएको छ । हरेक विश्वकपमा चौथो खेलमा पराजित हुनु उसका लागि अभिसापजस्तै बनेको छ । गएको संस्करणमा पनि अतिरिक्त समयमा उसले नेदरल्याण्ड्ससँग २–१ गोलको पराजय व्यहोरेको थियो ।
ब्राजिल भने पछिल्लो ६ वटा विश्वकपमा कम्तीमा अन्तिम आठसम्म पुगेको छ । तीमध्ये तीनवटाको फाइलन खेलेको छ भने २ पटक च्याम्पियन बनेको छ ।
स्वीडेनविरुद्ध समूहको अन्तिम खेलमा ३–० गोलले पराजित भए पछि मेक्सिको समूह एफको उपविजेतामा सीमित भएको थियो । उसका सेन्टर ब्याक हेक्टर मोरेलो दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा छन् ।
यता समूह इ को विजेता ब्राजिलले बिस्तारै खेल सुधार गरिरहेको छ। विश्वकपको सुरुवातको १ सय ८० मिनेटमा तनावमा बिताएको ब्राजिलले त्यसपछि भने ४ गोल गर्न सफल भयो ।
म्याच फ्याक्ट्स
-ब्राजिल र मेक्सिको अहिलेसम्म ४० पटक आमने सामने भइसकेका छन् । जसमा २३ खेलमा ब्राजिल विजयी भएको छ भने १० खेल मेक्सिकोले जितेको छ । ७ खेल बराबरीमा सकिएका थिए ।
-मेक्सिकोले विश्वकपमा ब्राजिलबिरुद्ध खेलेका पछिल्ला चार खेल जित्न सकेको छैन । १ बराबरी र ३ खेलमा पराजित भएको छ । साथै यी चार खेलमा उसले ११ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन ।
-ब्राजिल पछिल्लो पटक सन् १९९० को विश्वकपमा क्वार्टरफाइनलमा पुग्न असफल भएको थियो ।
ब्राजिल मेक्सिको